– नारायण गिरी
स्यापियन्स (मानव जातिको संक्षीप्त इतिहास) इजरायलको जेरूसेलमा अवस्थित हिब्रू विश्वविद्यालयका प्रोफेसर डा. युवाल नोआ हरारीद्वारा लिखित अत्यन्तै चर्चा पाएको पुस्तक हो। यो पुस्तक पहिलो पटक सन् २०११ मा प्रकाशित भएको हो र त्यतिबेलादेखि नै यो अति धेरै चर्चामा आएको थियो। मानव इतिहासलाई आश्चर्यचकित रूपमा स्पष्ट गरिदिने यो पुस्तकलाई अन्तर्राष्ट्रिय स्तरमा नै अति धेरै रूचाइएको देखिन्छ। यो पुस्तक ४० भन्दा बढी भाषाहरूमा अनुवाद भएर संसारका सबै ठाउँमा पुगेको पाइन्छ।
स्यापियन्समा मानव इतिहासको विस्तृत विवरण उल्लेख गरिएको छ। यसलाई ग्रन्थ भन्दा पनि प्रामाणिक दस्तावेजको रूपमा समेत लिने गरेको देखिन्छ। यसमा लेखिएका तथ्यहरूलाई अस्वीकार गर्न सकिंदैन। हामीले अहिलेसम्म पढेका मानव इतिहासको ज्ञानभन्दा धेरै ज्ञान यो किताबमा पाइन्छ। यहाँ उल्लेखित तथ्यहरू साधारण उदाहरणद्वारा बुझ्न सजिलो हुनेगरी स्पष्ट पारिएका छन्। यो पुस्तक पढेपछि हामी के हौ ? को हौं ? र, यहाँसम्म आइपुग्नको लागि हामीले कुन्-कुन् परिस्थितिहरूको सामना गर्यौं भन्ने जस्ता गहन तथ्यहरूको उजागर हुन्छ। त्यसैगरी ऐतिहासिक प्रवाहले कसरी मानव समाज र हाम्रो वरिपरिका प्राणी, वातावरण, रूखबोटविरूवा, आदिलाई निरुपित गरेको छ भन्ने कुरा पनि यो पुस्तक अध्ययनबाट थाहा हुन्छ। र, मानवको व्यक्तित्वलाई कसरी वातावरणले प्रभावित गरेको छ भन्ने कुरा पनि यसबाट स्पष्ट हुन्छ।
स्यापियन्स हरारीले मानवशास्त्र, अर्थशास्त्र, जीवविज्ञान, जीवाश्मविज्ञान, भूविज्ञान, ऐतिहासिक तथ्यहरू, आदिको वृहत ज्ञानको आधारमा लेखेको देखिन्छ। यो पुस्तकमा निम्न विषयवस्तुहरूलाई सारगर्भित ढंगले उल्लेख गरिएको छ – करिब १००००० वर्ष पहिले पृथ्वीमा मानव जातिका कम्तीमा ६ प्रजातिहरू थिए। तर आज हामी केवल होमो स्यापिन्यस मात्र अस्तित्वमा छौं। प्रबलताको लडाइँमा आखिर हाम्रो प्रजातिले कसरी विजय प्राप्त गर्यो ? हाम्रो खानाको खोजीमा पूर्वजहरू शहर र साम्राज्यको स्थापनाको लागि किन एकताबद्ध भए ? कसरी हामी भगवान, राष्ट्र, मानवअधिकार, आदि कुरामा विश्वास गर्न लाग्यौं ? कसरी हामी पुस्तक, धनसम्पत्ति, कानून, आदि कुरामा भरोसा गर्न लाग्यौं ? र, कसरी हामी नोकरशाही, टाइमटेवल र उपभोक्तावादका दास भयौं ? अब आउने हजारौं वर्षमा हाम्रो संसार कस्तो हुनेछ ? आदि-इत्यादि। त्यसकारण यो पुस्तक मानव इतिहासलाई स्पष्ट रूपमा बुझ्न अत्यन्तै महत्त्वपूर्ण सावित भएको छ। यसमा सबभन्दा पहिले मानिस कहाँ उत्पन्न भएका थिए र तिनीहरू पृथ्वीमा कसरी फैलिए ? मानव बन्ने कथाको साथै मानिस धर्तीमा कसरी आयो ? मानव इतिहास कस्तो थियो ? मानव जीवन पहिले कस्तो थियो ? मानव जति आधुनिक युगसम्म कसरी आइपुग्यो ? समयसँगै मानव जीवनमा के-के परिवर्तनहरू आउनेछन् ? जस्ता यावत तथ्यहरूलाई स्पष्ट पारिएको छ। त्यसकारण यो एक रोचक पुस्तक हो। यसमा लेखकले मानव इतिहासलाई धेरै राम्रोसँग व्याख्या गरेका छन्, जसले पुरानो समयदेखि आजसम्मका सम्पूर्ण मानव यात्राका महत्त्वपूर्ण र रोचक तथ्यहरूलाई विकासवादी दृष्टिले दर्शाउँदछ। लेखकले यसमा मानव जातिका अनेकौं अवधारणाहरूलाई अलग-अलग तथ्य र मिथकद्वारा स्पष्ट पारेका छन्।
मानव इतिहासको बारेमा पहिले पनि धेरै पुस्तकहरू लेखिएका छन् तर हरारीले यसमा मानव उत्पत्तिलाई लिएर त्यसको वर्तमान र भविष्यलाई एकसूत्रमा गाँस्ने विशिष्ट कार्य गरेका छन्। यो पुस्तक चार भाग र २० अध्यायहरूमा रहेको छ। चार भाग अनुसार संज्ञानात्मक क्रान्ति (७०,००० वर्ष पहिले), कृषि क्रान्ति (१२,००० वर्ष पहिले), मानव जातिको एकीकरण र वैज्ञानिक क्रान्ति (५०० वर्ष पहिले) रहेका छन्।
