समालोचना
प्रा.डा. कपिल लामिछाने
मन्त्री र मास्क (२०८०) डा. पुष्करराज भट्ट (२०३२ असार ४) को एक विषयक लघुकथा सङ्ग्रह हो । यसअघि उनका कर्मयोद्धा (२०५९), मुक्तिदूत (२०६२) र एक थोपा सागरको (२०६४) जस्ता एकल लघुकथा सङ्ग्रह प्रकाशित भइसकेका छन् । यस बिचमा उनले लघुकथामा दर्शनाचार्य र विद्यावारिधि गरे, अनेक लघुकथा कृतिको सम्पादन र अनुवाद गरे । लघुकथा पुरस्कारको स्थापना पनि गरे । लघुकथाको उन्नतिका लागि २०७४ सालदेखि आधुनिक नेपाली लघुकथा नामक सामाजिक सञ्जाल तथा २०८० बाट विश्व नेपाली लघुकथा नामक ब्लगको परिचालन गरे । उनको पहिलो प्रकाशित लघुकथा ‘कमैया मुक्ति’ (२०५७, सुरभि, अङ्क ६) हो । २०५७ देखि औपचारिक रूपमा लघुकथामा प्रवेश गरेका भट्टले नेपाली लघुकथाको इतिहासमा उल्लेखनीय योगदान गरेका छन् । दयाराम श्रेष्ठले भट्टलाई आधुनिक नेपाली कथा परम्पराको परावर्तन युग (२०४०–२०६३) का कथाकारका रूपमा चिनाउँदै नेपाली लघुकथाका तपसी भनेका छन् (२०७८,पृ. ४७०)। तिनै तपसी भट्टको लघुकथा सङ्ग्रह हो, मन्त्री र मास्क । यसमा ५६ लघुकथा सँगालिएका छन् । यी लघुकथाको परिवेश कोरोनाकालीन नेपाली समाज हो । यिनले कोरोना कालमा भए गरेका असावधानी र लापरबाही तथा तत्जन्य दुष्परिणतिलाई अभिव्यक्त गरेका छन् ।
कोरोना भाइरस (कोभिड–१९) एक सङ्क्रामक भाइरस हो । सन् २०१९ डिसेम्बर ३१ मा चीनको बुहान सहरमा यो पहिलो पटक देखा परेको हो । छिट्टै नै यसले विश्वभर महामारीका रूपमा आफ्नो सन्त्रास फैलायो । चीनको बुहान युनिभर्सिटीमा अध्ययन गरेर नेपाल फर्केका बत्तिस वर्षीय पुरुषमा २०७६ माघ १० मा पहिलोपल्ट नेपालमा कोरोना पुष्टि भएको थियो । २०७६ चैत्र ६ गतेदेखि २०७६ चैत्र मसान्तसम्म या अर्को सूचना नभएसम्मका लागि कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सबै स्कुल र क्याम्पस बन्द गरिए । २०७६ चैत्र ११ बाट नेपालभरि लकडाउन सुरु भयो । सुरुमा एक हप्ताका लागि भनिए पनि म्याद थपिँदै गयो । २०७६ चैत्र २२ मा स्थानीयवासी कैलालीकी ३४ वर्षीय नेपाली महिलामा कोरोना भाइरस पुष्टि भयो । त्यसपछि झन् यो सबैतिर फैलियो । यसअघि विदेशबाट आएका ६ जनामा सङ्क्रमण देखा परिसकेको थियो । सन् २०१९ मार्च १७ मा फ्रान्सदेखि कतार हुँदै नेपाल आएकी एक १९ वर्षीय नेपाली युवतीमा २३ मार्चमा सङ्क्रमण पुष्टि भएको थियो । सिन्धुपाल्चोककी एक २९ वर्षीय सुत्केरी महिला २०७७ वैशाख २५ गते डिस्चार्ज भएर घर गएको दस दिनपछि (जेठ ३ गते) कोरोनाबाट पहिलो नेपालीको निधन भयो । नेपालमा पन यो व्यापक रूपमा फैलिँदै गयो । सबैतिर हाहाकार मच्चियो । नेपाल सरकारले पहिले लकडाउन र पछि स्मार्ट लकडाउन ग¥यो । आवतजावत, सभा, सम्मेलन, गोष्ठी, सेमिनार, सामाजिक सम्पर्क, भेटघाट बन्द भए । चारैतिर डर, त्रास र सन्त्रास फैलियो । लकडाउन, भ्याक्सिन र जनचेतनाका कारण यसमाथि क्रमशः नियन्त्रण सम्भव भयो । फलस्वरूप २०७७ साउन १५ देखि क्रमशः लकडाउन हटाउन थालियो । २०७७ मङ्सिर ३ देखि स्कुल र क्याम्पस खुले । लकडाउन हटे पनि यसले देशको विकास, सामाजिक सम्बन्ध र आर्थिक अवस्थामा ठुलो क्षति पुराइ छाड्यो ।
