भक्तपुर, २० भदौ । लामो अध्ययन अनुसन्धान पश्चात् नेपालमै सस्तो प्यानलको उत्पादन सुरु भएको छ ।
यही कारण सस्तोमै स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रूपमा यसलाई प्रयागे गर्न सकिने भएको छ ।
दुईतिर क्याल्सियम सिलिकेट बोर्ड (सिमेन्ट बोर्ड) बिनै उत्पादन लागत कम भएको अल्ट्रा नेपाल इको प्यानलको उत्पादन थालिएको हो । इको प्यानल नेपाल प्रालिले अल्ट्रा नेपाल इको प्यानल ब्रान्डिङ गरी सस्तो प्यानलको उत्पादन थालेको हो ।
यो प्यानल तुलनात्मक रूपमा कम मूल्यको छ । यसअघि यस्तै प्यानलमा क्याल्सियम सिलिकेट बोर्ड राखेर प्यानल निकालिन्थ्यो । यही कारण यो महँगो थियो । अहिले क्याल्सियम सिलिकेट बोर्ड विनाको प्यानल निकालेको हो । यसअघि प्यानलको दुवैतिर सिल्केड बोर्ड रहन्थ्यो र यसको मूल्य बढी हुन्थ्यो । प्यानलको दुवैतिर सिल्केड बोर्ड विदेशबाट आयात गर्नु पथ्र्याे ।
अहिलेको यो प्यानल नेपालमै रहेको कच्चा पदार्थहरू बालुवा, सिमेन्ट, ग्लास फाइबर, इपिएस (चलनचल्तीको भाषामा थर्मोकोल) को मिश्रणबाट बनेको हुन्छ । स्यान्डबिच प्यानलमा जस्तो यसमा दुईतिर क्याल्सियम सिलिकेट बोर्ड हालेको हुँदैन । ढलान गरी बनेको स्थायी संरचनाको भित्री पार्टेशन वालको प्रयोगमा लक्षित गरी यो प्यानलको उत्पादन सुरु गरिएको हो । यसको मोटाई ४.५ इन्च हुन्छ । तौल भने इट्टाको वाल भन्दा ३ गुना कम हुन्छ ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओंं) इन्जिनियर कृष्णभक्त दुवालले उपभोक्तालाई थोरै मूल्यमा दिन सकुन् भन्ने उद्देश्यले यस्तो प्यानलको उत्पादन थालेको बताए । यो तुलनात्मक रूपमा सस्तो छ, सिइओ इन्जिनियर दुवालले भने, चार इन्चको वाल लगाउँदा जति खर्च लाग्छ, त्यही हाराहारीमा यो ४.५ इन्चको अल्ट्रा नेपाल इको प्यानलको प्रयोग गर्न सकिन्छ । यसअघि क्याल्सियम सिल्केड बोर्ड भएको प्यानल प्रयोग गर्दा इँटाको गाह्रो लगाउनु भन्दा केही महँगो हुन्थ्यो ।
पहिला क्याल्सियम सिल्केड बोर्ड विदेशबाट आयात गर्नुपर्ने थियो, इन्जिनियर दुवालले भने, विदेशबाट आयात गर्नुपर्ने सामान रोकिने भएर यसले देशको व्यापार घाटा पनि कम गराउने विश्वास छ ।
अहिले दुई वटा प्यानलबिचको जडानका लागि म्याजिक एक्सपी प्रोडक्टको प्रयोग गरिन्छ । यो वाटर प्रुफ हुनुका साथै यसको प्रयोगबाट हेयर लाइन क्र्याक पनि नदेखिने हुन्छ । यसको प्रयोगपछि इँटाको गाह्रो लगाएर प्लास्टर गरी वाल पटी लगाएर कलर गरेपछि जस्तो देखिने बताइएको छ ।