पुस्तकको पहिलो भागमा पृथ्वीमा स्यापियन्सको उत्पत्तिदेखि लिएर त्यो सम्पूर्ण पृथ्वीमा फैलिएको कुरा उल्लेख गरिएको छ। यहाँ मानिसको विकासपछि उसको संज्ञानात्मक चेतनाको विकासलाई मुख्य मानिएको छ। हरारी पृथ्वीमा जीवनको उत्पत्ति भौतिकविज्ञानको महाविष्फोट सिद्धान्तको परिणाम मान्दछन् र साथै उनी के पनि मान्दछन् भने मानिस र अन्य प्राणीहरूमा आधारभूत रूपले कुनै भिन्नता छैन। पृथ्वीका सम्पूर्ण प्राणीहरू अणुहरूका जटिल संरचनाहरूकै परिणाम हुन्। स्यापियन्स अन्य प्राणीहरूभन्दा भिन्न हुनुको कारण भनेको यसमा संज्ञानात्मक क्रान्ति घटित भयो, जसले मानिसमा सोच्ने र व्यवस्थित हुने चेतना पैदा गरिदियो। यही संज्ञानात्मक क्रान्तिको उत्पादन कृषि क्रान्ति थियो, जसले विकासलाई तीव्र गति दियो र अन्ततः वैज्ञानिक क्रान्तिले इतिहासको त्यो स्थितिमा ल्याइदिएको छ, जुन यसको समाप्तिको कारण पनि बन्न सक्दछ। यो पुस्तकले यिनै क्रान्तिहरूको बारेमा व्याख्या गर्दछ।
हरारीका अनुसार मानिसको पहिलो विकास लगभग २५ लाख वर्ष पहिले पूर्वी अफ्रिकामा बाँदरको एक प्रारम्भिक वंश अस्ट्रेलोपिथेकसबाट भएको हो। लगभग २० लाख वर्ष पहिले यिनीहरूमध्ये केही आदिम पुरुष र स्त्रीहरू उत्तरी अफ्रिका, यूरोप र एशियाका फराकिला इलाकाहरूमा बस्नको लागि अलग्गै क्षेत्रको यात्रामा निस्किए। फरक-फरक क्षेत्रमा बसेको कारणले गर्दा मानिसको जनसंख्या फरक-फरक क्षेत्रमा विभिन्न अवस्थाहरूमा विकसित भयो। यसको परिणामस्वरूप अनेकौं पृथक प्रजातिहरूको रूप देखा परे। यूरोप र पश्चिम एशियाका मानिसहरू होमो नियन्डरथलेन्सिस (नियन्डर घाँटीका मानिस) को रूपमा विकसित भए, जसलाई खासगरी ‘नियन्डथल्स’भनिन्छ। स्यापियन्सको तुलनामा ठूलो र मोटो तथा हृष्टपुष्ट नियन्डरथल्स हिम युगको चीसो जलवायुमा राम्रोसँग अनुकूलित थिए। एशियाका अधिकांश क्षेत्रका मानव प्रजातिहरूलाई होमो इरेक्टस (सीधा उभिने मानिस) भनियो। यिनीहरू विस्तारै संसारका अन्य भागहरूमा पनि छरिदै गए। इन्डोनेशियाको जावा द्वीपको फ्लोरेन्समा आदिम मानिस बाउन्ने हुने प्रक्रियाबाट गुज्रिए। यी मानिसहरू यूरोप र एशियामा विकसित भइरहेको बेलामा पूर्वी अफ्रिकामा विकासको प्रक्रिया थामिएको थिएन। सामान्तयतः के धारणा छ भने होमो एर्गास्टर, होमो इरेक्टस, होमो सोलोऐन्सिस, होमो फ्लोरेसिएन्सिस, होमो रूडोल्फेसिस तथा होमो स्यापियन्स रेखीय रूपमा विकसित भए र तिनीहरूकै सबभन्दा विकसित स्वरूप स्यापिन्यस हो। यद्यपि हरारी यो कुरालाई अस्वीकार गर्दछन् र भन्दछन् – यो एकरेखीय प्रतिरूपले कुनै एक विशेष समयमा केवल एकै प्रकारका मानिस पृथ्वीमा रहन्थे भन्ने गलत धारणालाई जन्म दिन्छ। वास्तविकता के हो भने लगभग २० लाख वर्ष पहिलेदेखि लिएर लगभग १० हजार वर्ष पहिलेसम्म संसारमा एकै समयमा कैयौं प्रजातिका मानिसहरू बसोबास गर्ने गर्दथे। अब प्रश्न उठ्छ, ती प्रजातिहरू के भए त ? यसको लागि केही विद्वानहरू संकरण (hybridization) सिद्धान्त र केहीले प्रतिस्थापन सिद्धान्तलाई आधार बनाउँदछन्। तर हरारी यी दुवै सिद्धान्तको मिश्रित कारणको अनुमान लगाउँदछन्। उनका अनुसार केही प्रजातिहरूमध्ये संकरण एवं प्रतिस्थापनको मिश्रित परिणामपछि बचेकाहरूलाई नै स्यापियन्स भनिन्छ।