मन्त्री र मास्क यही स्वास्थ्य सङ्कट, महामारी र सन्त्रासलाई झल्काउने लघुकथाको सँगालो हो । यस सङ्ग्रहका सबै लघुकथा कोरोनासित सम्बन्धित देखिन्छन् । त्यसैले यो एक विषयक लघुकथा सङ्ग्रह हो । नेपालीमा यसअघि मृत्यु, आमा, बालक, बा आदि एउटै विषयमा केन्द्रित सङ्ग्रह प्रकाशित भएका छन् । यो सङ्ग्रह यसै क्रमको एक कडी हो ।
यस सङ्ग्रहका लघुकथामध्ये ‘मन्त्री र मास्क’, ‘भ्रमण’, ‘तिजको रहर’, ‘खै कोरोना ?’ जस्ता लघुकथामा कोरोना महामारीको सङ्क्रमणप्रति बेवास्ता गर्दा भएका दुष्परिणाम देखाइएको छ । ‘मन्त्री र मास्क’मा मुखावरण (मास्क) नलगाई भाषण गरेर हिँड्ने मन्त्री एकान्त वास (आइसोलेसन) मा पुगेको देखाउँदै यस्तो महामारीका अवसरमा स्वास्थ्य प्रोटोकलको परिपालनामा जोड दिइएको छ । ‘तिजको रहर’मा कोरोना कालमा रहरले तिजमा जथाभाबी सहभागी हुँदा सङ्क्रमण बढेको देखाइएको छ । ‘खै कोरोना ?’मा महामारीलाई वाहियात तथा विदेशी षड्यन्त्र भन्दै बेवास्ता गरी जथाभाबी हिँडडुल तथा खानपान गर्ने युवकको निधन भएको र घरका दुई जना सघन उपचार कक्ष (आइसियु) मा रहेको देखाइएको छ । यहाँ कोरोना भाइरस सङ्क्रामक भएकाले यस्तो महामारीका अवसरमा सामाजिक सम्पर्कबाट बच्नुपर्ने कुरा सरकार, स्वास्थ्यकर्मी र सञ्चार माध्यमबाट प्रचारप्रसार भएको कुरालाई बेवास्ता गर्दा ज्यान गएको देखाइएको छ ।
केहीले कोरोनाप्रति लापरबाही गरेर त्यसको दुष्परिणाम भोगे भने धेरैले यसप्रति सचेत भई प्रोटोकल पालना गरेर आफ्नो र आफ्नाको ज्यान जोगाए । ‘घर फर्केका पाइला’मा सुख खोज्दै विदेश गएकाहरू गाउँघर (स्वदेश) फर्केका र साथीभाइलाई भेटघाट गर्न नगई चेकजाँच गर्न जानुपर्ने भनी सचेत गराइएको छ । ‘गो कोरोना’मा भिडभाडमा नजाने, मास्क लगाउने, समय समयमा हात धोइरहने, सेनेटाइजर लगाइरहने, बेसार पानी खाने र सबै मिलेर कोरोनालाई भगाउने सन्देश दिइएको छ ।
‘बहिष्करण’मा कोरोनाबाट बच्नका लागि सामाजिक सम्पर्कलार्ई बहिष्कार गर्नुपर्ने देखाइएको छ । ‘दसैँ’मा कोरोना कालमा कोरोनाबाट बच्ने गरी मास्क लगाई टिका र आशीर्वाद टाढैबाट लिई सावधानीपूर्वक चाडबाड मनाउनुपर्ने सहमति भएको देखाइएको छ । ‘हिसाब–किताब’मा जिन्दगीको हिसाब–किताब सही राख्न पनि कोरोनाबाट जोगिनुपर्ने सन्देश दिइएको छ । ‘सचेतना’मा अग्रजका कुरा नसुनी जथाभाबी बाहिर घुमफिर र खानपान गर्दा कोरोना पोजेटिभ देखिएकाले व्यवहारतः सामाजिक सम्पर्कबाट टाढा रहनुपर्ने सन्देश दिइएको छ ।
