महोत्तरी, २३ पुस । महोत्तरी बर्दिबास-२ का अमृत आले पढ्न जान्दैनन् तर लालपुर्जामा टाँसेको उनकी श्रीमती सुकमाया आले र आफ्नै फोटो छाम्दै दङ्ग देखिन्छन् । उनको खुसी अनुहारमा छल्किरहेको छ ।
नगरले आइतबार वितरण गरेको लालपुर्जामा के लेखेको छ ? भन्ने उनलाई यसको प्रवाह त छैन तर यो पुर्जा भुमिपती बनेको प्रमाण हो भन्ने चैँ थाहा छ ।
नगरले आयोजना गरेको एक समारोहमा आलेजस्तै ५२ घरधुरी लालपुर्जा हातमा बोकेर भुमिपती भएको खुसी साटासाट गरिरहेका थिए । जिन्दगीभरि कहाँ बस्ने र के खाने ? भन्ने त्राहि-त्राहीमा रहेका भूमिहीन तथा दलित भूमिहीन लालपुर्जा देखाउँदै अनेक सपनाहरू सुनाई रहँदा खुसी र सुख के हो ? भन्ने अनुभूति जो कोहीले गरिरहेका देखिन्थ्यो ।
प्रमुख अतिथि तथा अतिथिहरूले हस्तान्तरण गरेको लालपुर्जा हातमा लिएपछि आले र उनकी श्रीमतीले नगरबाट प्राप्त जग्गामा सानो घर बनाएर तरकारी खेती गर्ने योजना सुनाए । `बुढेसकालमा आफ्नै नाममा जग्गा भएको छ । यहाँ भन्दा ठुलो खुसी के हुन सक्छ र ?´ आले दम्पतीले भने, `कमसेकम मर्ने बेलामा भुमिपति भएर मर्न पाइने भयो ।´
उमेरले डाँडो काटे तापनि आले अहिले पनि ठेला चलाउँछन् । यही पेसाबाट नै भएको आम्दानीले उनले दुई छोरी र दुई छोराको विवाह गरिदिए । `छोराहरूले कमाउन थाले तापनि आफ्नै जग्गा र घर जोर्ने सपना सपनामा नै सीमित बन्यो,´ उनले भने, `अब जग्गा नगरले दियो, घर बनाउन छोराहरूलाई भन्छु ।´
वडा न.२ कै चतुरमाया परियार त लालपुर्जा हातमा परेपछि निक्कै बेर भावुक भइन । उमेरले ६९ वर्ष पुगेकी परियार छोराछोरी भएता पनि एक्लिएको अनुभूति भएता पनि नगरले जग्गा दिएर सहारा प्रदान गरेको बताइन । `एउटा छाप्रो बनाउँछु अनि तरकारी लगाएर भए पनि अब जीविकोपार्जन गर्छु,´ परियारले भनिन ।
अझ सोममाया लामिछानेको त आफ्नो जग्गा नहुँदा लामो समय देखी कोठामा बस्दै आएकी थिइन । घर बासको लागि आफ्नै जग्गा थिएन । बनिबुताे गरेर जीविकोपार्जन गर्दै आएकी उनको श्रीमान् बर्छौ पहिला बितेका थिए । `घर वास नहुँदाको पीडा मलाई जति अरू कसलाई थाहा होला र ?´ सोममायाले खुसी हुँदै भनिन, `कमसेकम भूमि आयोग र नगरले हाम्रो पिडालाई थोरै भएपनी मलम लगाउने प्रयास गरेको छ ।´
उनीहरू जस्तै बर्दिबास-२ स्थित २५ नम्बर बहादुरगन्ज ४ घ कित्ता न.३२ वाट प्रति घरधुरी १ कट्ठाका दरले पहिलो चरणमा लालपुर्जा पाउने ५३ घर परिवारको उस्तै खुसी छ । जग्गा पाएपछि उनीहरूले घरवास बनाउने मात्र योजना बनाएका छैनन्, तरकारी तथा अन्य उत्पादन गरेर व्यावसायिक बन्ने समेत सपना बुनेका छन् ।
पहिलो चरणमा परेका ६० आवेदन मध्य प्रक्रिया पूरा भएको ५७ जना पूर्ण भूमिहीनलाई जग्गा उपलब्ध गराउने निर्णय गर्दै राष्ट्रिय भूमि आयोग महोत्तरीले २२ मङ्सिरमा हकदावीको लागी नामावली प्रकाशन गरेको थियो ।
त्यसमध्ये ३ जनाको नाममा उजुरी परेपछि २९ मङ्सिरमा आयोगले ५३ जनालाई लालपुर्जा दिने निर्णय गरेको भूमि आयोग महोत्तरीका अध्यक्ष ज्ञान बहादुर गोलेले जानकारी दिए ।
सोहीअनुसार आज ५३ जना भूमिहीनलाई लालपुर्जा वितरण गरिएको अध्यक्ष गोलेको भनाई छ । अन्य भूमिहीनको नाममा छानबिन भइरहेको पनि उनले बताए ।
६० जना मध्ये कसैको नाममा जग्गा देखिएको, कसैको नाममा उजुरी परेको हुनाले भूमि आयोगले छानबिनको लागी ३ जनाको विज्ञ सदस्य संयोजकत्वमा समिति बनाएको छ । समितिले पेस गरेको प्रतिवेदनको आधारमा प्रक्रिया अगाडी बढाइने भूमि आयोगले जनाएको छ ।
यता आफ्नै कार्यकालमा नगरभित्र रहेका कसैलाई भूमिहीन हुन नदिने नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले बताए । अव्यवस्थित वसोवासीको समेत काम तीव्र रूपमा गरेको बताउँदै कसैलाई पनि निराश हुने वातावरण सिर्जना हुन नदिने प्रमुख क्षेत्रीको प्रतिबद्धता छ ।