होमो स्यापिन्यसको विकासमा हरारी दुई मौलिक विशेषता विकसित भएको कुरा उल्लेख गर्दछन्। त्यसको आधार वंशानुगत उत्परिवर्तन (genetic mutation) हो। यसमा पहिलो कुराकानी (भाषा) र अर्को कल्पना थियो। हरारीका अनुसार स्यापियन्सको सोच्ने क्षमता र बुद्धि बढी भएको कारणले उसलाई यो पृथ्वीको विजेता बनायो तर उसले यसको ठूलो मूल्य पनि चुकाउनुपर्यो। मानिससँग अन्य प्राणीहरूको भन्दा ठूलो मस्तिष्क हुन्छ। आधुनिक स्यापियन्सको मस्तिष्क औसतमा १२००-१४०० घन सेन्टिमीटर (शरीरको तौलको २-३%) हुन्छ। त्यसलाई पोषण उपलब्ध गराउन अप्ठ्यारो हुन्छ। किनभने आराम गरेको बेलामा शरीरको २५ प्रतिशत ऊर्जाको उपयोग हुन्छ। यसको तुलनामा अन्य बाँदरहरूको मस्तिष्कको केवल ८ प्रतिशत ऊर्जा मात्र खर्च हुन्छ। आदिम मानवले ठूलो मस्तिष्कको मूल्य खानाको खोजीमा आफ्नो धेरै समय बिताएर र मांशपेशी क्षीण बनाएर चुकायो। यसको अतिरिक्त मानिसले उभिएर हिड्नमा पनि धेरै समस्या झेल्यो। सीधा उभिने स्थितिसँगै संगति कायम गर्ने कुरा चुनौती थियो। यसले गर्दा मानव प्रजातिमा पिठ्यूको दुखाइ र गर्दनको कठोरताको समस्या पैदा भयो। स्त्रीहरूले अतिरिक्त मूल्य चुकाउनुपर्यो। सीधा भएर हिड्नको लागि छोटो नितम्ब आवश्यक हुन्थ्यो, जसले प्रसव नलीलाई संकुचित गर्दथ्यो। यसले गर्दा प्रसवकालीन मृत्युको ठूलो समस्या पैदा भयो। साथै मानिसहरूको जन्म समयभन्दा पहिले अर्धविकसित अवस्थामा हुनलाग्यो। त्यसकारण मानव प्रजाति पृथ्वीको संभवतः एकमात्र प्रजाति हो, जसले अत्यन्त कमजोर र अविकसित अवस्थामा जन्म लिन्छ। एउटा बाछो जन्मिएको केही समयपछि नै दौडन लाग्छ, विरालोको बच्चा केही हप्तामा नै आमालाई छोडेर स्वयं खानाको खोजीमा निस्किन्छन्, तर मानिसको बच्चाले कैयौं वर्षसम्म भरणपोषण, विकास, संरक्षण र शिक्षाको लागि आमा-बाबु वा ठूला मान्छेहरूमा निर्भर रहनुपर्दछ।
समयक्रमसँगै स्यापिन्स समूहमा बस्न लागे। यिनीहरूले आगोलाई घरेलु बनाएर सभ्यतालाई एक नयाँ मोड दिए। उनीहरू यसबाट प्रकाश र ताप प्राप्त गर्न सक्दथे र साथै यसबाट हिंस्रक पशुहरूलाई डर देखाउने काम पनि हुन्थ्यो। तर आगोको सर्वाधिक महत्त्वपूर्ण काम भने पकाउनु थियो। चामल, मकै, गहुँ, आलू, कन्दमुल, मासु, आदि जस्ता खाद्य पदार्थलाई मानिसले प्राकृतिक रूपमा पचाउन सकेका थिएनन्। आगोले पकाएपछि तिनीहरू पचाउन योग्य भए, जसको कारणले गर्दा ती मुख्य खाद्य पदार्थ बने। यसको साथै यसबाट आन्द्रामा खर्च हुने ऊर्जामा कमी आयो र यो मस्तिष्कको विकासमा सहयोगी सावित भयो। यसपछि उनीहरूले पत्थर र जनावरका हाडहरूका विभिन्न हतियारहरू निर्माण गर्न थाले। ठण्डीबाट बच्न जनावरको छालाका कपडा र बरफमा हिड्नको लागि जुत्ता पनि बनाउन लागे।
हरारीका अनुसार संज्ञानात्मक क्रान्तिपछि एक-आपसमा कुराकानी (भाषा) ले होमो स्यापियन्सका धेरै ठूला र स्थायी समूह तयार गर्नमा सहयता पुर्यायो । भाषाको विकासले मानिसलाई बढी जटिल सामाजिक प्रणाली बनाउन तथा ज्ञान एवं विचाहरूको आदान-प्रदान गर्न सिकायो। भाषा सिकेपछि नै मानिसले मिथक र कथाहरू बनायो, जसको कारणले सांस्कृतिक विश्वास र मूल्यमान्यताहरूलाई आकार दिनमा मद्दत पुर्यायो । सामाजिक अनुसन्धानबाट के कुरा स्पष्ट भएको छ भने कुराकानी समूहको स्वाभाविक आकार लगभग १५० व्यक्तिहरूको हुन्छ। होमो स्यापियन्सद्वारा १५० को निर्णायक सीमालाई नाघ्नको लागि सबभन्दा महत्त्वपूर्ण भूमिका खेल्ने कारक तत्व साझा मिथक नै थियो। एउटा साझा मिथकमा विश्वास गर्दै ठूलो संख्याले अपरिचितलाई सफलतापूर्वक परस्पर सहयोग गर्न सक्दछन्। कुनै पनि ठूलो परिमाणको मानवीय सहकारिताको जरो ती साझा मिथकहरूमा फैलिएको हुन्छ, जसको अस्तित्व केवल समाजका सामूहिक कल्पनामा हुन्छ, चाहे त्यो आधुनिक