काठमाडौँ, १९ कार्तिक । नेपाल र ओमानका बिचमा प्रतिस्पर्धा हुदैँछ ।
आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आज ओमानसँग खेल्न लागेको हो ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित खेल मैदानमा सो प्रतिस्पर्धा हुनेछ । जसअनुसार सो खेल आइतबार बिहान ११ बजेबाट सुरु हुनेछ ।
छनौट प्रतियोगिताको फाइनल पुगेका नेपाल र ओमानले टी–२० विश्वकपमा स्थान भने यसअघि नै पक्का गरिसकेका छन् ।
नेपालले संयुक्त अरब ईमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै तथा ओमानले बहराइनलाई १० विकेटले हराएर आज हुने फाइनलका लागि स्थान बनाएर प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।
यसैबिच, नेपाल क्रिकेट सङ्घले आज हुने फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने भएको छ ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार राती गएको भूकम्प परी ज्यान गुमाएका तथा घाइते परिवारलाई उक्त रकम दिइने क्यानले जनाएको छ ।
‘आइसिसी टी २० विश्वकप २०२४ को एसिया छनौट अन्तर्गत आइतबार हुने नेपाल र ओमान बिच फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भूकम्प पीडितको सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछौँ’ क्यानले भनेको छ ।
क्यानले मृतक प्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।