काठमाडौँ । प्रमिता खनाललाई अध्यक्षमा चयन गर्दै क्यान्सर सर्भाइभर्सहरुको साझा संस्था, नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीको छैटौँ साधारण सभा सम्पन्न भएको छ । आश्विन ६ गतेका दिन मध्य बानेश्वरस्थित सनराइज क्याफेमा सो सभा सम्पन्न भएको हो ।
कैलाश निरौला निर्वाचन अधिकृत रहनु भएको साधारण सभाले उपाध्यक्षमा पूजा कुँवर, सचिवमा प्रमीला के.सी. तथा कोषाध्यक्षमा बिनु के.सी.लाई निर्वाचित गरेको छ । त्यस्तै सदस्यहरूमा विमला दाहाल, रुबि क्षेत्री, डा.ज्योति ओझा, सुस्मिता पोख्रेल र सजिना पाण्डे निर्वाचित हुनुभएको छ ।
यसअघिको उद्घाटन कार्यक्रम, प्रमिता खनालको अध्यक्षता तथा प्रमीला के.सी.को सञ्चालनमा अगाडि बढेको थियो । साधारण सभामा कोषाध्यक्ष बिनु के.सी. नेपाल बाहिर रहेकोले अध्यक्ष तथा कोषाध्यक्ष दुवैको प्रतिवेदन अध्यक्ष प्रमिता खनालले प्रस्तुत गर्नु भएको थियो । त्यस्तै विधानमा संशोधन प्रस्ताव सचिव प्रमीला के.सी.ले प्रस्तुत गरी सबै प्रतिवेदनहरू सर्वसम्मतले पारित गरिएको थियो ।
सर्भाइभर्सहरु मात्र संस्थाको सदस्य हुँदै आएकोमा संशोधित विधानअनुसार सर्भाइभर्सहरुको परिवारको सदस्य पनि संस्थाको सदस्य हुन पाउने प्रावधान राखिएको छ । यस प्रकारको प्रावधानले संस्थाको सदस्य सङ्ख्यामा गुणात्मक रूपले वृद्धि हुने अपेक्षा राखिएको छ ।
साधारण सभाको समापन पछि नवनिर्वाचित अध्यक्ष प्रमिता खनालले ‘विगतका कमी कमजोरीहरूमा सुधार गर्दै सर्भाइभर्सहरुको हक र अधिकारका साथै उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन पनि ठोस योजनाका साथ अगाडि बढ्ने’ बताउनु भयो – ‘विगतका रचनात्मक गतिविधिहरूलाई देशव्यापी रूपमा विस्तार गर्न सशक्त र विशेष योजनाका साथ अग्रसर हुनेछौँ ।’