काठमाडौँ, १३ पुस । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट टिमको प्लेअफमा पुग्ने चार टिमको टुङ्गो लागेको छ ।
जारी प्रतियोगितामा लगातार ६ खेलमा जित हासिल गर्दै विभागीय टिम एपीएफ १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
त्यस्तै कोसी प्रदेशले ६ मध्ये ५ खेलमा जित र एक हारसहित १० अङ्क हासिल गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
त्यसै गरी सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशले ६ खेलमा ४ जित र २ हार सहित ८-८ अङ्क हासिल गर्दै तेस्रो र चौथो स्थानमा रहेर प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।
प्लेअफमा पुग्ने चार टिमको टुङ्गो लागे पनि क्वालिफायर र इलिमिनेटर खेल्ने टिमको टुङ्गो भने अन्तिम लिग खेलपछि लाग्ने छ ।
लुम्बिनी प्रदेश र मधेस प्रदेशले ६ खेलमा २-२ खेल जितेर ४-४ अङ्कसहित पाँचौँ र छैटौँ स्थानमा रहँदै प्लेअफमा पुग्न असफल भएका छन् । त्यस्तै गण्डकीले एक खेल मात्र जितेर २ अङ्क हासिल गर्दै सातौँ स्थानमा छ भने कर्णाली प्रदेशले खेलेका ६ वटै खेलमा हार बेहोरेर बाहिरिएको छ ।
अन्तिम लिग खेल शनिवार हुने छ । अन्तिम लिग खेलमा एपीएफले बागमती प्रदेशको सामना गर्ने छ भने गण्डकी प्रदेशले सुदूरपश्चिमको सामना गर्ने छ । त्यस्तै मधेस प्रदेशले कर्णाली प्रदेशको सामना गर्ने छ भने लुम्बिनीले कोसी प्रदेशको सामना गर्ने छ ।