राज्य होस, मध्ययुगीन चर्च होस्, कुनै प्राचीन शहर वा कुनै आदिम कबिला नै किन नहोस्। दुई क्याथोलिक जो आपसमा कहिल्यै मिल्दैनन्, तर उनीहरू सँगसँगै धर्मयुद्धको लागि जान सक्दछन् वा कुनै अस्पताल निर्माणको लागि धनसम्पत्ति जम्मा गर्न सक्दछन्। किनकि उनीहरू दुवै एकै ईश्वर र त्यससँग सम्बन्धित साझा मिथकमाथि भरोसा गर्दछन्। राज्यको आधार साझा राष्ट्रिय मिथकहरुमा फैलिएको छ। न्यायिक व्यवस्थाहरूको आधार विधिपरक मिथकहरूमा फैलिएको हुन्छ। जबकि यिनीहरूमध्ये कुनै चीजको अस्तित्व ती कथाहरूभन्दा बाहिर हुँदैन, जुन मानिसहरूले रचेका हुन्छन्। मानिसहरूका साझा कल्पना बाहिर विश्वमा कुनै देवता, कुनै राष्ट्र, कुनै पैसा, कुनै मानव अधिकार, कुनै कानून र कुनै न्याय हुँदैन। संज्ञानात्मक क्रान्तिका यी दुवै स्वरूपहरूले होमो स्यापियन्सलाई शिकारका नयाँ प्रविधिहरूलाई खोज्ने, संगठन बनाउने, व्यापार गर्ने तथा अन्वेषण गर्ने, आदि काममा दक्ष बनाइदियो। यसरी लेखकका अनुसार मिथक र कहानीहरूले मानव समाजलाई आकार दिनुको साथै मानव व्यवहारलाई प्रभावित गर्नमा पनि महत्त्वपूर्ण भूमिका निभायो। एउटा साझा विश्वास बनाएर मानिसले अत्यन्तै प्रभावकारी ढंगले सहयोग गर्न र एक जटिल सामाजिक संरचना बनाउनमा सक्षम भयो। मानिस मिथक र कथा बनाउन एवम् तिनीहरूमाथि विश्वास गर्ने क्षमतामा अद्वितीय हुन्छ। यी कथाहरूले सम्पूर्ण इतिहासमा मानव समाज र सांस्कृतिक मान्यताहरूलाई आकार दिएको हो तथा अर्थ र उद्देश्यको भावना प्रदान गरेको हो।
हरारीको यो पुस्तकको दोस्रो भागमा उनी कृषि क्रान्तिको बारेमा एक मौलिक अपधारणा पेश गर्दछन्। उनका अनुसार मानिसहरूले कृषिलाई घरेलु बनाएको होइन, बरू कृषिले मानिसहरूलाई घरेलु बनाएको हो। उनका अनुसार कृषि विकास नभएको बेलासम्म सबै मानव जातिहरू जंगली फलफूल र शिकारमा आश्रित थिए। यसैबाट उनीहरूलाई पर्याप्त मात्रामा विभिन्न प्रकारका पोषण प्राप्त हुन्थ्यो। उनीहरूले खानाको लागि कुनै चिन्ता गर्नुपर्ने थिएन। जहाँ बढी फलफूल र जनावर हुन्थे, त्यहीँ मानिस बसोवास गर्थे। फलफूल र जनावर सकिंदै गएपछि उनीहरू अर्को ठाउँ जान्थे। कृषि क्रान्तिसँगै मानव जीवन नियन्त्रित भयो। बिउ रोप्नेदेखि लिएर मैदानको व्यवस्था गर्नमा उनीहरूको पूरा समय खर्च हुन लागेको थियो। यसको साथै उनीहरूले अब एक ठाउँमा बस्नुपर्दथ्यो र सीमित प्रकारका मात्र खाना पाइन्थे, यिनीहरू उनीहरू पोषणको लागि पर्याप्त थिएनन्। त्यसैगरी यस्ता खाना उनीहरूका दाँतका लागि पनि हानिकारक थिए। प्राचीन अस्थिपंजरहरूको अध्ययनबाट के संकेत प्राप्त हुन्छ भने कृषिको संसारमा कदमले बाथ रोग, हर्निया, आदि अनेकौं रोगहरूलाई जन्म दियो। स्थायी गाउँमा बस्ने र भोजन आपूर्तिमा वृद्धि हुनुको साथै जनसंख्या पनि बढ्न लाग्यो। कृषिले पशुहरूमाथि पनि धेरै अत्याचार भयो। जनावरहरूलाई घरपालुवा बनाइयो तथा आवश्यकता अनुसार कृत्रिम रूपले तिनीहरूको संख्या पनि वृद्धि गरियो। शुरूमा कुकुर पालियो। त्यसपछि गाइ, भैंसी, बाख्रा, आदि पालियो। यसरी लगभग १० हजार वर्ष पहिले शुरु भएको कृषि क्रान्तिले मानिसहरूलाई एक ठाउँमा बस्ने रअतिरिक्त खाद्यान्नको उत्पादन गर्न सिकायो। यसबाट मानव जनसंख्यामा वृद्धि भयो र अझ बढी जटिल समाजको विकास भयो।
