विशाल बस्नेत/न्युज कारखाना
महोत्तरी, ५ मङ्सिर । गाउँको सुविधाका लागी बनाइएको एउटा सडकले गाउँलेहरू बिचमा नै कलह सिर्जना गर्यो भन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर महोत्तरीको बर्दिबासस्थित भित्री गाउँमा रहेको सडक नै स्थानीयहरूको अशान्तको कारक वनेको छ ।
बर्दिबास-६ स्थित कृष्णपुरमा २०५४ सालमा नै खोलिएको शाखा सडकलाई अहिले पुर्णरुपमा अतिक्रमण गरिएको छ भने सडकको बिच भागमा बिरुवाहरू समेत रोपिएको छ ।
२०५४ सालमा तत्कालीन गाविस अध्यक्ष विदुर कार्कीले खोलेको यो सडकले गाउँमा कसरी अशान्त मच्चायो भन्ने विषय थाहा पाउन ५ वर्ष अगाडि फर्कनुपर्छ ।
यो सडकको दायाँबायाँ विशेष गरी स्थानीय तेजिलाल महतो र मकसुदन महतोको जग्गा छ । दुवै सदियारहरुले आधा-आधा जग्गा १३ फिट सडकको लागी प्रयोग गर्ने सहमति भएको थियो ।
तर २०५४ सालमा भएको सहमतिमा स्थानीयहरूले अमिन ल्याएर जग्गा नपाए पछि एकाएक बिथोलियो । स्थानीय अमिनले गरेको नाप जाँच अनुसार गाउँको नै सम्पूर्ण जग्गा लालपुर्जा अनुसार भोग चलन नभएको निष्कर्ष निकालियो ।
यही नाप जाँच नै गाउँलेहरूको लागी अभिशाप मात्र बनेन, वर्षौँदेखि यथास्थानमा भोग चलन गर्दै आएका स्थानीयहरूले जग्गा कै कारण दिन हु झगडा गर्न थाले ।
गाउँ अशान्त बन्दै गएपछि स्थानीय राजनीति दलहरूले पूर्व भोग चलन अनुसार नै यथास्थानमा उपभोग गर्ने सहमति समेत बनेको थियो ।
यही क्रममा तत्कालीन समयमा गाविस अध्यक्ष रहेका विदुर कार्की २०७४ मा नगरप्रमुखमा निर्वाचित भए ।
एक गाउँ देखि अर्को गाउँ जोडने र कृषि उपजहरूलाई बजारसम्म पुर्याउन पुलको काम गर्न सक्ने भएकाले यो सडकलाई स्थानीय सरकारले समेत प्राथमिकतामा राख्यो ।
जब सडक स्तरोन्नति गर्ने सन्दर्भमा बजेट विनियोजन भयो तब मकसुदन महतो अमिनले गरेको नाप जाँचमा आफ्नो जग्गा सडकमा बढी पर्ने भन्दै २०७५ साल भदौ-८ गते निवेदन बोकेर जिल्ला अदालत महोत्तरी पुगेका थिए ।
त्यसपछि सुरु भएको विवाद अहिलेपनी उत्कर्षमा छ ।
मकसुदनको रिट नै खारेजी भएको थियो
मकसुदनको रिटलाई बर्दिबास नगरपालिकाको न्यायिक समितिको निर्णय र नाप नक्साअनुसार पनि जग्गा बढी पर्ने आधारहरू नदेखिए पछि जिल्ला अदालत महोत्तरीले खारेजी गरेको थियो ।
जिल्ला अदालत महोत्तरीले २०७७ साल कात्तिक-३ गते गरेको फैसलामा यथास्थानमा सडक खोल्न अनुमति दिएको छ तर अचम्म लाग्दो त कहाँ नीर छ भने मकसुदनले भने यसलाई अटेर गरिरहेको देखिएको छ ।
अर्का स्थानीय तेजिलाल महतो भने पूर्व भोग चलन भएअनुसार आधा जग्गा दिन तयार रहेको भन्दै सडक खोल्नुपर्ने अडान लिँदै आएका छन् ।
एकथरी गाउँलेहरू तेजिलाललाई समर्थन गर्ने र अर्को थरी गाउँलेहरू मकसुदनलाई समर्थन गर्दा दुई पक्षबिच झगडा दिनहुँ बढ्दै गएको देखिएको छ ।
