* सुमन पोख्रेल मजगैया
नपत्याउने कुरा पनि पत्याउने भइदिन्छ । १८ वर्षे युवकले दुइटा उपन्यास लेखिभ्याएछ । त्यो पनि राेल्पाली ठिटोले । पहिलो उपन्यास त १२ वर्षे उमेरमै रे । “रे”भनियो भने किंवदन्ती हुन्छ । लेखेकै हो । घरायसी वातावरण नै कलम र किताबको चर्चामय हुन्छ भने त्यसको प्रभाव पर्ने नै भयो । तर यो पनि अकाट्य होइन । सायद सहज प्रतिभाको उन्मेष पनि होला । साहित्यमा अध्ययन, चिन्तन र मननको पनि रसायन मिल्नुपर्छ । यो निजी गुण पनि हो । तर परिवारका सदस्यको धाप मिल्यो भने त्यसले चूडान्त प्राप्त गर्छ ।
केटाका आमातिर एक विहङ्गावलाेकन गर्छु । दाङको बिजाैरीका रैथाने खीमकुमार उपाध्यायको घर उहिल्यैदेखि चर्चित थियो र छ अझै । त्यस घरका पितृ पुर्खा स्व.दीनानाथ उपाध्याय तत्कालीन समयका अध्यात्मचेती र शास्त्रीय ज्ञानले आप्लावित पात्र हुनुहुन्थ्याे । उहाँमा हक्की स्वभाव पनि थियो । आफूभन्दा सानो नाता पर्ने व्यक्तिले उहाँलाई सम्मान गरेन भने त्यसलाई नाताको होस हालिदिएर मान्यजनप्रति के कस्तो व्यवहार ( ढोग) गर्नुपर्छ , त्यो सिकाइहाल्नु हुन्थ्यो । उहाँकी धर्मपत्नी निरक्षर भट्टाचार्य भएर पनि अड्डा अदालत देखि मन्त्रीसित समेत बातचित गर्न हिचकिचाउनु हुन्नथ्याे । उहाँकै छोरा खीमकुमार उपाध्याय लगायत सम्पूर्ण छोरीहरूमा लगभग त्यो विशेषता अङ्कुरण ,-पल्लवन र पुष्पन समेत भएको थियो । त्यो घरका अधिकांश चेलीबेटी सरकारी जागिरमै निबद्ध छन् । स्वयं खीमकुमार उपाध्याय सरकारी वकिल, नेपाली विषयका विज्ञ र धर्मशास्त्रका प्राध्यापक हुन् । उनमा कविताको सम्यक् प्रवाह छ । कसैका विवाह र मृत्युका घटनामा कविताद्वारा नै आफ्नो भाव प्रकट गर्दछन् ।
उनी बोल्नमा पनि माहिर छन्, र बोल्दा उनलाई कुनै भय र सङ्कोच हुँदैन ।
हो , यिनै खीमकुमारका पाँच बहिनी छोरी र एक छोरा छन् । यी सबैमा अद्भुत गुण विद्यमान छ । एक मात्र छोरा दीपेन्द्र विज्ञान र सी .ए. पढेर छन्दोबद्ध कविता तथा गजल उत्पादन गर्छन् । राष्ट्रिय स्तरको पारितोषिक हात पारिसकेका छन् यिनले । हाल बैङ्कमा कार्यरत हुँदा पनि साहित्यप्रतिकाे यिनको वासना उद्दाम छ । अन्य दिदीबहिनीहरू पनि कोही सङ्गीतज्ञ , भजन – गायनमा प्रवीण छन्, कुनै योग र ध्यानका कक्षा चलाउँछन् । कुनै राजनीति -पत्रकारिता र सामाजिक अभियन्ताका रूपमा स्वनामधन्य छन् । एउटी सबैभन्दा कान्छीले बाल्यकालमै मोटर बाइक हुइँक्याएकाे देख्दा त्यो क्षेत्रका गाउँलेहरू विस्फारित आँखाले हेर्ने गर्थे । यही वंश परम्पराकी माइली छोरी कविता उपाध्यायको जेठो छोरा अर्चितबाबु मर्सिफुलले आज आफ्नो उपन्यास विमोचन गराएको कार्यक्रममा सरिक भएर म आएको छु । यो बच्चाको वंश तन्तुलाई मैले किन उजागर गरेँ त भन्दा त्यो आनुवंशिकताकाे कसरमसर पनि यसमा छ कि । त्यसो त बच्चाका पिता दामु मर्सिफुल स्वयं एक निष्णात गजलकार , कवि र गीतकार हुन् । पेसाले वकिल भए पनि यिनमा काव्यिक चेतना घनीभूत छ । बच्चाकी आमापट्टिको मांस मज्जालाई नै उसको सिर्जनाको श्रेय दिइयो भने पितापक्षकाे अवमूल्यन हुन जान्छ । किनकि केटाका बाबु लगायत ठुलो बुबा रमेश सुवेदी पनि साहित्य अनुरागी र साधका हुनुहुन्छ । राप्ती साहित्य परिषद्मा यो परिवारको एक प्रकारले वर्चस्व स्थापित नै छ । त्यसैले अठार वर्षे बालकले यी दुवै परिवारको संस्कार बोकेर आएको छ होला जसले यति सानो उमेरमा दुई वटा उपन्यास नेपाली साहित्यलाई दिएको छ ।
मेरो हातमा उपन्यास छ, दुई च्याप्टर पढिसकेको छु । अझै कथावस्तुको परिपाकसम्म पुगेको छैन । तर यसको प्रारम्भ रोचक छ साथै कल्पनाको आख्यानीकरण बडो मजाले हुँदै छ । कथाभित्र आउने परिवेश र त्यसका पात्रहरूका गतिविधि क्रमबद्ध छन् । शैली परम्परागत भए पनि पात्रका अन्तरसम्बन्धहरू राम्रोसित कसिएका छन् । भाषामा प्राञ्जलता देखिन्छ । वाक्य गठनमा कतै त्रुटि छैन , शास्त्रीय पाराका शब्दावलीहरू पनि प्रशस्त छन् । मलाई लाग्छ- केटाले राम्रै खेती गरेको छ । नेपाली उपन्यास लेखनमा उसको स्थान कहाँनेर दर्ज हुने हो ? त्यो आगतले बताउने छ । तर आजका प्रमुख अतिथि उपन्यास शिरोमणि एवं प्रयाेगधर्मी उपन्यासकार डा. ध्रुवचन्द्र गौतमले समेत बच्चो लेखकको भुरिभुरि स्तुति गान गर्नुभएको छ भने यसमा निश्चय नै केही मूल्य छ । रमाइलो कुरा के छ भने यो उमेरमा युवाहरू डिजिटल संसारमा लिप्त छन् । त्यसदेखि बाहिर निस्किए पनि कुनै अस्थायी प्रेमिकाको कम्मरमा हात राखेर रेस्टुरेन्ट वा पुराना मन्दिरका एक कुनामा घोप्टिएका भेटिन्छन् । काठमाडौँको नामी र महँगो कलेजमा कानुन विषय पढिरहेको यो कोपिलाले अक्षरमा आफ्ना कल्पनालाई घुलाएर पुस्तक विमोचन गराउनु उसको अध्यवसाय , विराट् धैर्य र प्रतिकामी सोच हो । उसको लेखन जाँगर प्रवाहमान होस् ।