यसपछि हरारी फेरि सामाजिक व्यवस्थाको विकास पछाडि साझा मिथकहरूकै चर्चा गर्दछन् । यसको लागि उनी हम्मूराबी संहिता, गिजामा रहेको पिरामिड, अमेरिकाकाको स्वाधीनताको घोषणापत्र, आदिको उल्लेख गर्दछन्। यसको अतिरिक्त समय अनुसार अन्य मिथकहरू बनाउँदै समाज एवं राज्यको स्थापनालाई व्याख्या गर्दछन्। यस्ता व्यवस्थाहरू र राज्यहरूले समाजमा विभेद पैदा गरिदिए। र, यी भेदभाव पुनः मिथक बनेर एउटा व्यवस्थाको रूपमा ढल्दछन्। मिथकमा आधारित यी व्यवस्थाले मानिसहरूलाई कृत्रिम समूहमा बाँडिदियो। माथिल्लो वर्गका मानिसहरू सुविधा र सत्ताको सुख भोग गर्दथे, त्यहीँ तल्लो वर्गका मानिसहरू शोषण, दमन र पक्षपातको शिकार हुन्थे। उदाहरणको लागि हुम्बूराबीको संहिताले उच्च स्तरका मानिस, सामान्य मानिस र दासहरूको एउटा श्रेणी तयार गरेको थियो। यसको विपरीत अमेरिककाको घोषणापत्रद्वारा बनाइएको काल्पनिक व्यवस्थामा समानताका दावीपछि पनि एक श्रेणीबद्ध क्रम तयार गरियो। एउटा क्रमले पुरूष र ऊद्वारा असक्त छोडिएका स्त्रीहरूको बीचमा विभेद गर्दथ्यो। माथिल्लो र तल्लो वर्गको क्रममा एकातिर गोरा थिए, जो स्वतन्त्रताको आनन्द लिन्थे र अर्कोतिर ती अश्वेत वा अमेरिकी इन्डियन थिए, जसलाई तल्लो स्तरका मानिस ठानिन्थ्यो। पूर्वीय सभ्यता अन्तर्गतका एक हिन्दुहरूले जातीय श्रेष्ठताको मिथक रचे, जसानुसार ब्राम्हणको रचना ईश्वरको मुखबाट, क्षेत्रीहरूको रचना उसको बाहुबाट, वैश्यहरूको रचना उसका जाँघबाट र शुद्रहरूको रचना खुट्टाबाट भएको हो। यसैको सहायतामा विभेद चलिरह्यो।
यसरी नै कृषि क्रान्तिपछि लैंगिक भेदभाव शुरु भयो। यसको पहिलो कारण बाहुबल वा श्रमक्षमता थियो। बाहुबललाई महत्त्व दिएपछि दुईवटा मूल समस्याहरू पैदा भए। पहिलो, पुरुष स्त्रीहरूभन्दा बलिया हुन्छन् भन्ने समस्या देखा पर्यो। यो कुरा औसत रूपमा केही निश्चित प्रकारका सामर्थ्यमा मात्र सही हुन्छ। जस्तो कि यस्ता धेरै स्त्रीहरू पुरुषभन्दा छिटो दौडन सक्दछन् र धेरै भारी पनि बोक्न सक्छन्। योभन्दा पनि अगाडि सोचनीय कुरा के देखिन्छ भने यदि स्त्रीहरू शारीरिक रूपले कमजोर थिए भने उनीहरूलाई किन धेरै कम उद्यमको माग गर्ने काम (पूरोहित्याईं, कानूनी काम, राजनीति, आदि) बाट टाढा राखियो, जबकि उनीहरूलाई केवल कृषि, शिल्प, उद्योग, आदिका कठोर श्रममा लगाएर राखियो। एउटा अर्को सिद्धान्त के छ भने पुरूष बर्चस्व शक्तिको होइन, बरू आक्रामकताको परिणाम हो। यसकारण स्त्रीहरूले पुरुषको बराबर गर्न सक्छन्, तर जब कुनै विकल्प बाँकी रहँदैन, तब पुरुष कठोर हिंसामा लिप्त हुनको लागि बढी उत्साहित हुन्छन्। यही कारणले गर्दा सम्पूर्ण युद्धको इतिहासमा पुरूषको परमाधिकार रहेको छ। यसरी कृषि क्रान्तिबाट बढी खाद्यान्न उत्पादन भएपछि मानिसहरूको जीवनलाई झन राम्रो बनायो। यसबाट मानिसको जनसंख्यामा वृद्धि भयो। यो वृद्धिको कारण सामाजिक पदानुक्रम र असमानताको पनि उदय भयो। कृषि र व्यवस्थित समाजको उत्पत्तिसँगै मानिसले धन, शक्ति र सामाजिक स्थितिको आधारमा सामाजिक पदानुक्रम र विभाजन बनाउन शुरु गरिदिए। लेखकका अनुसार यस्तो विभाजनले अहिले पनि मानव समाजलाई आकार दिइरहेका छन्।
कृषि क्रान्तिपछि मानव समाज ठूलो र जटिल हुनुको साथै सामाजिक व्यवस्थालाई कायम राख्ने काल्पनिक संरचनाहरूले अझ व्यापक रूप लिए। यी व्यवस्थाहरूले मानिसलाई पैदा हुने वित्तिकै विशेष ढंगले सोच्ने, आचरण व्यवहार गर्ने, विभिन्न चीजहरूको इच्छा गर्ने बानीको विकास गरिदियो। कृत्रिम प्रवृत्तिहरूको यो प्रणालीलाई ‘संस्कति’ को नामले चिनिन्छ। जसको परिणामस्वरूप पैसा, साम्राज्य र धर्म गरी तीन व्यवस्थाहरूको जन्म भयो। यी तीनै व्यवस्थाहरूले सम्पूर्ण मानव प्रजातिको एकीकरण गर्यो । यो पुस्तकको तेस्रो भाग ‘मानवको एकीकरण’ यिनै अवधारणाहरुमा केन्द्रित रहेको छ। हरारीका अनुसार पैसा सार्वभौमिक