Gyaan Ghar

Advertisement

दर्शन भनेको के हो ?

*
* रामराज रेग्मी
दर्शन शब्द संस्कृत भाषाको ‘दृश’ धातुबाट बनेको हो । यसको अर्थ हेर्नु तथा बुझ्नु भन्ने हुन्छ । संस्कृतमा दर्शनलाई यसरी परिभाषित गरिएको छ, ‘दृश्यते अनेन इति दर्शनम्’ अर्थात् जसको सहयोगबाट देखिन्छ, त्यो दर्शन हो । यसो भन्दा आँखाको सहयोगबाट देखिने हुनाले त्यो दर्शन हुने भयो भन्ने तर्क आउन सक्छ । तर, यहाँ भन्न खोजिएको आँखालाई होइन, गहिरो ज्ञान दृष्टिलाई हो । प्राचीन संस्कृत साहित्यले दर्शनलाई गहिरो ज्ञान दृष्टिको अर्थमा लिएको छ ।
अङ्ग्रेजीमा दर्शनलाई Philosophy भनिन्छ । यसमा दुई शब्द Philos र Sophy को मिलन भएको छ । ग्रीक भाषामा Philos को शाब्दिक अर्थ मोह र Sophy अर्थ विवेक हुन्छ । यस कारण Philosophy को अर्थ हुन्छ, विवेक अथवा ज्ञानप्रतिको मोह । यस परिभाषामा ग्रिसेली दार्शनिक पाइथागोरससँग सम्बन्धित एक पौराणिक कथा Mythology पनि जोडिएको छ । उनले एउटा प्रसङ्गमा भनेका थिए, म बुद्धिमान त छैन, तर बौद्धिक विचारप्रति मेरो मोह छ ।ू पश्चिमी जगत्मा उनको त्यही भनाइलाई आधार बनाएर केही समयसम्म दर्शनशास्त्रको परिभाषा दिइयो र दर्शनशास्त्रलाई ‘विस्तृत ज्ञान भण्डार’ को अर्थमा बुझियो [Spirkin, 1983 : 1] ।
प्राचीन समयमा ज्ञानको दायरा साँघुरो रहेको र जानकारीमा आएका विषयवस्तु साह्रै नै थोरै हुने भएकाले जानकारीमा आएका जति सबै विषयहरूलाई दर्शनको रूपमा लिइएको थियो । डेकार्टले दर्शनशास्त्रलाई एउटा वृक्षको रूपमा प्रस्तुत गरेका थिए । जसमा तत्त्व विज्ञानलाई त्यसको जरा, भौतिक शास्त्रलाई फेद र अन्य विभिन्न विषयहरूलाई हाँगाबिँगाका रूपमा देखाइएको थियो । त्यही विश्लेषणका आधारमा युरोपेली समाजमा न्युटनको गणित शास्त्र, लिनियसको वनस्पति शास्त्र, ला मार्कको जीव शास्त्र यस्तै अन्य विषयहरू दर्शनअन्तर्गत गनिएका थिए [Spirkin, 1983 : 1] । तर, पछिल्लो अवधिमा भने समयको विकाससँगै विभिन्न खोजी र वैज्ञानिक आविष्कारहरूले गर्दा ज्ञानका धेरै हाँगाबिँगाहरू देखा पर्न थालेकाले दर्शनशास्त्रलाई त्यसरी विस्तृत ज्ञान भण्डारको रूपमा नलिई एउटा विशेष ज्ञानको क्षेत्रको रूपमा लिन थालिएको छ ।
मानिस सामाजिक प्राणी हो । ऊ जङ्गलमा वा निर्जन स्थलमा एक्लै बस्न सक्दैन । जहाँ धेरै मानिसहरू बस्छन्, ऊ त्यही नै बसोबास गर्दछ । समाजमा बसेपछि आफ्नो परिवेश र राष्ट्रका घटनाहरू ऊसङ सम्बन्धित हुन्छन् । उसले मानिसलगायत जीवित प्राणीहरू जन्मेको, हुर्केको र मरेको देख्दछ । समाज भूगोलमा बन्ने हुनाले मानिस केवल सामाजिक घटनासँग मात्र सम्बन्धित हुँदैन । ऊ प्राकृतिक घटनाको सम्पर्कमा पनि आउँछ । कहिले राति आकाशमा जून लाग्ने त कहिले चकमन्न अन्धकार छाउने, कहिले घाम लाग्ने त कहिले फेरि दिनभर बादल लागेर घामको मुख देख्न नपाइने, कहिले घनघोर पानी पर्ने त कहिले खडेरी लागेर अन्नबाली ओइलाउने यस्तै यस्तै विविध घटनाहरू उसले देख्दछ ।