कोरोनाले मानिसको दैनिकीमा परिवर्तन ल्याइदिएको थियो । ‘फेरिएको दैनिकी’ लघुकथाले यही देखाएको छ । यहाँ परिवारका सबै सदस्य घरमै रहेको, ढिलो उठ्ने गरेको, मोबाइल समातेर बस्ने गरेको, आम्दानीका स्रोत घटेको तथा यस्तो अवस्थामा परिवारजन कोरोनाकालीन योजना बनाउन लागेको देखाइएको छ ।
कोरोना कालमा कोरोना महामारीले गर्दा दैनिक मजदुरी, देहाडी, ज्यालादारी मजदुर, श्रमिक र घर भाडामा बस्नेहरूको आर्थिक अवस्था नाजुक रहेको थियो । भोकमरीको समस्या निम्तिएको थियो । कोरोनाले ठुला व्यापारी, उद्योगी र सरकारलाई दीर्घकालीन प्रभाव पा¥यो भने श्रमजीवी मजदुरलाई तत्कालै हातमुख जोर्ने समस्याले छोपेको थियो । यो कोरोनाकालीन यथार्थ हो । यस यथार्थलाई भट्टका लघुकथामा प्रस्ट्याइएको छ । ‘लाहु¥या आइगया’, ‘अमर पात्र’, ‘कोरोना संवाद’, ‘सापटी’, ‘बेवारिस’ आदि यस्तै लघुकथा हुन् ।
‘लाहु¥या आइगया’मा मजदुरीका लागि भारत गएको नेपाली त्यहाँबाट विस्थापित भएर नेपाल (गाउँ) फर्केको छ भने गाउँलेहरू, आफन्तहरू उसबाट टाढा टाढा भएको र आफू, आफ्नो परिवारलाई बचाउन र ढुक्क हुन स्वास्थ्य चेकजाँच गर्नुपर्ने सन्देश दिएको छ । ‘अमर पात्र’मा लकडाउनका बेलामा भारी बोकेर पनि खान नपाएपछि एक श्रमिकले मागेर ज्यान जोगाउन खोजेको, भोकले गर्दा मरेपछि उसको फोटो सामाजिक सञ्जालमा राखेर भाइरल भएको देखाएर मानवीय संवेदनामा आएको ह्रास देखाइएको छ ।
‘कोरोना संवाद’मा भारतका विभिन्न स्थानमा गएर श्रम गर्ने श्रमिकका माध्यमबाट गरिबका अन्तर पीडा अभिव्यक्त गरिएको छ । उनीहरू उताबाट लखेटिएका र यताकाले घर जान नदिँदा तथा सीमामै चेकजाँच गर्ने व्यवस्था नहुँदा थप पीडा भएको देखाइएको छ । ‘बेवारिस’मा घर मालिकले निकालेपछि चौतारामा बास भएको डेरावाललाई क्यामरा लिएर आएका अर्थात् पत्रकारले अनेक प्रश्न गरेर उसलाई बेवारिस छोडेर गएको देखाइएको छ । अन्तर्वार्ताका माध्यमबाट यहाँ विस्थापितहरूको दयनीय अवस्थाको चित्र खिचिएको छ ।
‘मृत संवेदना’मा शून्य मानवीय संवेदनालाई देखाइएको छ । रहरले विदेशमा गएका नेपालीहरू कोरोना कहरका कारण बाध्यतावश नेपाल फर्केको, यातायात नचल्दा भोकै लगातार हिँडेकाले उसको मृत्यु भएको, मेडिकल जाँच हुँदा कोरोनाले नभई लगातारको हिँडाइले गर्दा मृत्यु भएको रिपोर्ट आएपछि कोरोना नभएकोमा मानिसहरू खुसी भएको देखाइएको छ । कोरोना आतङ्कले गर्दा यहाँ मानिस मृत्युमा संवेदनशील नभएको पाइन्छ ।
कोरोना सङ्क्रमणले गर्दा सामाजिक दुरी कायम गर्नुपर्ने हुँदा आफ्नै छोराबुहारी, बाबुआमा आदिका बिचमा पनि दुरी बढेको, आफन्त पनि सङ्क्रमणका भयले टाढिएको पाइन्छ । यस्तो सामाजिक यथार्थलाई ‘आमालार्ई कोरोना’, ‘आत्मीय जन’ आदि लघुकथामा प्रकट गरिएको छ । ‘आमालाई कोरोना’मा आमालार्ई सङ्क्रमण पुष्टि भई अस्पतालको उपचारबाट निको भएर घरमा फर्केपछि पनि छोराबुहारीले दुरदुर गरेबाट आमा दुखी र बुबा मौन भएको देखाइएको छ । कोरोनाले मान्छेलाई स्वार्थी बनाइदिएको छ । ‘आत्मीय जन’मा कोरोनाबाट आमाको मृत्यु हुँदा छोराछोरीले छुनसम्म नपाएको, वरिपरि घरपरिवारका पाँच जना मात्र उपस्थित भएको, आफन्तहरू कोही पनि नआएको देखाएर कोरोना कालको सामाजिक सम्बन्धलाई प्रस्ट्याइएको छ ।