परिवर्तनीयता र सार्वभौमिक भरोसा गरी दुई सार्वभौमिक सिद्धान्तहरूमा आधारित छ। पैसाको माध्यमबाट कुनै वस्तु वा मिथकलाई अर्को वस्तु वा मिथकसँग बदल्न सकिन्छ। यसको साथै पैसाको माध्यमबाट कुनै पनि दुई जना मानिस कुनै पनि मामिलामा सहयोगको लागि सार्वभौमिक भरोसा गर्न सक्दछन्। पैसाका यी दुई मूल सिद्धान्तहरूले एक-अर्कोबाट अपरिचित लाखौं मानिसहरूलाई व्यापार र उद्योगहरूमा प्रभावकारी ढंगले सहयोग गर्नमा सक्षम बनायो, तर यससँगै केही समस्याहरू पनि जोडिएका थिए। यसले स्थानीय परम्परा, आत्मीय नाता र मानवीय मूल्यमान्यताहरूलाई विनाश गरी त्यसको ठाउँमा आपूर्ति र माँगका भावशून्य नियमहरूलाई स्थापित गरिदियो। स्वाभाविक रूपमा यो नाफाको दृष्टिले धेरै सजिलो थियो। यसको माध्यमबाट हामी व्यक्तिमाथि भरोसा गर्दैनौं, बरू ती पैसामा गर्दछौं, जुन उनीहरूको हातमा हुन्छन्। यसरी धर्म, राष्ट्र-राज्य र धन जस्ता साझा काल्पनिक वास्तविकताहरूलाई बनाउने क्षमता मानव इतिहासको वास्तविक विशेषता रहेको छ। यी काल्पनिक वास्तविकताहरू वस्तुगत वास्तविकतामा आधारित नभएर साझा मान्यता र सांस्कृतिक मान्यताहरूमा आधारित छन्।
यसपछि हरारी साम्राज्य तथा धर्म र ईश्वरको विकासको बारेमा आफ्ना विचार व्यक्त गर्दछन्। उनी साम्राज्यको स्थापनाको बारेमा यसरी उल्लेख गर्दछन् – सामान्यतः एक सानो समूहद्वारा ठूलो साम्राज्यको स्थापना गरिन्छ र अधिनस्थ जनताले त्यो संस्कृतिलाई अपनाउँदछन्। साम्राज्यवादद्वारा संस्कृतिको विस्तार सीमान्त पार पनि भयो, जसको कारणले गर्दा विभिन्न संस्कृतिहरू घुलमिल भए। हरारीका अनुसार मानव प्रजातिको एकीकरण गर्ने पैसा र साम्राज्यको साथसाथै धर्म तेस्रो ठूलो शक्ति हो। धर्मले के बताउँदछ भने हाम्रा नियमकानून र विधिविधान मानवीय सोचको कारणले नभएर एक परम, सर्वोच्च सत्ताद्वारा दिइएका आदेशहरू हुन्। यसमा कम्तीमा केही आधारभूत नियमहरूलाई चुनौतीभन्दा पर राख्न र यसरी समाजको स्थिरता सुनिश्चित गर्नमा सहायता प्राप्त हुन्छ। धर्म र विश्वास प्रणालीहरूले मानव इतिहासमा एक महत्त्वपूर्ण भूमिका निभाए, जसले व्यक्ति र समाजको लागि नयाँ नैतिक मान्यता र मार्गदर्शक सिद्धान्त प्रदान गर्दछन्। हरारीका अनुसार परम्परागत धर्मको पतनको कारण राष्ट्रवाद र उपभोक्तावाद जस्ता नयाँ विश्वास प्रणालीहरूको उदय भएको हो।
यो पुस्तकको चौथो वा अन्तिममा भागमा हरारी वैज्ञानिक क्रान्तिको कुरा गर्दछन् । वैज्ञानिक क्रान्ति १६औं शताब्दीमा शुरु भएको थियो। यसको विशेषता वैज्ञानिक पद्धतिको विकास, अनुसन्धान र प्रयोग थियो। यसबाट मानव ज्ञान र बुद्धिमा महत्त्वपूर्ण प्रगति भयो। हरारीका अनुसार वैज्ञानिक क्रान्तिको महत्त्व कुन कुरामा निहित छ भने यसले मानिसलाई यसको माध्यमबाट उनीहरू आफ्नो क्षमतामा वृद्धि गर्न सक्दछन् भन्ने कुराको भरोसा दिलाएको छ। विज्ञानले के कुरा सावित गरेको छ भने आधुनिक जहाजसँग कैयौं गुना क्षमता हुन्छ, जसबाट युद्ध, व्यापार, जलमार्गीय खोज, आदि धेरै सहज र सरल क्षमतायुक्त तरीकाले गर्न सकिन्छ। विज्ञानले आधुनिक कम्प्यूटर मध्ययुगका प्रत्येक पुस्तकालयका सम्पूर्ण पाण्डुलिपिहरू र चिठ्ठीहरूलाई स्टोर गर्न सक्दछ र यसपछि पनि पर्याप्त ठाउँ बच्दछ भन्ने कुरा संभव बनायो। वैज्ञानिक क्रान्तिले कैयौं परम्परावादी मान्यताहरूलाई चुनौती दियो र भौतिकविज्ञान, चिकित्साविज्ञान, जीवविज्ञान, खगोलविज्ञान, रसायनविज्ञान, अन्तरीक्षविज्ञान, आदि जस्ता क्षेत्रहरूमा भएका नयाँ खोजहरू र ज्ञानलाई जन्म दियो। औद्योगिकीकरण र विश्वव्यापीकरणको