बुवा जसबहादुर र आमा पबिसराको कान्छो छोराको रूपमा जन्मिए, सक्तमान बुढाथोकी । वि.सं.२०३०साल वैशाखमा खुँगाको तोस्वाङमा एकदमै गरिब परिवारमा जन्मिएका हुन उनी । एकदम दुर्गम गाऊ थियो तोस्वाङ । स्कुल जानको लागि पनि घरबाट लगभग डेढ घण्टा स्कुल हिँडेर जानुपर्दथ्यो । बुवा जसबहादुर अलि शिक्षित भएकाले पनि आफ्ना सबै छोराछोरीलाई पढाउन चाहन्थे । सक्तमान पनि ११ वर्षको उमेमा स्कुले जीवन सुरु गरे ।
चप्पल लगाउने चलन थिएन । पाटीमा कालो कोइलाले लेख्ने गरिन्थ्यो । त्यस प्रकारको परिस्थितिमा पनि सक्तमान स्कुले जीवनलाई निरन्तरता दिइरहे । दाइ गिरी बुढा पढाइमा अल्छी भएकाले बुवाको धेरै पिटाई खाए पनि आफू पढाइमा मेहनती भएको बताउँछन् उनी ।
कक्षा ५सम्म लुकुरवनको स्कुलमा पढाई पुरेपछि कक्षा ६ र ७ तमान र त्यसपछि बुर्तिवांगमा सक्तमानले पढाइलाई निरन्तरता दिए । स्कुले जीवनमा उनी विद्यार्थी सङ्गठनमा पनि आबद्ध भए । गिरी दाइहरूको प्रभावले उनी अखिल छैठौमा सक्रिय हुँदै गए ।
घरको आर्थिक समस्या अनि बाबु आमाको दुःख देखेर कक्षा १० भन्दा अगाडि बढ्न नसकेको बताउँछन् सक्तमान । गणित र विज्ञानमा राम्रो विद्यार्थी भए पनि घरायसी कारणले उनले आफ्नो पढाइलाई अगाडि बढाउन सकेनन् ।
कम्युनिस्ट राजनीतिको प्रभाव
गाउँमा तिलबहादुर घर्ती भन्ने पञ्चेको निकै दबदबा थियो । उसको शोषण र दमनले पुरै गाऊ आतङ्कित थियो । थोरै सामान लिए पनि एकदमै धेरै ब्याज लिने । जति तिरे पनि नपुग्ने । घरबाट जति घिउ, रासन, पैसा दिए पनि उसको ऋण तिर्नै नसकिने । तर पनि सक्तमानका बुवा जसबहादुरले ती पञ्चको विरुद्ध सङ्घर्ष गरिरहे । त्यस प्रकारको पञ्चको शोषणबाट आक्रोशित हुँदै सक्तमान पनि कम्युनिस्ट राजनीतिप्रति आकर्षित हुँदै गए ।
बुर्तिबांगमा अध्ययन गर्दा शिक्षकहरूले पनि राजनीतिक प्रशिक्षण दिइरहन्थे । दुर्गा खरेल, थम प्रकाश, भागिरथ भट्टराई जस्ता शिक्षकहरूबाट उनले शिक्षा र राजनीति दुवै सिक्दै गए । यी सबै कारणले पनि उनी कम्युनिस्ट राजनीतितर्फ सक्रिय हुँदै गए ।
२०४६ सालको जनआन्दोलन हुँदा बुर्तिवांगमा मसालको लहर नै थियो । ढुङ्गा, माटो सबै मसाल भएको सक्तमान बताउँछन् । नजिकैको तमान गाऊ काँग्रेसको गढ थियो । बुर्तिबांगमा मसाल र तमानका काँग्रेसका विरुद्ध सङ्घर्ष भइरहने उनी बताउँछन्, – ‘काङ्ग्रेसहरूबाट धेरै कुटाई खाइयो ।’ त्यस प्रकारको सङ्घर्षबाट खारिँदै जाँदा पनि कम्युनिस्ट राजनीति प्रतिको आस्था झनै बलियो हुँदै गएको बताउँछन्, सक्तमान।
दाइ गिरी पढ्न गएको, अरू दाइ छुटी सकेको अवस्थामा घरको सबै जिम्मेवारी सक्तमानमा आइपर्यो । बुवा आमालाई स्याहार गर्न पनि १८ वर्षको उमेरमा बिहे गर्नुपर्यो उनले । आर्थिक समस्याले च्याप्दै गयो । बुवा आमाको दुःख देख्न सक्दैनथे उनी । त्यसैले पैसा कमाउन कतारको लाहुरे हुन पुगे सक्तमान । लगभग ६ वर्ष कतारमा जागिर गरेर केही आर्थिक समस्याको समाधान गरे उनले ।
काठमाडौँको सुन्धारमा गिरी दाइले ढोरपाटन होटेल खोलेका थिए । कतारमा कमाएको सबै पैसा सक्तमानले त्यो होटेलमा लगानी गरे । होटेल भएपछि गिरी दाइले बोलाएर नेपाल आएको बताउँछन्, सक्तमान। नेपाल आएपछि उनी युवक सङ्घमा सङ्गठित हुँदै राजनीतिक सङ्घर्षमा लागि रहे ।
६२/६३ सालको आन्दोलनमा सक्तमानको सक्रिय भूमिका रह्यो । त्यो आन्दोलनको क्रममा लगभग २८ दिन जेल जीवन बिताएको बताउँछन् उनी, –‘जेलमा बस्दा वैचारिक रूपमा धेरै प्रस्ट भए । राजनीति, विचार, सिद्धान्तको गहिरो ज्ञान भयो ।’
राजनीतिमा सक्रिय हुँदा कहिले पनि सक्तमान अन्धभक्त जस्तो भएनन् । सिद्धान्त, विचार र पार्टी नीतिहरूको गहिरो अध्ययन गर्दथे उनी । त्यतीबेलाको हाँक साप्ताहिक निकै पढ्थे उनी । मोहनविक्रम सिंह, चित्रबहादुर के.सी.जस्ता नेताहरू, निस्वार्थ भावनाका निरन्तर रूपमा आन्दोलनमा सक्रिय भइरहने व्यक्तित्वले पनि प्रभावित गर्यो सक्तमानलाई ।
ढोरपाटन होटेलमा सक्तमानको सङ्घर्ष
‘मोहनविक्रम सिंह, प्रकाश र रामसिंहको तीन वटा वैचारिक धारा देखिदा सबै डकुमेन्टहरूको गहिरो अध्ययन गरे’ सक्तमान भन्छन् – ‘प्रकाश र रामसिंहका दस्ताबेजहरू माओवादी परस्त भएकाले त्यस प्रकारको राजनीति स्वीकार गर्न सकिएन ।’ सुनधाराको बुर्तिबाग होटेलमा गिरी दाइ लगायत रामसिंह, परि थापा, लीला थापा लगायतले घेरेर मसालको राजनीतिको विरोध गर्दा पनि ‘खुलेरै सङ्घर्ष गरेको’ उनी भन्छन् – ‘मोहनविक्रम र चित्रबहादुरको सानो सानो कुराको आलोचना गर्दथे, रामसिंहहरू । विशेष गरेर उनीहरूको जातिवादी कुराहरू स्वीकार्य भएन ।’ सक्तमानले जातीय राजनीतिको खुलेरै विरोध गर्दा उनलाई धेरै प्रलोभन दिएको उनी बताउँछन्, – ‘अमेरिका क्यानडा पठाइदिन्छु भनेर निकै प्रलोभन दिन्थे । तर म वैचारिक रूपमा धेरै प्रस्ट भइसकेका थिए । आफ्नो व्यक्तिगत स्वार्थको लागि शोषित पीडित जनता र उनीहरूको नेतृत्व गरेको पार्टीलाई विश्वासघात गर्न सक्दैनथे ।’ उनी भन्छन्, –‘संसार एकातर्फ हुँदा पनि म गलत राजनीतितर्फ ढल्कन सक्दैनथे ।’ ‘हिमलाल पुरीसँग त झन्नै हात हालाहाल सम्मको स्थिति आएको’ सक्तमान बताउँछन्।