सङ्क्रमण कसैलाई पनि हुनसक्छ । कोरोनाको त्रासद अवस्थामा पनि स्वास्थ्यकर्मी दृढतापूर्वक सङ्क्रमितको उपचारमा खटिएका थिए । ‘जीवनसँग साक्षात्कार’मा अस्पतालमा काम गर्दागर्दै बिरामी भएको र सन्चो भएर फेरि जीवन बचाउने काममा खटेको देखाएको छ । ‘हाम्रो मान्छे’मा चिकित्सक र नर्सजस्ता स्वास्थ्यकर्मीलार्ई कुटपिट र अस्पतालमा तोडफोड भएको र यस्ता कार्यमा संलग्न भएकालाई राजनीतिका आडमा थुनाबाट छुटाउने प्रयास भएको, भनेको नमान्ने प्रहरीलार्ई सत्ताका आडमा सरुवा गरेको देखाइएको छ । ‘कोरोनापीडितको घर’मा आफन्तका लागि नभएर अरूलाई बचाउनका लागि बाँचिरहेका, खटिरहेका चिकित्सकलाई कोरोना भएर होम क्वारेनटाइनमा बसेको अवस्थामा एक हुल मानिसहरू आएर उनको गेटमा कोरोनापीडितको घर लेखिएको बोर्ड टाँसेको देखाइएको छ । यसले कोरोना कालको समाजको कृतघ्न चरित्रलाई उजागर गरेको छ ।
कोरोनाबाट पीडितका लागि विभिन्न सरकारी र गैरसरकारी स्तरबाट राहत वितरण पनि गरिएको थियो । राहतले कतिलाई राहतै दियो होला, तर राहतका नाममा आडम्बर मात्र भएको, राहतमा भ्रष्टाचार र राजनीति भएको, राहत सामग्री हिनामिना भएको, राहत सामग्री आफन्तलाई मात्र वितरण गरिएको जस्ता खबर सुनिएका हुन् । ‘कुहिएको चामल’, ‘बचत’, ‘आफ्नो मान्छे’, ‘राहत वितरण’, ‘सेल्फीवाला राहत’ आदि लघुकथामा कोरोनाकालीन यस्तो यथार्थको पोल खोलिएको छ । ‘बचत’मा कोरोनाको बेलामा विदेश जान नपाएपछि त्यति नै खर्च लाग्ने गरी एक उच्च अधिकारीका लागि पाँच तारे होटेलमा मोजमस्तीको व्यवस्था मिलाएको देखाइएको छ । ‘कुहिएको चामल’मा राहतका नाममा मेयर, कार्यकारी प्रमुख, वडाध्यक्ष, ठेकेदार मिलेर कुहिएको चामल वितरण गरेको अनि यसको समाचार प्रकाशमा आएपछि एकले अर्कालाई दोषारोपण गरेको देखाइएको छ ।
‘राहत वितरण’मा डेरावाललाई राहत नदिई केही स्थानीय बासिन्दालाई राहत वितरण गरिएको देखाइएको छ । ‘आफ्नो मान्छे’मा राहत सामग्री आधा आफैँले लुकाएको, आधा आफन्तलाई बाँड्न सूची बनाएको र त्यस्तैमा चाल पाएर सर्वसाधारण जम्मा भएर वितरण गर्न लागेको सामग्री नियन्त्रणमा लिएको देखाइएको छ । ‘सेल्फीवाला राहत’मा कोरोना कालमा समाजसेवा गर्ने रहरमा केही मानिसलार्ई बोलाई सामान दिएको फोटो खिचाई फेसबुकमा राखेर भाइरल भएको देखाइएको छ । यो राहतका नाममा भएको एक अर्को ढोँग वा आडम्बर हो । यस्तै ‘खोप केन्द्रमा मतदाता’ लघुकथामा खोप केन्द्रमा आफ्नो पक्षका मतदातालाई छानी छानी खोप दिई खोपमा राजनीति गरेको देखाइएको छ ।
