* समीर सिंह
‘हिजो त्यही कुरा गलत हुने र आज सही’ ‘हिजो चुनाव लड्दिन भन्ने आज चुनावी प्रतिस्पर्धामा आउने’ । यस प्रकारको दोधारे नीति भन्दै कतिपय मिडिया तथा सामाजिक सञ्जाल चलाउनेहरूले राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर के.सी.लाई ‘दहिचिउरे नेता’ पनि भन्न पछि परेनन् । तर एउटा कम्युनिस्ट पार्टीको नेतालाई यस प्रकारको आरोप लगाउनु सही हो त ?
विभिन्न मिडिया तथा सामाजिक सञ्जाल चलाउनेहरूले बुझ्नुपर्ने कुरा के हो भने कम्युनिस्ट पार्टीका मानिसहरूले हरेक कुराहरूलाई द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणका आधारमा विश्लेषण गर्दछन् । द्वन्द्वात्मक भौतिकवादको सार के हो भने ‘कुनै कुरा हो पनि होइन पनि’ । अर्थात् कुनै कुरा कुनै सन्दर्भमा ठिक हुन्छ, फरक सन्दर्भमा गलत पनि हुन्छ ।
चोरी र डकैती गर्नु ठिक हो कि गलत ? गलत पनि हो ठिक पनि हो । सामान्य रूपमा चोरी डकैती गर्नु गलत मानिन्छ । तर हिजो किसान आन्दोलनको बेला किसानहरूले सामन्तहरूको भकारी लुट्ने सही हुन्थ्यो । जनयुद्ध कालमा कम्युनिस्ट हरुले सामन्त तथा शोषकको घरमा डकैती पनि गर्नुपर्ने हुन सक्छ ।
पहिले नेकपाले काङ्ग्रेसलाई राष्ट्रिय पुँजीपति वर्गको पार्टी तथा नयाँ जनवादी क्रान्तिको मित्रशक्ति मानिन्थ्यो । न्युक्लियसले नेपाली काङ्ग्रेसप्रतिको दृष्टिकोण बदलेको थियो । अब नेपाली काङ्ग्रेस सामन्त र दलाल नोकरशाही वर्गको पार्टी थियो । यसरी काङ्ग्रेस अब नयाँ जनवादी क्रान्तिको मित्रशक्ति हुन सक्दैनथ्यो तर पुष्पलाल तबसम्म पनि काङ्ग्रेसलाई मित्रशक्ति नै मान्दथे । यसरी दुस्मनशक्तिलाई नयाँ जनवादी क्रान्तिको मित्रशक्ति मानेकाले पुष्पलाललाई गद्दार भनियाे। तर अहीले पुष्पलाललाई गद्दार भन्नु गलत भयो भनेर सच्याइयो ।
देशमा प्रतिगमन बढ्दै गएको छ । राजावादी शक्तिहरूको चलखेल बढ्दै गएको अवस्था छ । त्यस कारण गणतन्त्र संस्थागत विकासको लागि गणतन्त्रको पक्षमा भएका शक्तिहरूको कार्यगत एकता आवश्यक भएको छ । त्यस कारण नेपाल काँग्रेससँग समेत कार्यगत एकताका अवस्था सिर्जना भएको छ । हिजोको सन्दर्भमा त्यो गलत थियो तर आजको सन्दर्भमा त्यो ठिक छ । द्वन्द्वात्मक भौतिकवादी स्प्रिट भनेकै यही हो ।
कतिपय पक्षबाट के तर्क गरिन्छ भने हिजो त्यही काँग्रेससँग भौतिक सङ्घर्ष गर्ने आज रुखको चौतारीमा रमाउने ? उपरि रूपमा र अधिभूतवादी दृष्टिकोणबाट हेर्दा यस प्रकारका प्रश्नहरू सही पनि देखिन्छन् । तर द्वन्द्वात्मक भौतिकवादले यस प्रकारको टपरटुइया स्प्रिटलाई गलत मान्दछ ।
द्वन्द्वात्मक भौतिकवादले त के भन्छ भने हरेक कुराहरू एक एक सेकेन्डमा परिवर्तन भइरहेको हुन्छ । परिस्थितिमा परिवर्तन आइरहेको हुन्छ, त्यही अनुसार नीति तथा कार्यक्रमहरू परिवर्तन भइरहेको हुन्छ । एक छिनको लागि त्यही कुरा सत्य हुन सक्छ, एक छिन पछि त्यही कुरा असत्य हुन सक्छ । कुनै बेला चित्रबहादुर के.सिले ‘चुनावमा अब उठ्दिन’ भन्नु भएको होला । अहिले उठ्नुपर्ने परिस्थिति सिर्जना भयो अनि उठ्नुभयो । व्यक्तिगत रूपमा हिजो वहाँले के भन्नुभयो, त्यो त्यति महत्वको विषय भएन । वहाँ.पार्टीको नेता पनि हो । पार्टीले अहिले चुनावमा उठ्न भन्यो, अनि उठ्नु भयो । कुनै सन्दर्भमा चित्रबहादुर के.सी.ले ‘चुनावमा हारेकाहरू चुनाव उठ्नु हुँदैन’ भन्नु भएको होला । तर आज पार्टीले दुर्गा पौडेललाई आवश्यक ठान्यो अनि प्रस्ताव गर्यो ।
संसदीय चुनावमा पराजित हुँदैमा कुनै मानिस गलत भनेर मूल्याङ्कन गरिनु पनि हुँदैन । प्रायजसो संसदीय चुनावमा जित्ने भनेको पैसा, छलछाम, तिकडमले नै हो । कसैमा त्यो कुराको पहुँच पुगेन अनि हार्यो । अनि त्यो असफल नेता भयो त ?
कुनै कम्युनिस्ट नेताको लागि नेताको बुढी, नेताको आमा, नेताको छोरा जस्ता विषयहरू पनि गौण विषयको कुरा हो । मूल कुरा हो त्यो नेता, कम्युनिस्ट पार्टी प्रति इमानदार छ कि छैन । कम्युनिस्ट पार्टीमा लागेर भ्रष्टाचार, अनुशासानविहिन, अराजक भएको छ कि छैन ? कम्युनिस्ट पार्टीको नीति र सिद्धान्तलाई इमानदारीपूर्वक अवलम्बन गरेको छ कि छैन ? यदि त्यो नेता कम्युनिस्ट नीति तथा सिद्धान्त प्रति इमानदार छ । संसदीय सङ्घर्षमा उसको सशक्त भूमिका हुन सक्दछ भने हिजो संसदीय चुनावमा हारेको वा जितेको जस्ता प्रश्नहरूले महत्त्व राख्दैन । त्यस कारण चित्रबहादुर के.सी.तथा वहाँको पार्टीले जुन निर्णय गरेको छ त्यो दही चिउरे नीति होइन, द्वन्द्वात्मक भौतिकवादी स्प्रिट हो ।