विशाल बस्नेत/ न्युज कारखाना
महोत्तरी, ३० मङ्सिर । नेकपा एमालेका केन्द्रीय सदस्य सरोज यादवले ५ पुस पछि वर्तमान सरकार ढल्ने दाबी गरेका छन् ।
सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने मूल नाराका साथ झुलाघाट – चिवाभञ्ज्याङ सङ्कल्प यात्रा सकिए पछि प्रचण्ड सरकार ढल्ने यादवले दाबी गरेका हुन ।
संसद् लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालतले सफाइ दिएपछि महोत्तरीको गौशालामा आयोजित शुभकामना कार्यक्रममा बोल्दै मधेस प्रदेशका संसदीय दलका नेता समेत रहेका यादवले ५ पुस पछि सरकार ढल्ने र नयाँ सरकार बन्ने ठोकुवा गरेका हुन् । बैतडीको झुलाघाटबाट १४ मंसिरदेखि सुरु भएको एमाले यात्रा १ पुसमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिँदै छ ।
`५ गते पत्रकार सम्मेलन गरे पछि यो सरकारको खुट्टाहरू भत्किन्छ,´ उनले भने, ` सरकार ढल्ने निश्चित रहेको छ ।´ उनका अनुसार सरकारले जनताको मनोभावनाअनुसार काम नगरेको हुनाले पनि नयाँ बन्ने सरकार केपी शर्मा ओली कै नेतृत्वमा बन्नेछ । अदालतले सफाइ दिनु भन्दा अगाडि फरार रहेका कोइरीलाई समेत एमालेले नै संरक्षण गरेको बताउँदै भारतमा पक्राउ गर्दा पनि नेपाल प्रहरी छाडेर आएको उनले खुलासा गरेका छन् ।
पक्राउ परेपछि के गर्ने भन्ने सम्बन्धमा माओवादी केन्द्रका प्रदेश संसद् भरत साहसँग समेत सल्लाह गरेको खुलासा गर्दै जिल्ला अदालतको निर्णय सत्यको पक्षमा भएको उनले बताए ।