यो विषयमा स्थानीय राजनीति दलका केही नेताहरू समेत हाबी भएका छन् । नेपाली काङ्ग्रेसका स्थानीय नेता राजकुमार महतोलाई कतिपयले मुख्य झगडाको कारकको रूपमा लिने गरेका छन् । उनै महतोले अमिन ल्याएर जग्गा नाप जाँच गरेपछि स्थानीयहरू बिथोलिएको स्थानीय युवा सूर्यदेव महतो वताउछन ।
तर महतोले भने २०५४ सालमा खोलेको यथास्थानबाट सडक खोलिनुपर्ने विषयमा आफू स्पष्ट रहेको बताएका छन् । यसको विषयमा अहिलेका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीसँग दर्जनौँ पटक कुराकानी भइसकेको पनि उनले बताए ।
नगरले लिएको पहलकदमी पटक पटक विफल
२०७५ साल देखि नै बर्दिबास -जलेश्वर जाने हुलाकी सडक देखि पश्चिम र भोटे खोलासम्मको उक्त सडक खुलाउन अवरोध भएको देखिएको छ ।
२०७५ साल वैशाख २४ गते गाउँमा थप झगडा नहोस् भन्ने उद्देश्यले नगरले अमिन खटाएर तेजिलाल र मकसुदनको जग्गाको बिच भागबाट सडक निकास निकाल्ने सहमति भएको थियो ।
उक्त सहमतिलाई आधार बनाएर २०७७ साल चैत २४ गते वाट कार्य नै प्रारम्भ गर्ने तेजिलाल र मकसुदनविच लिखित सहमति समेत भयो ।
सहमतिपछि निर्णय कार्यान्वयन गर्न स्थानीय सरकारले पटक पटक प्रयास गरेको पनि देखिएको छ ।
`उक्त विवाद सावधान गर्न म स्वयम लागि परेको थिए,´ पूर्व नगरप्रमुख विदुर कार्कीले भने, `त्यहाँ सहमति उल्लङ्घन गरेको हुँदा एक्सनमा नै जानुपर्ने देखिन्छ ।´
२०५४ सालमा साबिकको वडा न.८ को उक्त ठाउँबाट आफैले सडक सञ्जाल विस्तार गरेको बताउँदै यथास्थानबाट सडक बनाउनु पर्नेमा कार्कीले जोड दिए ।
पुराना प्रमाणहरूलाई नै आधार बनाएर सडक बनाउने अहिलेका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले पनि प्रतिबद्धता जनाएका छन् ।
तिहार तथा छठका कारण छलफल गर्न नपाएको बताउँदै नगरप्रमुख क्षेत्रीले पुरानो यथास्थितिमा नै सडक बनाइने बताए ।
नगरप्रमुख क्षेत्रीले यसअघि पनि प्रयास गरेको तर नसकेको हुँदा स्थानीयहरूले भने उनको प्रतिबद्धतामाथी विस्वास गर्न सकेका छैनन् । २०८० असार २८ गते पनि नगरबाट सडकको भाग छुटाउन प्रयास गरेको देखिएको छ ।
मकसुदनले हालेको निवेदन उपर जिल्ला अदालतको फैसला र तत्कालीन समयमा न्यायिक समितिले गरेको निर्णयलाई अहिले पनि सदर गरेको न्यायिक समितिकी संयोजक तथा उपप्रमुख तारादेवी महतोले बताइन ।
कागजात र प्रमाणहरू हेर्दा मकसुदनले नै न्यायिक समिति र अदालतको आदेशलाई अटेर गरेको देखिएको छ । अन्य विषय जेजस्तो भएतापनी मकसुदन नै मुख्य झगडाको कारक रहेको कतिपय स्थानीयको समेत बुझाई छ ।
स्थानीयवासी भोला सेन्चुरी, विनोद यादव, रमेश साह, सन्तोष महतो, राजवीर महतो लगायतले जग्गाको लोभको कारण सडक नै अतिक्रमणमा परेको बताए ।