काठमाडौँ, १३ पुस । सङ्घीय संसद् सुचारु नभए पनि सो अन्तर्गतका संसदीय समितिको बैठक भने निरन्तर चलिरहेका छन् ।
‘मिनी संसद्’ मानिएका संसदीय समितिहरू मध्ये आज पनि तीन वटा समितिको बैठक बस्ने भएको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार कृषि, शिक्षा र प्रत्यायोजन समिति गरी तीन समितिको बैठक बस्न लागेका हुन् । आज बिहान: ११ः३० बजे बोलाइएको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई बोलाइएको छ ।
सचिवालयका अनुसार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बोलाइएको छ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिका आन्तरिक कार्य प्रणालीका सम्बन्धमा छलफल गर्नका लागि सो समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ ।