*
* वाशिष्ठ
कहिले काँहि शिक्षा दिने गुरुले गलत शिक्षा दिएको छ भने त्यो सुन्दा पनि सुगा रटाई गलत रटिएको हुन्छ । एक भाष्य गलत पढाइएको छ – फलानो मण्डले ,.. फलानो राजावादी, फलानो दक्षिणपन्थी, फलानो भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद आदि । खासमा मुलुकमा कसको कति योगदान छ ? केही थाहा छैन अनि अर्को आफ्नै ज्ञानले नबुझ्दासम्म गलत पनि सही लाग्छ । मलाई पनि हाम्रा चाडबाड संस्कृतिलाई गलत भाष्य रूढिवादी भनेर गर्न पर्ने मतमा म पनि कहिलेकाहीँ लाग्छ किन लोकाचारलाई ऋण लगाई लगाई गर्नु ?
२०५० माघ १८का दिन म १४ वर्ष पुगेर १५ लाग्दा बाउजुले छोडेर गए । भोलिपल्ट कर्णाली चिसापानीमा शव जलाउन ल्याइयो । सबैले मलाई क्रिया गर्न सक्दैन भने । अनि माइला बाउजु बस्नु भयो । मलाई जसरी पनि बसालेको भए मैले त्यसै दिनबाट पिण्ड लडाउन अभ्यस्त भैसकेको हुन्थे । माइला बाउजुले अभिभारा बोकेकाले मलाई त्यो आइ परेन र आजसम्म आई लागेको छैन । कारण, बाजेको तिथि चतुर्थी बुवाको पनि चतुर्थी एउटै घरमा, दुई श्राद्ध गर्न भएन । माइला बाउजु आजसम्म मूल घरको कर्ता हुनु भयो । त्यसैमा २०५९मा कान्सा बाउजु थपिनु भयो त्यो दिन पनि त्यही मिलायौँ ।
मेरा बाउजुको श्राद्ध म छुट्टै गर्छु भन्न पनि भएन । एउटै घर एउटै चुलो भए पछि बाउजुको कर्ता हुने सम्म हामी भएनौ । बाउजुको औपचारिक पिण्ड मैले दिन परेन ।
यस्तै अलि अलि यो लाल सलाम पार्टीमा विचार बोकेपछि यो पार्टीको स्कुलिङ भनेको प्रगतिशील, प्रगतिवादका नाममा मृत्यु संस्कार सुधार गर्न बहस गर्न लागे, विभिन्न विद्धानहरू । हामी पनि त्यही लै लैमा लाग्यौँ ।
आफ्नै आर्य संस्कृतिको पितृ देवतालाई पनि नसम्झने लाल सलाम गर्ने फोटोमा टीका लाउने गर्न लागे । त्यो आधुनिक बेसरी गतिलो हो भन्ने भाष्य निर्माण भयो । हाम्रो गरुड पुराण गलत छ भने त्यसलाई सच्याऊ । हामी गलत भनिरहेका छौँ त ? मेरा बाको आर्थिक समस्याका कारण शालङ्कार गरिएन । आमालाई ऋण लागे पनि म तिर्दा हुँ छोरा छदै थिए । ऋण लागे लाग्दो हो भनेर अझ मन पोलेको छ । पहिला त मलाई पनि गरिदिएनन् लाग्यो । अलि पछि यही मृत्यु संस्कार सुनेपछि ठिकै गरेछन् लाग्यो । अहिले यी आफै सबै गर्छन् अनि अरूलाई भड्काउँछन् भन्ने लागेको छ । वर्तमानका प्रगतिवादीको चाला हेर्दा स्पष्ट हुन्छ । पितृलाई काशी लिने भन्ने थियो । त्यसमा म अलि अड्डी थिए, ‘काशी हैन बरु म पशुपतिनाथ लिन्छु काशी जाने जाऊ भने म जान्न भनेर गएन ।’
सन्जोगले आजसम्म मैले औपचारिक पिण्ड दिएको छैन तर पितृलाई पशुपतिमा लगेको छु । त्यो पनि पिण्डबाट आत्मसन्तुष्टिका लागि होइन । मैले हाम्रा लालुका राष्टगुरु योगी नरहरि नाथका उत्तराधिकारी गुरु श्रीनाथका हातबाट भस्मको टीका लगाएर पितृ ऋण तिर्नलाई बिहानै शुद्ध भएर भाइ खेम र म पशुपति गयौँ । नाथजीको समाधिमा चरण वन्दना गर्यौँ ।
गुरु श्रीनाथले भस्म र केशरीले टीका लगाएर हाम्रा भएभरका पितृलाई वैकुण्ठ पठाइदिनु भयो । हामी त्यहाँबाट बानेश्वर आएर भान्जीलाई दान दक्षिणा गर्यौ । अनलाइन खबरमा मित्र खेमराज ओलीको आतिथ्य चिया गफ गरेर हामी ललितपुरको महालक्ष्मी थान आयौ । अनि आमा शारदाको चरण वन्दना गरेर खेम भाइ र म छुटियौ । त्यहाँबाट कलङ्की आएर बहिनी जानकीकहाँ आएर भान्जीलाई ज्ञानी बनाएँ । मैले उनलाई मंकी भान्जी नाम राखेको छु । तर आज ज्ञानी बनाए । दान गरे अनि म कीर्तिपुर कोठातर्फ हिडें ।
मित्र विपिनबाट गीता ल्याएँ । दिदी दुर्गाको समिप्यता प्राप्त गरे । बाटोमा पर्ने तरकारी पसल, पानी पसल, पुस्तक पसल, हनुमान घाटमा बस्ने फुपूकी छोरी बहिनी सबैलाई भेटेर म दुर्गा बहिनीकोमा पसेर राम श्रेष्ठको मेडिकलबाट औषधि लिएर म कोठामा पसे । घरबेटी बा दुवालको औषधि बजार गएर औषधि ल्याउन गएँ । नयाँबजार, उर्मिला बहिनीले खाना खाएर मात्रै जाने भनेकाले कोठामा आएर खाना पकाउनु परेन । घरमा, दुवाल दालाई औषधि खुवाएर भर्खर यो किबोर्ड छोए । अनि आजको कथा दैनिकी लेखेन भने बिर्सने भएकाले म पनि छुन लागे ।
कथा कताबाट लेख्नु ? बाहिर हिँडे मात्रै मतलब गरिने रहेछ । मैले पशुपतिदेखि मेरो निवास सम्म हेर्दा मैले हेलो हाई गर्ने मान्छे सयौँ कमाएको रहेछु । यस्तैमा संस्कार न हो । बहिनी कोकु, म दाजु बाहिर छ भनेर आउन लागेको आउन पाइनन् । यसरी सबै भाइ बहिनी आफन्त जम्मा हुँदा काठमाण्डौमा १५ देखि २० जना सहजै जुट्ने आफन्तको लिस्ट मेरो पनि भएछ ।
कोठामा बोलाऊ दुई जना अट्दैनन् । फेरी बाबुको तिथिको दिन भान्जी बहिनीलाई कोठामा बोलाएर खुवाउने ठाउँ छैन । पाप लागे पनि सामान जुटाएर पकाउन लगाएर दक्षिणा उनकै निवासमा दिएर हामी दुई भाइ हिँड्यौ ।
रगतको एउटै कोखमा बसेर मात्रै आत्मीयता हुन्छ भन्ने गलत छ । मानवीयतामा पनि त्यो भन्दा बढी आत्मीयता हुन्छ । काठमाण्डौमा खुलेर लाडेली प्यार गर्ने बहिनी शब्द उच्चारण र दाजु भन्ने मान्छे नभएपछि मैले २०७३को जन्मदिनको दिन, ‘आजबाट तपाई बहिनी’ भनेर म्यासेज गरेको सरु आस्था आजसम्म कोखबाट जन्मेको भाइ बैनीभन्दा बढी आत्मीयता छ । आज बिहानै लामो संवाद गर्यौँ । यहाँ सुदूरपश्चिमको बाटोमा भेट भएकी तिनै नानी उर्मिलाले अघि नयाँ बजारमा भेट भएपछि खाना नखाएर आउन दिइनन् । यसरी हुन्छ मानवीयताको सम्बन्ध ।