कोरोना कालमा सङ्क्रमितलाई सामाजिक सम्पर्कदेखि पृथक् क्वारेनटाइनमा बसाउने गरिन्छ । ‘अस्मिता’मा त्यहीँ पनि एक्लै पारेर नारीको अस्मिता लुट्ने जस्तो घृणित कार्य भएको कुरा देखाइएको छ । ‘मनस्थिति’मा सुकिला मुकिला वर्गको बिचल्ली देखाइएको छ । नोकरचाकर राखी घरायसी सबै काम गराई सुख सयलमा बसेका उच्च वर्गका मानिसहरू कोरोनाका कारण नोकर घर गएपछि सबै काम अवरुद्ध भएको देखाइएको छ ।
कोरोनाले मानिसको आत्मविश्वासमा कमी ल्याएको छ । कोरोनाको सन्त्रासले गर्दा मान्छे आतङ्कित बनेको छ । ‘बिमार’मा कोरोना सन्त्रासले गर्दा मानिस मानसिक रूपमा कमजोर र रुग्ण बनेको देखाइएको छ । ‘डर’मा कोरोनाको डरले साग, फलफूल र तरकारीको किनबेच र उत्पादनसँग समेत असर परेको देखाइएको छ । साग खाँदा, किन्दा र खाँदैमा रोग सर्ने होइन भन्ने ज्ञान नहुँदासम्म मानिसहरू सागदेखि पनि टाढै रहन्थे । ज्ञान भएपछि भने यस्तो सन्त्रास हटेको थियो ।
कोरोनाले सबैतिर बिगार मात्र गरेको छैन । कतैकतै यसले देशको माटो भुलेर विदेश पुगेकालाई स्वदेशको आँगनीमा ल्याइदिएको छ । परावलम्बी भएकालाई देशमै आफूले केही गर्नुपर्छ भन्ने भाव जगाइदिएको छ । विपत्तिमा एकजुट हुन र एक अर्कालाई सहयोग गर्न पनि सिकाएको छ । ‘आफ्नै माटो प्यारो’मा बिदेसिएको छोरो आफ्नो माटो प्यारो भन्दै घर फर्केको छ । ‘कृतज्ञता’मा बाटो खर्च नभएर घर जान नपाएको मिस्त्रीलाई घर खर्च दिएर पठाइएको छ । ‘आँसुको अर्थ’मा किताब छाप्न राखिएको रकम घर खर्चमा लगाएकोमा छोराले सामान्य अवस्था भएपछि पुस्तक छाप्ने प्रतिबद्धता जनाएको छ । ‘नयाँ प्रकाशन’मा कोरोना कालमा थुनिएर बसेका पुस्तकले खुला आकाश खोजेको पाइन्छ । ‘पुँजी’मा कोरोनाको विपत्तिमा सहयोग पाउनुलार्ई ठुलो पुँजी मानिएको छ । ‘पुछिएको आँसु’मा कोरोनाले गर्दा पारिवारिक बिचल्ली भएको अवस्थामा आमालाई छोराले आश्वस्त पारेको छ । ‘आत्मविश्वास’मा विपत्तिमा आशा, भरोसा र आत्मविश्वास जगाउँदै विपत्तिबाट जोगिनुपर्ने देखाइएको छ । ‘सापटी’मा घर भाडा उठाएर काम चलाउने घरवालाको सबै कोठा खाली भई आम्दानीको सबै स्रोत गुमेर बेहाल भएकोले उसलाई दस हजार सापटी दिएको देखाइएको छ । ‘मानवताको भूगोल’मा एक दुर्गम गाउँबाट पढ्न काठमाडौँ राजधानी बसेको विद्यार्थीले बेखर्ची शिक्षकलाई सहयोग गरेको छ । ‘फिर्ती सवारी’मा कोरिया जान भाषा परीक्षाका लागि काठमाडौँमा रही तयारी गर्दागर्दै कोरोना महामारी सुरु भएपछि घर फर्किएर अब कतै नजाने अठोट गर्न पुगेको देखाइएको छ । ‘तिहारको रौनक’मा चारैतिर कोरोना महामारीले हाहाकार मच्चाएको अवस्थामा बत्ती बालेर, पटाका पट्काएर धूमधामसँग तिहार पर्व मनाउन नहुने सन्देश दिएको छ ।
कोरोनाले साना, ठुला, धनी गरिब, मजदुर, ठेलावाला, घरवाला, विद्यार्थी, शिक्षक, कर्मचारी, चिकित्सक, स्वतथ्यकर्मी, सुरक्षाकर्मी, व्यापारी र किसानलाई पनि आतङ्कित गर्न बाँकी राखेन । यस्तो समाचार सङ्कलन, सम्पादन र प्रकाशन गर्ने पत्रकार स्वयं पनि कतै आफैँ पनि कोरोना सङ्क्रमित भएको समाचार बनिने हो कि भनेर आतङ्कित भएको देखिन्छ । ‘समाचार’ शीर्षकको लघुकथाको सार यही रहेको छ ।
