—वैरागी जेठा
हिँडिरहेछ यात्री
जबासँगसँगै ।
चुचुराहरू पग्लिरहेछन्
गोठालाहरू हिङ पग्लेझैँ
सभ्यताका एकतारेहरू गीत
गाउँछन्
गरल डाँडामा
अनेकौँ पक्षीहरू
संवेदनशील पत्रहरू लेख्छन्
देवल डाँडामा बसेर
गोर्की ,लुसुन ,देवकोटा र
पौड्याल
झल्किन खोज्छन् पाटनहरू
बेथिति बादल कुँदिरहेछन्
विस्मित समाचार लिएर
यात्रीको अनुभूतिमा
चमेराझैँ झुन्डिएका छन्
आँत भाँचिएका मान्छेहरू ।
ठाँगे, रामाघाट सुनसान
बनाएर
देहरादुन सरेको छ बसाइँ ।
मानसरोवर तक्लाखार ,
जामुकुईनेहरू
अलापिरहेछन् स्वर्णिम
विचारहरू
चसक्क कोरे काँडाहरूले
नाग्मको बजारमा ।
राडी,पाखी बेच्न निस्केका
डल्ले ,भुन्टे ,पुन्टेहरू अझै घर
फर्केका छैनन्
जाबेस्वरसँगसँगै
सुख्खा,ठन्डा, शीतोष्ण
चलिरहेछ
पानी छुनै नसकिने ओ हो !
नागराजको पतनसँगै
जीवनहरू रूखो रूखो
भएछन्
यहाँका वस्तिहरूमा ।
डिट्ठा ,काजी ,जिम्वाल र
कटुवाल छैनन्
यति बेला ।