रगतले मात्रै दाजुभाइ दिदी बहिनी भइँदैन । पल्लो कोठामा नानीहरू बस्छन् । बाले के गरे ? म ढिला आएँ खाना खायो कि नाइँ ? भनेर सोध्छन् । ज्ञानु दिदी जुम्ला जानु भएको छ । अहिले घरबेटी बासँग राजनीतिदेखि सबैका कुरा गरियो ।
एउटा प्रसङ्गमा गोपाल प्रसाद रिमालको नाम आउँदा कुनै रिमालका कार्यक्रममा दुवालको नाम पनि किन उच्चारण कतै गरिँदैन ? मलाई सड्केको छ । एक जुगमा एक दिनको सङ्गीतकार त दुवाल हुन् । यस गीतका सङ्गीतकार दुवाल हुन् भनेर भन्न पनि कति असहज होला ।
मलाइ अहिले यहाँ लेख्न असहज मानिरहनु पर्ने केही छैन । यो वर्ष दुवाललाई हामीले कसैलाई हल्ला नगरी ‘चिताबाट जल्दै गरेको चिताबाट फर्काएर घरमा ल्याएका छौँ ।’ तर हामीले हल्ला गरेनाँै कानमा आत्मीय मनको कानमा पुगेको हुँदो रहेछ ।
अस्ति बाहिर देख्दासाथ पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले दुवाललाई कस्तो छ ? भनेर मलाई सोध्नुभयो । मलाई त्यहाँ बस्छ भन्ने नोटिस रहेछ । अनि मेरो स्वास्थ्य लाभ सुनाइदिनु होला भन्नु भयो ।
दुवालको आजको योगदान नखोजे पनि हिजोको योगदान आवश्यक छ । उनले अँगालेको पार्टीले उनको आजको नभए पनि हिजोको योगदानको कदर गरोस् । उनको योगदानलाई लिपिबद्ध गरोस् । दुवालले अँगालेको पार्टीको देशव्यापी प्रदेश सम्मेलन चलिरहँदा, यही च्यासलमा बन्द सत्र र भृकुटी मण्डपमा उद्घाटन समारोहको वासना हैन हामीकहाँ गन्ध पनि पुगेन । के दुवाल प्रदेश सम्मेलनमा आउन योग्य मान्छे होइनन् ? के दुवाल प्रतिनिधि हुन अयोग्य नै हुन् ? हिजो रगत र शक्ति हुँदा चाहिने अहिले प्रतिनिधि बनाएका छौँ आउनुहोला भने के जान्थ्यो ? एउटा गीत पनि गाउनुपर्ने हो दाइ भनेको भए दाजु दश बित्ता उफ्रेर आइहाल्नु हुन्थ्यो । अनि, कुरुवा म नआई सुखै थिएन ।
यस्तै परिवेशमा हामी कति अपमानको मैदानमा रहने । अब हामी निराश हुनु छैन । फेरी पनि गङ्गा सरले भनेको ‘स्वास्थ्य लाभ’को खबरले दाजु उत्साहित हुनुभयो । मैले यस्तै गरी कम्तीमा भेटघाट गरेर ‘हामी छौँ निराश नहुनु’ भनेर त भनिदेऊ भनेर धेरैलाई भने । बिरामी भएको बेला करोडौँ रुपियाँ लागे पनि बचाइन्छ दाजु चिन्ता नलिनु भनेर गोप्य सल्लाह गरेको कुरा पनि लेख्छु ।
रेडियो नेपालकी पत्रकार यशोदा अधिकारी र मैले, दुवाल दालाई आर्थिकले सताउने भयो भने यसलाई सकारात्मक रूपले सन्देश जाने गरी मिडियामा लिने भनेर सल्लाह गरेका थियौँ तर दाजुले अहिले मिडियामा नहालेस् भन्दा हालिएन ।