लकडाउनको केही समय यस्तो थियो कि जोकोहीलार्ई हिँडडुल गर्न पनि निषेध गरिएको थियो । स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र पत्रकारबाहेक अरूले जहाँतहीँ जान पाइन्नथ्यो । पत्रकारको परिचय पत्र देखाएर त्यस्तो निषेधको अवस्थामा पनि जथाभाबी हिँड्ने काम भए । ‘पत्रकारको खेती’मा पत्रकारको परिचय पत्र देखाएर जथाभाबी हिँड्नेहरूको पोल खोलिएको छ । ट्राफिक प्रहरीका माध्यमबाट यहाँ पत्रकारको परिचय पत्रको दुरुपयोग भएको देखाइएको छ ।
‘सोचाइका आयाम’मा जिल्लाको दुर्गम क्षेत्रमा रहेर जनताको सेवा गरिरहेका चिकित्सक स्वयं कोरोना सङ्क्रमित भएकोले आफ्नो सम्पर्कमा भएका जतिलाई स्वास्थ्य परीक्षण गर्न भनेकोमा केही मानिसले रोग निको पार्न नभई रोग सार्न आएको भनी गलत प्रचार गरेको देखाइएको छ । यसले मानवीय कृतघ्न चरित्र देखाएको छ ।
‘रोग या भोक ?’मा कोरोना महामारी भए तापनि बाँच्नका लागि खानै पर्ने भएकाले रोगभन्दा ठुलो भोक रहेको देखाइएको छ । खास गरी श्रमिक, मजदुरका लागि रोगभन्दा खतरनाक भोक हुन्छ । त्यसैले यहाँ महामारीका अवसरमा पनि श्रमिकहरूले लगातार काम गरेको देखाइएको छ ।
दुखमा जसले साथ दिन्छ, त्यही आफ्नो हो । ‘आफ्नो–बिरानो’मा मधेसमा आफ्ना मानिस छन् भनेर छोरी भेट्न गएकी वृद्धालाई रोग सर्छ भनेर चिनेका कसैले पनि वास र साथ नदिएकोमा एक अपरिचित महिलाले साथ दिएको देखाइएको छ । ‘आफ्ना मान्छेको खोजी’मा छोरी भेट्न भनी चैतालो (कोसेली) लिएर मधेस पुगेकी वृद्धालार्ई सम्धी र त्यहाँ भएका अरू मानिसले बस्न नदिएको, छोरीले विवश भएर टुलुटुलु हेरिरहेको तथा अन्यत्र गएर वास बसेको देखाइएको छ । यहाँ कोरोना महामारीले गर्दा नाता–कुटुम्बबिचको सम्बन्ध पनि चिसिएको यथार्थलाई उजागर गरिएको छ ।
कोरोना कालमा राहत आदि वितरणका क्रममा राहतको वितरण गरिएको ठाउँमा पुगेर आफूले श्रेय वा जस लिने अनुचित प्रयास पनि भए । ‘श्रेय’मा त्यही देखाइएको छ । स्थानीय क्लबले घरघरबाट सामग्री जुटाएर राहत वितरण गरेको तर नेताका समर्थकले नेताले हात जोडेको फोटो फेसबुकमा राख्दै नेताको बखान गरेको देखाइएको छ ।
‘महान् दाता’मा लहडमा आएर आफू पनि केही राहत दिन सक्ने भनी फेसबुकमा प्रचार गरेको र आकाङ्क्षीको फोन आउन थालेपछि आफैँ सङ्कटमा परेको अभिव्यक्ति दिएको देखाइएको छ । यहाँ लहडमा दाता बन्न खोज्नेलाई व्यङ्ग्य गरिएको छ ।