समाजमा कुनै मानिस परिश्रम नगरी मोज मस्तीका साथ जिउने गरेको र कोही रातदिन काममा घोट्टिदा पनि हातमुख जोर्न नसकेको पनि देख्दछ । उसको मनमा यसरी थरी थरीका घटनाहरू के–कति कारणले घट्दछन् र समाजमा किन एकरूपता नभएको होला भन्ने प्रश्न र जिज्ञासाहरू पनि उठ्दछन् । यी यावत् विषयहरूमा आफ्नो चेतना र समझअनुसार मानिसले एक प्रकारको धारणा बनाउँछ । दर्शन भनेको त्यही नै हो । अर्थात् दर्शन भनेको जीवन र जगत्लाई हेर्ने विश्व दृष्टिकोण [Worlk View] हो ।
दर्शनअन्तर्गत मानिसका विभिन्न प्रकारका विश्वास, राजनीतिक एवम् सामाजिक अवधारणा र आचार तथा नीतिका विषयहरू समेटिएका हुन्छन् । संसारको उत्पत्ति कसरी भयो, प्रकृतिमा के कस्ता नियमहरू छन्, प्रकृति र मानिसबिच के कस्तो सम्बन्ध छ, मानिसको सृष्टि कसरी भयो, मानव समाज कसरी विकसित हुँदै आएको छ र अब मानिस कसरी अघि बढ्ला आदि सवालहरूको अध्ययन हामी दर्शन अन्तर्गत गर्दछौँ । दर्शन मानिससँग जोडिएर रहने विषय हो । दर्शनले प्रत्येक व्यक्तिलाई प्रभावित गरेको हुन्छ ।
एउटा साधारण मानिसले पनि जानी नजानी दर्शनलाई व्यवहारतः अपनाइरहेको हुन्छ । यदि तपाईँले एउटा लठेउरो व्यक्तिलाई हेप्नुभयो भने ऊ तपाईँसँग रिसाउँछ । तर, यदि प्रेमपूर्वक व्यवहार गर्नुभयो भने ऊ खुसी हुन्छ । यो उसको तपाईँको व्यवहारलाई हेर्ने दर्शन वा दृष्टिकोण हो । कोही मानिस भन्दछन् कि यो संसार माया जाल हो, यहाँ तेरो र मेरो भन्नु केही छैन, सबैले एक दिन मर्नै पर्छ । त्यसैले हामी सबैले दान पुण्य गरी मरेपछि स्वर्गमा आनन्दपूर्वक जिउने उपाय गर्नुपर्दछ । यो पनि धर्ममा आस्था राख्ने मानिसको एक प्रकारको दर्शन हो । अर्का थरी मानिसहरू भन्दछन् कि जसरी हुन्छ, प्रत्येकले आफूलाई सुखी र समृद्ध बनाउने प्रयत्न गर्नुपर्दछ । उनीहरूको थेगो हुन्छ, आफू भलो त जगत् भलो । यो पनि एउटा दर्शन अथवा विश्व दृष्टिकोण नै हो ।
दर्शनले विज्ञानका विभिन्न विषयलाई र सामाजिक अध्ययनलाई मार्ग निर्देशन गर्दछ । शास्त्रीय जर्मन दार्शनिक हेगेलले दर्शनलाई सत्यको संज्ञान भनेका छन् । एङ्गेल्सले दर्शन भनेको चिन्तन र सत्ताको सम्बन्ध हो भनेका छन् । यहाँ सत्तालाई राजनीतिक शक्तिको अर्थमा लिइएको छैन । सत्ता भनेको विश्वको अस्तित्व हो, जसअन्तर्गत प्रकृति र समाज पर्दछन् (किरण, २०६७ ः ५) । एड्गेल्सको यो भनाइ दर्शनको परिभाषासँग मेल खान्छ । किनभने, चिन्तन र सांसारिक अस्तित्वको सम्बन्ध भएपछि मानिसले जगत्, त्यसमा भएका वस्तु र पदार्थको एकत्व, जगत्को विकासका नियमहरू र तिनको चरित्रसम्बन्धी सारतत्त्व र बाटाहरू पहिल्याउन सक्दछ ।
