* सुरेशकुमार
” होइन घनश्याम भाइ यसरी घरीघरी किन फोन गरेको ? म खाली बसेको छु र?”- मखमलीले कुरै नसुनी दुई वटा प्रश्न तेर्सायो।
” फोन त गर्नै पर्यो नि दाइ मैले हजुरले नगरेपछि।थाहा छ हजुर काममा हुनुहुन्छ। हामीलाई पनि त फोन गर्ने रहर होइन नि।”- घनश्यामले भन्यो।
” ठिकै छ अहिले म बिजी छु । एक छिन पछि म आफै फोन गर्छु।”- मखमलीले फोन काट्यो।
” घनश्याम सारा दिन उसको फोनको बाटो कुरेर बस्यो तर फोन आएन।
केही दिन पहिले खाँदा पनि हेलो ,सुत्दा पनि हेलो दिनमा तीन चार पल्ट फोनमा गफ गर्ने मानिस आज न फोन गर्छ नत सुन्छ।कतिपय अवस्थामा त ब्ल्याक लिस्टमा लगाई दिन्छ की मिल्दै मिल्दैन।
घनश्याम मखमलीको यो व्यवहारले धेरै दुखी भएको थियो।
साँझ पख फेरी फोन ट्राई गर्यो।तीन चार पटकमा फोन उठ्यो।
” होइन यो के पारा हो हजुरको? एक छिनमै फोन गर्छु भनेर दिनै भरी फोन छोपेर बस्ने गराउनुभयो नि दाइ?”- घनश्यामले एकै स्वरमा भन्यो।
” ओहो मैले भनेको हुँ र फोन छोपेर बस्न? अर्काको काम गर्ने मानिसलाई फुर्सत कहाँ हुन्छ फोनमा गफ गर्ने?”-मखमली झनै चर्को बोल्यो।
” होइन ! हजुरले पैसा सापटी लिएर तिर्नुपरेन एक वर्ष भयो ।न व्याज छ न साउँ। हजुरलाई सोसाइटीबाट सिफारिस गरेर रिन दिलाएपछि त हाम्रो नाता सम्बन्ध सबै धरापमै पर्यो।”-घनश्यामले खाँटी कुरा गर्यो।
“- के भन्यो? व्याज अरे? होइन मामा घरमा जाने बिचार छ की क्या हो? मिटर ब्याजको आरोपमा फसाई दिउँला होस गर।”- मखमलीले घनश्यामलाई हकार्दै फोन काट्यो।
दाङ घोराही १८
०३-०५-२०२४(२१-०१-२०८१)