रामसिंहहरूसँग वैचारिक सङ्घर्ष बढ्दै जाँदा सक्तमानलाई ढोरपाटन होटेलबाट निकालियो । कतारबाट कमाएको १५ लाखको लगानी लागेको थियो, त्यो होटेलमा । ‘वैचारिक आस्थाकै कारण १५ लाखको लगानी पनि छोडियो ।’ उनी भन्छन् ।
सक्तमानको हंगकङमा सक्रियता
सन् २००१मा दिदीलाई भेट्न सप्तमान, हंगकङ पुगे । त्यो बेला हंगकङमा मसालको प्रभाव राम्रो रहेको सक्तमान बनाउँछन् । तर फेरि २००७मा हंगकङ पुग्दा मसालको बिउ पनि उनले भेटाएनन् । रामसिंह, परि थापा, ओम गुरुङहरूको जातीय राजनीतिको प्रभाव परेछ त्यहाँ । त्यसरी मसालको प्रभाव शून्य अवस्थामा नै पुगेको सक्तमान बताउँछन् ।
हङकङमा सक्तमानले एक जना पनि वैचारिक रूपमा नजिक भएको मान्छे पाएनन् । उनी त्यहाँ पुग्दा ‘मसाल, जनजाति विरोधी’ भनेर चर्को विरोध गरिँदो रहेछ । ‘नेकपा(मसाल)ले जनजाति सम्मेलन सङ्गठन खोलेर जनजातिको हक अधिकारको लागि सङ्घर्ष गरिरहेको’ भनेर धेरै सम्झाउनु पर्योे सक्तमानले । धेरै प्रयासपछि सन् २००८ मा उनी त्यहाँ, हंगकङ नेपाली एकता समाज नामक सङ्गठन गठन गर्न सफल भए । काठमाडौँमा राष्ट्रिय जनमोर्चाको पार्टी भवन निर्माण गर्दा पनि त्यो एकता समाजले राम्रो सहयोग गरेको उनी बताउँछन् ।
सक्तमानको सफल नेतृत्वले अहिलेको अवस्थासम्म हंगकगमा एकता समाजको राम्रो सङ्गठन बनी सकेको अवस्था छ । ‘हिजो मसालको राजनीतिको विरोध गर्नेहरू, अनि जातीय कुरा गर्नेहरू सबै प्रस्ट भएर हंककङ एकता समाजमा सङ्गठित भइसकेको’ सप्तमान बताउँछन् ।
अन्तर्राष्ट्रिय नेपाली एकता समाजको अभिभावक
सन् २००५मा गठन भएको अन्तर्राष्ट्रिय नेपाली एकता समाजले विश्वव्यापी रूपमा आफ्नो सङ्गठन बनाउँदै गएको छ । त्यो सङ्गठनको केन्द्रीय सदस्य, कोषाध्यक्ष हुँदै अहिले अध्यक्ष भएर क्रियाशील छन् सक्तमान । विश्वव्यापी रूपमा एकता समाजको सङ्गठन बलियो हुँदै गैरहेकाे उनी बताउँछन् ।
अन्तर्राष्ट्रिय नेपाली एकता समाजको लगभग ३१ वटा देशमा राम्रो सङ्गठन भएको सक्तमान बताउँछन् । फुट परस्त गतिविधिहरूको यो सङ्गठनमा केही प्रभाव नपरेको पनि उनी बताउँछन् ।
प्रवासी नेपालीहरूको मुख्य समस्या
नेपालबाट प्रवास जाने नेपालीहरूकाे सबैभन्दा महत्त्वपूर्ण विषय, श्रम सम्झौता भएको सक्तमान बताउँछन् । बिदेसिन बाध्य नेपालीहरू कतिपय मेनपावरहरुको ठगीको सिकार हुने गरेका छन् । ‘विभिन्न प्रलोभन दिएर साउदी, कतार, मलेसिया लगायतका देशमा पठाउने तर सम्झौता अनुसार व्यवहार गरिँदैन । भने अनुसारको ज्याला दिइँदैन ।’ उनी भन्छन् –‘ सबै देशमा श्रम सम्झौता नभएकोले यस प्रकारको समस्या आएको हो ।’ ‘अन्तर्राष्ट्रिय नेपाली एकता समाजले प्रत्येक देशसँग श्रम सम्झौता गर्नुपर्यो भनेर नेपाल सरकारलाइ दबाब दिइरहेको तर त्यसको सुनुवाइ नभएको’ – उनी बताउँछन् ।