उदयमा पनि यसको महत्त्वपूर्ण प्रभाव पर्नगयो। वैज्ञानिक क्रान्तिले मानिसलाई अन्तरिक्षमा पुर्यायो। विज्ञानले रोगहरूको कारण खोजी गरी मानिसहरूको जीवन संभावनालाई अझ बढायो। यसकारणले गर्दा राज्य, सरकार र धनी मानिसहरूले यसमाथि लगानी गरे। परिणामस्वरूप संसाधनहरूले शोधको उद्देश्यले धन उपलब्ध गराए, शोधको क्षमता बढ्यो, यो बढेको क्षमताले पुनः संसाधन उपलब्ध गरायो। यसरी वैज्ञानिक क्रान्ति पूँजीपतिहरू र साम्राज्यवादीहरूको हातमा नियन्त्रित भयो। हरारीका अनुसार वैज्ञानिक क्रान्ति ज्ञानको होइन, बरू अज्ञानको क्रान्ति भएको छ। वैज्ञानिक क्रान्तिको शुरुवात नै कुन आधारमा भएको छ भने मानिस आफ्ना सबभन्दा महत्त्वपूर्ण प्रश्नहरूको उत्तर जान्दैनन्। वैज्ञानिकहरूको सामान्य मान्यता के छ भने कुनै पनि सिद्धान्त शतप्रतिशत सही छैन। परिणामस्वरूप सत्य ज्ञानको एक कमजोर मापदण्ड हो। सन् १५०० पछि विज्ञान प्रविधिसँग जोडिन्छ, त्यसपछि यसले अथाह क्षमता र संभावनाहरू लिएर आउँछ। र, यी क्षमताहरूसँग नकारात्मक संभावनाहरूलाई पनि लिएर आउँछ। यति मात्र होइन, यसले आक्रामक हतियारहरूको निर्माणको साथसाथै प्रतिरक्षामा पनि महत्त्वपूर्ण भूमिका निभाउँदछ। आज धेरै मानिसहरू के मान्दछन् भने आतंकवादी समस्याको समाधान राजनीतिक तरीकाले होइन, बरू प्राविधिक तरीकाले निकाल्न सकिन्छ। यस्ता विभिन्न प्रविधिहरू अनन्त रूपमा नकारात्मक र सकारात्मक क्षमताहरूले लैस छन्। यसपछि हरारी यी प्रविधि, आदिको विकासलाई परिचित गराउँदछन् र सँगसँगै हामीलाई तिनीहरूबाट सावधान पनि गराउँदछन्। विज्ञानको मुख्य चिन्ता यसको विकास भन्दा पनि यसको प्रयोग गर्ने शक्तिहरूलाई लिएर हुन्छ। किनभने जुन शक्तिले यसको संचालन गरिरहेका छन्, यसको बहानामा उनीहरू आफ्नो लक्ष्यलाई पनि साँधिरहेका छन् र अन्ततः यसले पूँजीवादी व्यवस्थालाई नै बलियो बनाउनेछ। वैज्ञानिक र प्राविधिक प्रगतिले परम्परागत मान्यताहरू र आख्यानलाई चुनौती दिएको छ, जसबाट कथाकहानी र सांस्कृतिक अभिव्यक्तिको नयाँ रूप सामुन्ने आएको छ। उदाहरणको लागि सामाजिक संजाल र डिजिटल संचारको उदयले कहानीको लागि नयाँ प्लेटफर्म तयार गरेको छ र वैकल्पिक आख्यान र दृष्टिकोणलाई बढावा दिएको छ।
लेखकका अनुसार अझै मानिसले धेरै कुरा गर्न बाँकी छ। धेरै समस्याहरू देखा परिरहेका छन्। जनावरहरू र पर्यावरणमाथि मानवीय प्रभुत्वको महत्त्वपूर्ण नैतिक प्रभाव परेको छ र यही प्रभावको कारणले इकोसिस्टमको विनाश भएको छ र कैयौं प्रजातिहरू विलुप्त भएका छन्। वातावरण परिवर्तन भइरहेको छ। ओजोनतह क्षय भइरहेको छ र ग्लोबल वार्मिङ बढिरहेको छ। मानिसले यसमाथि काम गर्नुपर्नेछ। मानिसले प्रकृतिको रक्षा गर्ने र पर्यावरणमा मानिसद्वारा गरिएको हस्तक्षेपकारी कार्यहरूको प्रभावमाथि पनि विचार गर्ने जिम्वारी लिनुपर्दछ। त्यसैगरी संसारमा मानवताको सामु विनाशको खतरा पैदा गर्ने असमानता र विभेदलाई पनि रोक्नुपर्नेछ। नत्र भने अन्य जाति जस्तै होमो स्यापियन्स पनि खत्तम हुनेछन्।
यदि मानिसले नयाँ प्रविधिको विकास गर्न जारी राख्दछ र वैज्ञानिक ज्ञानका सीमाहरूलाई अगाडि बढाउँदछ भने यी प्रगतिका संभावित प्रभावहरूको बारेमा नैतिक विचार गरिनुपर्दछ। उदाहरणको लागि आनुवांशिक विज्ञान र कृत्रिम बौद्धिकतामा प्रगतिले जीवनको मूलभूत निर्माण खण्डसँगै खेल्ने संभावित परिणामहरूको बारेमा प्रश्न उठाउँदछ। खासमा भन्ने हो भने प्राविधिक प्रगति राम्रो हो तर यसका केही संभावित खतरा पनि छन्। यसको कारणले एक यस्तो संसार बन्नेछ, जहाँ मानिसको प्रभुत्व समाप्त हुन्छ र प्रविधि एक प्रभुत्वकारी शक्ति बन्नेछ। त्यसैले मानिसले नयाँ प्रविधिमा सावधानीपूर्वक विचार गर्नुपर्दछ। र, तिनीहरूको उपयोग नैतिक र जिम्मेवारपूर्ण तरीकाले गर्ने कुराको सुनिश्चिततासहित काम गर्नु आवश्यक हुन्छ।