कोरोना कालमा बिमारी भए अस्पताल पाउन कठिन थियो । कैयौँ निजी अस्पताल त बन्द नै थिए । खुलेकाले पनि महँगो खर्च लिन्थे । ‘सामाजिक दायित्व’ लघुकथाले यही व्यथा बताएको छ । यहाँ अस्पतालहरू सामाजिक दायित्व भुलेर व्यापारिक भएको प्रस्टाइएको छ । ‘अँध्यारो समय’मा अचानक बिरामी परेर बिरामीलार्ई अस्पताल लगे पनि यो अस्पताल, त्यो अस्पताल गर्दा, घुमाउँदा रातको १ बजे अन्तिम अस्पताल पुर्याउँदा बिरामीको ज्यान गएको देखाइएको छ । यो त्यस बेलाका अस्पतालहरूको यथार्थ हो ।
‘बन्धन’ शीर्षकको लघुकथामा दिनभर घरमै बन्दी बनेका युवाहरूले पछि स्वयं यस बन्धनले गर्दा कोरोना सङ्क्रमित हुनबाट मुक्ति पाएको बोध गरेको देखाइएको छ । हरेक बिग्रेको घडीले पनि चौबिस घण्टामा एक पटक सही समय दिन्छ रे । त्यस्तै कोरोना कालमा मानिसले अनेक यातना भोगे पनि यसले केही अनुशासन र संयमको शिक्षा भने दिएको छ ।
कोरोना विषयकेन्द्री यस लघुकथामा कोरोना महामारी, यसको सङ्क्रमण, जनमानसमा छाएको सन्त्रास, सन्त्रासजन्य मानसिकता, मान्छेको सङ्क्रमणकालीन चरित्र, विपद् व्यवस्थापन, विपद्मा हुने सहयोग–असहयोग, विपद्मा स्मरण गरिने घरपरिवार, माटो वा देश, साथीभाइ र आफन्त आदिलाई विषय बनाइएको छ । कोरोनाबाट सर्वसाधारण, किसान, मजदुर, शिक्षक, विद्यार्थी, पत्रकार, कलाकार, साहित्यकार, डेरावाल, घरधनी, महिला, पुरुष, बालक आदि कोही पनि अछुतो नभएको पाइन्छ । कोरोना भने पनि यसभित्र विषयको व्यापकता पाइन्छ ।
मन्त्री र मास्क शीर्षकको यस लघुकथा सङ्ग्रहको विषय कोरोना भए जस्तै यसको परिवेश पनि कोरोना काल हो । २०७६ को उत्तरार्धदेखि २०७९ को पूर्वार्धसम्मको करिब तीन वर्षको समयावधि नेपालका हकमा कोरोना काल हो भन्न सकिन्छ । यी लघुकथा यही समयका उपज हुन् । यस अवधिमा सन्त्रासमय सङ्कटापन्न वातावरण थियो । मानिससित मानिस डराउनुपर्ने अवस्था थियो । एउटै घरपरिवारका सदस्य पनि एक अर्काबाट सशङ्कित हुने वा हुनुपर्ने स्थिति थियो । यी लघुकथाबाट पनि त्यस्तो परिस्थितिको बोध भएको छ ।
यी लघुकथा छोटा छरिता छन् । ढाइ तीन सय शब्द सीमामा रहेका छन् । डिमाई साइजको पुस्तकमा अधिकांश लघुकथा एक पृष्ठमा र केही डेढ पृष्ठमा मुद्रित छन् । यस दृष्टिले पनि यी औसत आयाममा रहेको देखिन आउँछ । अधिकांश लघुकथा बाह्य दृष्टि बिन्दुमा रहेका छन् । ‘मन्त्री र मास्क’, ‘बहिष्करण’, ‘कृतज्ञता’, ‘श्रेय’, ‘सापटी’, ‘रोग या भोक ?’ आदि लघुकथा भने आन्तरिक दृष्टि बिन्दुमा रहेका छन् ।
लघुकथाको एउटा अभिलक्षण पात्र अल्पता पनि हो । पात्रको प्रयोग कमभन्दा कम हुनु वाञ्छनीय छ । यीमध्ये अधिकांश लघुकथामा कमै पात्र छन् । आवश्यकभन्दा बढी पात्रको प्रयोग गरिएको छैन । ‘खोप केन्द्रमा मतदाता’ लघुकथामा एक वृद्ध अधबैँसे, मानिसहरू, एक मानिस, वडाध्यक्ष,, स्थानीय महिला, एक युवक, एक राजनीतिक कार्यकर्ता, एक बुज्रुक आदि पात्रहरू रहेका छन् । खोपमा पनि राजनीति भएको तथ्य उजागर गर्नका लागि यति धेरै पात्रहरू हुनै पर्ने भन्ने देखिँदैन ।
