काठमाडौँ । चिठी साहित्यमाथि केन्द्रित हुँदै तयार पारिएको कृति आमालाई चिठीको परिचर्चा कार्यक्रम फागुन १९ गते सम्पन्न भएको छ । साहित्यकार केशव नेपालको सो कृतिमाथिको परिचर्चा कार्यक्रम, नयाँ बजारस्थित ज्ञानशाला अनुसन्धान कार्यक्रमले आयोजना गरेको थियो ।
क्रान्तिप्रतिको निष्ठा र आशावादले भरिपूर्ण कृति, आमालाई चिठी लेखक नेपालको २२औँ कृति हो । क्रान्तिकारी सोच, विचार र भावना भएकी पात्र मुनाको चुनौतीपूर्ण यात्रालाई केन्द्रमा राखेर कृतिलाई कलात्मक रूप दिने प्रयास गरिएको, परिचर्चा कार्यक्रममा लेखक नेपालले बताउनु भएको थियो ।
पद, प्रतिष्ठा र पैसाको लालच देखाएर कृतिको प्रमुख पात्र मुनालाई आत्मसमर्पण गर्न खोजिन्छ तर उनी आफ्नो क्रान्तिकारी आदर्शका साथ निरन्तर रूपमा लडिरहन्छिन् । परिचर्चा कार्यक्रममा टिप्पणीकारहरूको प्रश्न थियो, ती मुनाहरू आज कता हराए ? क्रान्तिकारी उत्साहका साथ थुप्रै मुनाहरूको बलिदानी दिए । तर त्यस प्रकारका युद्ध तथा आन्दोलनको जगमा किन आर्थिक तथा सांस्कृतिक रूपमा विचलनको स्थिति उत्पन्न भयो ? व्यक्तिगत हित र स्वार्थको लागि जस्तोसुकै अनुचित र घृणित कुकर्ममा किन संलग्न भइदैछ ? बुर्जुवा वर्गको संस्कार, संस्कृति, आचरण, जीवनशैली तर्फ किन लिप्त भइदैछ ? परिचर्चा कार्यक्रममा यस प्रकारका प्रश्नहरू तेर्सिएका थिए ।
साहित्यकार नेपालको कृतिमा मुनाले आफ्नो आमालाई सम्बोधन गर्दै लेखेकी छन्, ‘मेरो बच्चालाई पनि महान् विजयोत्सवमा लिएर जानुहोला । त्यो नयाँ दिन ल्याउन लाखौँलाख जनतासँगै मुना र अनुपमको त्याग, तपस्या र बलिदान गरेको कुरा मेरो बच्चालाई सुनाइदिनु होला ।’ तर आज ती बच्चाहरू विजयोत्सवमा होइन खाडीतर्फ पो लागिरहेका छन् । मुना र अनुपमको त्याग र बलिदानीको परिणाम यही हो ? मुना र अनुपमको बलिदानीको जगमा मुट्ठीभर केही नेताहरूले त सत्ताको स्वाद चाखे होलान् । तर श्रमजीवी जनताले के पाए ? उपभोक्तावादी र बिचौलिया संस्कृतिले भरिपूर्ण समाज, मुना र अनुपमले सोचेको भविष्य यही हो ? कार्यक्रममा टिप्पणीकारहरूले यस्तै धारण प्रस्तुत गरे ।

परिचर्चा कार्यक्रमको प्रमुख अतिथि, नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा परिषद् सदस्य डा.कौशिला रिसालले माओवादी जनयुद्धमा जेल ब्रेक तथा सैन्य कारबाहीमा महिलाहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । त्यसका साथै समावेशी, समानुपातिक प्रतिनिधित्व तथा गणतन्त्र स्थापनामा महिलाहरूको भूमिकालाई अवमूल्यन गर्न नहुने वहाँको तर्क थियो । महिलाहरूको त्यस प्रकारको ऐतिहासिक भूमिकालाई उजागर गर्न पनि आमालाई चिठी नामक कृतिको महत्त्वपूर्ण भूमिका रहेको वहाँको तर्क थियो ।
परिचर्चा कार्यक्रममा रामबहादुर बुढा, समीर सिंह, सुवास देवकोटा, कृष्ण ढुङ्गाना, बिराज ढुङ्गानाले टिप्पणी गर्नुभएको थियो । पुराना वामपन्थी नेता भक्ति लामिछानेको अध्यक्षतामा भएको परिचर्चा कार्यक्रमको सहजीकरण डा.चूडा ढकालले गर्नुभएको थियो ।