हरारीका अनुसार कृत्रिम बौद्धिकता र जैव-प्रविधि जस्ता नयाँ प्रविधिहरूको उदयले एउटा यस्तो भविष्यतिर लैजान सक्दछ, जसमा मानिस प्रभुत्वकारी शक्ति रहँदैन। उनका अनुसार मानिसले यी प्रविधिका संभावित परिणामहरूमाथि विचार गर्ने र तिनीहरूको उपयोग मानवताको हितको लागि होस् भन्ने कुरा सुनिश्चित गर्नको लागि काम गर्न आवश्यक छ। विश्वव्यापीकरणको उदय र डिजिटल संचारको प्रसारसहित प्राविधिक प्रगतिको मानव समाजमा महत्त्वपूर्ण प्रभाव परेको छ। हरारीका अनुसार यी परिवर्तनहरूले मानव समाजको लागि नयाँ चुनौतीहरू पैदा गरेका छन्। उदाहरणस्वरूप असमानतामा वृद्धि र परम्परागत सांस्कृतिक मूल्यमान्तयाहरूमा ह्रास, आदिलाई लिन सकिन्छ। हरारीका अनुसार मानिसले प्राविधिक प्रगगतिको संभावित परिणामको उपयोग मानवीय हितमा गर्नको लागि नैतिक र राजनीतिक शासनका नयाँ रूपहरूको आवश्यकता हुनसक्दछ। साथै मानिस र प्रविधिको बीचमा सम्बन्धको बारेमा सोच्नको लागि अझै धेरै समग्र दृष्टिकोणको आवश्यकता हुनसक्दछ।
यसरी हरारीले स्यापियन्स (मानव जातिको संक्षिप्त इतिहास) मा मानव सभ्यताको एक व्यापक इतिहास प्रस्तुत गरेका छन्। उनले यसमा हजारौं वर्षको समयमा मानव समाजलाई आकार दिएका प्रमुख विकास र परिवर्तनहरूको बारेमा बताएका छन्। उनले यसमा मानव जीवनलाई आमूल परिवर्तन गर्ने संज्ञानात्मक क्रान्ति, कृषि क्रान्ति र वैज्ञानिक क्रान्तिको बारेमा स्पष्ट रूपमा बताएका छन्। उनले यसमा कहानी र साझा काल्पनिक वास्तविकताले मानव संस्कृति र पहिचानमा भूमिका खेलेको कुरालाई पनि महत्त्वपूर्ण ढंगले प्रस्तुत गरेका छन्। यो पुस्तकले मानव इतिहासको विश्लेषण र भविष्यको लागि यसको परिणामको बारेमा धेरै संक्षिप्त ढंगले उल्लेख गरेको छ। यो पुस्तकमा उनले धेरै जटिल विषय र विचारहरूलाई पनि सरल, सहज र आकर्षक ढंगले मानिसहरूको सामु पस्केका छन्। यसको अतिरिक्त यसले मानव समाजको प्रकृति र प्राकृतिक संसारसँग हाम्रो सम्बन्धसँगै मानवताको भविष्यलाई आकार दिनमा प्रविधि र वैज्ञानिक प्रगितको भूमिकाको बारेमा महत्त्वपूर्ण कुरा गरेको छ।
यसरी हरारीको यो पुस्तकलाई इतिहासको प्रक्रियालाई संज्ञानात्मक क्रान्ति, कृषि क्रान्ति र वैज्ञानिक क्रान्ति गरी तीन महत्त्वपूर्ण क्रान्तिहरूले आकार दिएका छन्। आजभन्दा ५०० वर्ष पहिले शुरु भएको वैज्ञानिक क्रान्तिले इतिहासलाई खत्तम गर्न पनि सक्दछ र कुनै पूर्ण रूपले भिन्न चीजको शुरुवात गर्न सक्दछ। यसप्रकार यो पुस्तकलाई एक अद्वितीय पुस्तकको रूपमा लिइन्छ। अति प्राचीन समयदेखि लिएर आधुनिक युगसम्म मानव जातिको विकासलाई यसले रोचक ढंगले व्याख्या र विश्लेषण गरेको छ। मानव जातिको शुरुवातदेखि लिएर भविष्यसम्मका हरेक महत्त्वपूर्ण तथ्यहरूलाई संकलन गर्दै लेखकले यो पुस्तकलाई एक दस्तावेजको रूपमा विकास गरेका छन्। लेखकले मानिसका स्वभावहरूका पक्षहरूलाई पनि वैज्ञानिक ढंगले प्रस्तुत गरेका छन्। सेपियन्सले संसारमा मानिसको स्थान र आउने पुस्ताप्रति मानिसको जिम्मेवारीको बारेमा गहिराइपूर्वक सोच्नको लागि चुनौती दिएको छ। यसले जटिल शक्तिलाई बुझ्नको लागि एक शक्तिशाली ढाँचा प्रदान गरेको छ। यसले मानव इतिहासलाई आकार दिनुका साथै मानव जातिको वर्तमान र भविष्यलाई आकार दिने कामलाई पनि निरन्तरता दिएको छ।
References :