नेपालको अर्थतन्त्रको मुख्य आधार, रेमिटेन्स हो । प्रवास आउने मजदुरहरूले पठाएको रेमिटेन्सबाट देश चल्ने । तर उनीहरूले मताधिकार नपाउनु दुखद कुरा भएको सक्तमान बताउँछन् – ‘छिटो भन्दा छिटो प्रवासी नेपालीहरूलाई मताधिकारको व्यवस्था हुनुपर्दछ । त्यसको ग्यारेन्टी गरिनुपर्दछ ।’ उनी भन्छन्– ‘सवोच्चको फैसलापछि पनि अझसम्म नेपाल सरकारले त्यसको कार्यान्वयन गर्न सकिरहेको छैन । त्यो गलत हो ।’
बिदेसिन बाध्य भए पनि उनीहरूमा राष्ट्रियताको भावना एकदमै बढी छ । त्यस प्रकारका लाखौँ नेपालीहरूलाई मताधिकारबाट वञ्चित गरेर देशमा सुशासन कायम हुन नसक्ने सक्तमान बताउँछन् ।
आज थुप्रै नेपाली महिलाहरू विदेशमा नारकीय जीवन बिताउन बाध्य छन् । उनीहरूको श्रम तथा शारीरिक शोषण भइरहेको अवस्था छ । देशमा राम्रो शासन नहुँदा, देशको सरकार भ्रष्टाचारमा लिप्त भएका कारण पनि यस प्रकारको अवस्था आएको सप्तमान बताउँछन्, ‘विशेष गरेर बिदेसिन बाध्य नेपाली महिलाहरूको समस्याहरूलाई नेपाल सरकारले प्राथमिकता दिनुपर्दछ ।’
एकता समाजको सामाजिक गतिविधि
त्रिभुवन विमानस्थलमा विदेश जाने नेपालीहरूको मेला लागेको हुन्छ । तर त्यही विमानस्थलमा थुप्रै नेपालीहरूको लास फर्केर आइरहेको हुन्छ । ती लासहरू भित्र्याउँदा पनि दलालहरूको ठुलो खेलो हुने गर्दछ । दलालहरूले विवश नेपाली परिवारबाट लाखौँ रुपैयाँ असुल्ने गर्दछन् । त्यस प्रकारका दलालहरूबाट सचेत गराउँदै ती लासहरू नेपाल पठाउन अन्तराष्टीय नेपाली एकता समाजले सहजीकरण गर्दै आएको सक्तमान बताउँछन् । त्यसका साथै विदेशमा काम गर्दा बिरामी हुँदा, विभीन्न समस्या पर्दा, उचित ज्याला नपाउँदा, ठगिएको अवस्था हुँदा समाजले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि उनी बताउँछन् ।
एनआरएन नेपाली नागरिक होइनन्
सक्तमान भन्छन्, ‘एनआरएन भनेको वास्तवमा नेपाली नागरिक होइनन् । उनीहरू विदेशी हितको लागि मात्र काम गर्दछन् । उनीहरूमा नेपाली राष्ट्रियताको भावना छैन । नेपालीहरूको दुख पिडामा साथ दिनेभन्दा पनि ठुला–ठुला भोजभतेरमा व्यस्त हुन्छन् ।’ उनी भन्छन्, –‘एनआरएनहरूले देशमा रेमिटेन्स पनि पठाउँदैनन् । उनीहरूबाट देशको अर्थतन्त्रलाई केही सहयोग पनि पुग्दैन ।’ त्यस कारण बिदेसिन बाध्य नेपालीहरूले एउटा मात्र अभिवाक सङ्गठन, अन्तर्राष्ट्रिय नेपाली एकता समाजमा हाे ।