यी लघुकथा मानक नेपाली भाषामा लेखिएका छन् । भाषा सामान्यतया सरल, सहज बोध गम्य रहेको छ । डा. पुष्करराज भट्ट सिकारु लघुकथाकार होइनन् । यसअघि उनका लघुकथा, समालोचना, सम्पादन गरेर दर्जनभन्दा बढी कृति प्रकाशित भइसकेका छन् । यस्ता स्रष्टा–लेखकका लघुकथामा वर्णविन्यासगत त्रुटि रहनु, वाक्य गठनगत कमजोरी तथा पदसङ्गतिमा कमी देखिनुलाई राम्रो भन्न सकिँदैन । पढ्दै जाँदा केही ठाउँमा दाँतमा ढुङ्गा लाग्ने अवस्था देखिन्छ ।
लघुकथा अकस्मात् आरम्भ हुन्छ र हठात् अन्त्य हुन्छ । आवश्यक वर्णन र विस्तारका लागि यहाँ कुनै ठाउँ हुनुहुन्न । यहाँ सङ्कलित अधिकांश लघुकथा त यस्तै छन् । तथापि केही लघुकथामा अनावश्यक विस्तार भएको पाइन्छ । उदाहरणका लागि ‘खै कोरोना ?’ लघुकथाको सुरुका दुई वाक्य (पहिलो अनुच्छेद), अन्तिमतिरका तीन अनुच्छेद नहुँदा अझ राम्रो हुन्थ्यो । साँझ एक साथीले भन्यो, “गजबबहादुर त गएछ नि !” लघुकथा यहीँ समाप्त भएको छ । त्यसपछिका वाक्य आवश्यक देखिँदैनन् ।
विगत केही वर्ष कोरोना महामारीले विश्वलाई नै सन्त्रस्त तुल्याइदिएको थियो । त्यसबाट नेपाल पनि अछुतो रहेन । मन्त्री र मास्क त्यही परिस्थिति र परिवेशमा लेखिएका ५६ लघुकथाको सँगालो हो । यी लघुकथाबाट कोरोना महामारीका कारण कतिको चेत खुलेको र तिनले सहयोग, सद्भाव र मानवीय कार्य गरेको पाइन्छ । कति त अझै पनि “भ्यागुतो खाँ भनी खोज्छ डाँस मुख विषे साँपले ध¥याको पनि…” भने झैँ यस्तो अस्थिर अवस्थामा पनि भ्रष्टाचारमा लिप्त भएको देखाइएको छ । समाजका हरेक वर्ग, तह र तप्काका मानिसहरू सङ्क्रमणबाट ग्रसित, त्रसित र आतङ्कित थिए । एक विषय केन्द्रित लघुकथाका इतिहासमा यसको आफ्नै किसिमको महŒव छ भने कोरोना महामारी केन्द्रित यो नेपालीमा एकल प्रथम लघुकथा कृति पनि हो । यस दृष्टिले यसको ऐतिहासिक महŒव रहेको छ । भाषिक र अन्य केही त्रुटि रहे तापनि नेपाली लघुकथाका इतिहासमा यसको आफ्नै विशिष्ट स्थान बन्न गएको छ । यिनमा कोरोनाको सन्त्रास छ । राहत वितरणमा राजनीतिक दाउपेच छ । राहतमा भ्रष्टाचार छ । उपचार सहज छैन । निजी अस्पताल महँगा छन् । यिनमा सामाजिक उत्तरदायित्व छैन । सरकारी अस्पतालको कथा पनि त्यस्तै छ । सामाजिक सम्बन्ध टाढिएको छ । आफन्त टाढिएका छन् । सबैमा मृत्युको भय छ । विदेश गएकाहरू फर्केका छन्, तर गाउँघरमा पनि पहिले झैँ हिमचिम गरी नजिक हुन पाएका छैनन् । आफन्त भनेर भेट गर्न जाँदा बास नपाइने अवस्था छ । यी लघुकथाले त्यस बेलाको यस्तो परिदृश्यलाई जीवन्त रूपमा उतारेको पाइन्छ । यहाँ जताततै कोरोनाको छाया चित्र छ । यस्तो चित्र खिचिरहँदा यहाँ स्रष्टा भट्टको दृष्टिकोण प्रस्ट देखिन्छ । समाजको तल्लो वा हेपिएको तथा न्यूनतम मानवीय सुविधाबाट वञ्चित वर्ग वा समुदायप्रति उनले सहानुभूति प्रकट गरेका छन् । तिनका पक्षबाट बोलेका छन् । यो उनको वर्गीय पक्षधरताको परिचायक हो भन्न सकिन्छ ।
०००
२०८० असोज १, भैरहवा