मैले महासङ्घ नामको कार्यालयमा गएर दुवाललाई अस्पतालमा कुरेका छौँ इच्छा हुनेले भेटघाट गर्दा हुन्छ भनेर जानकारी गरेपछि प्रा.डा. जीवेन्द्रदेव गिरी र यशोदा अधिकारी आएर भेटेर जानु भयो । एक हप्ता मोडेल अस्पतालमा राखेर साँच्चै हामीले चिताबाट घर ल्याएका हो शब्द तितो भए पनि मैले लेखे । शरीरको कुनै भाग सद्दे छ भन्दैनन् डक्टर शाव । क्यान्सरको सङ्केत सम्म दिन्छन् । नआत्तिएर भयो धन्न केही रहेनछ । अहिले स्वास्थ्य लाभ गरिरहनु भएको छ । कसैलाई दुवालको योगदानको चर्चा गर्न मन लागे गरे हुन्छ भेट गर्न मन लागे भेटे हुन्छ ।
बिचमा म बहकिए कता गए गर्न खोजेको अर्के हो । मृत्यु संस्कार सुधारको कुरा । सुधार गरौँ । तर हामीलाई गलत भाष्य पढाएर पश्चिमाको शैली अपनाएर हाम्रो आर्यन संस्कृति सकेर भित्रभित्रै क्रिश्चियनको प्रभाव बढ्दै गएको अवस्था छ । मृत्यु संस्कार रुपान्तरणकाे नाममा क्रिश्चियन भित्र्याउनु भन्दा रूढ भए पनि हाम्रो पिण्डले आत्म शान्ति हुन्छ, गर्नेलाई गर्न दिऔँ । त्यो संस्कृति हो, जनविश्वास त्यही छ भने त्यो जबरजस्त नतोडौँ । भाइ वासुदेवले मेरो घरको गर्ने भएकाले आफू शुद्ध हुन म काशी गएर पितृलाई तार्न नपाएको ऋण तार्न मत पशुपति नाथ तिर गए । पिण्डको कुरामा म अभ्यस्त छैन माइल बुवाले गरी आएकाले मैले दिन परेन । त्यसैले मलाई पनि पिण्ड दिए मात्रै तर्छन् भन्नेमा विश्वास छैन । तर पिण्ड नदिए पितृ तरेनन् भन्नेलाई गर्न दिऔँ । किन नकारात्मक रूपमा अरूको आस्थालाई प्रहार गर्ने ?
माथि सँगै भेट हुने रहिछ भने यो वर्षबाट कुलगुरु रामशरण उपाध्याय पनि आएका छन् । माथि त राम्रै बस्ती होला । कहिलेकाहीँ त लाग्छ स्वास्थ्य गाह्रो भएको समयमा मलाई पनि छिटै लैजाऊ भन्ने मन । तर मेरो सपना छ बाउजु । समाजमा केही गरौँ । मैले चितामा जलेका पिताको सिर माथि कुनै दाग लाउने छैन र आजसम्म कुनै कुकर्म गरेको छैन । आजको हजुरको चतुर्थी तिथिको दिनको यही सम्झनामा र हजुरका समकक्षी हरूमा सम्झेर श्रद्धाञ्जली दिए । हजुरको समकालीन दिदी ललितपुर जान पाएको छैन । हाम्री फुपूको जहान ललितपुर जान पाएको छैन त्यो पालो साइँला बाजेको माइली आमा र कान्सा बाउजुको चौदसी तिथिका दिन मिलाउँला भनेको छु ।
अर्को कुरो तपाइले छोरालाई पण्डित बनाउने भन्ने थियो । कर्मकाण्ड गर्ने पण्डित नभए पनि आम्नु भाषा संस्कृतिको देशको भाषा साहित्यको पण्डित भएको छु । आखिर जसरी पनि हुनु पर्ने पण्डित त हो । भौति लामु भयो माजमा दुवालकन बाबु जत्तिकै मानेर जोडेको छौँ ।
सारमा आम्नु संस्कृतिलाई मान्दा अरूले रुढी भनेर अवहेलना गर्दा राम्रै संस्कार पनि हटेर जाने भएकाले रूढै अनावश्यक छ भने अलि सुधार गरौँ । तर हाम्रो संस्कार रुढीका नाममा प्रगतिवादीका नाममा आफ्नो संस्कार त्यागेर पश्चिमा क्रिश्चियन भने नबनौँ ।
लेखक : गोरखापत्र दैनिकका नयाँ नेपाल संस्करणका खस जुम्ली भाषाका संयोजक हुन् ।