प्रत्येक सामाजिक चरणमा दर्शनहरू प्रादुर्भाव भएका छन् । ती आफ्नो समयका बौद्धिक निष्कर्षहरू हुन् । मानव जातिलाई आदिम कालदेखि नै संसारमा घट्ने विविध घटनाहरूले जिज्ञासु बनाएको पाइन्छ । हुरी, बतास, वर्षा, खडेरी, जाडो, गर्मी, उज्यालो, अँध्यारो, भूकम्प, ज्वारभाटा, चट्याङ, असिना आदि कुराहरूले उसलाई आश्चर्यचकित तुल्याएको बुझिन्छ । आदिम कालदेखि नै मानिसले विभिन्न घटनाहरूको सम्बन्धमा प्रश्नको उत्तर खोज्ने प्रयास गर्दै आएको थियो । वेदमा आदिम आर्यहरूले सांसारिक घटनाक्रमलाई लिएर प्रश्न सोध्ने गरेका जिज्ञासा राख्ने गरेका, संशय व्यक्त गरेका आदि दृष्टान्तहरू भेटिएका छन् ।
मानिस र पशुपन्छी जन्मिने र मर्ने, सूर्य उदाएपछि उज्यालो हुने, अस्ताएपछि अँध्यारो छाउने, दिउँसो निर्मल र स्वच्छ भइरहेको आकाशमा एक्कासि बादल देखा पर्ने, हेर्दाहेर्दै गड्याङगुडुङका साथ बिजुली चम्किने र पानी पर्ने, कहिले निकै धेरै पानी परेर बाढी आउने त कहिले खडेरी परेर भइरहेका पानीका स्रोत कुवा, इनार, पोखरी, खोलानाला सबै सुक्ने आदि घटनाहरू आदिम आर्यगणका निम्ति कौतुहलतापूर्ण गतिविधि थिए । तिनलाई अनुभव गरी गणका बुद्धिवान् व्यक्तिहरूले एक खालको धारणा बनाउँथे र फेरि आफ्नै धारणामाथि शङ्का व्यक्त गर्दथे । ऋग्वेदमा इन्द्र को हुन् भनी प्रश्न गरिएको, उनको अस्तित्वबारे शङ्का गरिएको र फेरि इन्द्र नभए कसलाई पूजा गर्ने भनी पिरोलिएको प्रसङ्ग पाइन्छ (दामोदरन, १९८२ ः ४३) । यस्तै विभिन्न खोजीको क्रममा नै दर्शनको प्रादुर्भाव भएको हो ।
दर्शन स्थिर हुँदैन । समयको प्रवाहसँगै त्यो गतिशील हुन्छ । सुरुका मानिसहरूको दृष्टिकोण हाम्रा लागि निम्न श्रेणीका लाग्छन् । जति समय अघि बढ्दै गयो नयाँ नयाँ दर्शनहरू अस्तित्वमा आएका र ती अपेक्षाकृत रूपमा परिमार्जित हुँदै गएका छन् । पछिल्लो समयका दर्शन पुराना समयका भन्दा प्रगतिशील हुन्छन् भन्ने हुँदैन । पछिका दर्शन पनि पुरानो समयका दर्शनभन्दा प्रतिक्रियावादी र जनविरोधी हुन सक्छन् । पूर्वीय समाजमा वैदिककामा दर्शन अन्धविश्वासपूर्ण भए पनि त्यो कतिपय सवालमा भौतिक जगत्लाई महत्त्व दिने खालको थियो । पछिल्लो उपनिषद् कालमा भौतिक जगत्लाई महत्त्व दिने र आध्यात्मिक चरित्र ग्रहण गर्ने दुई थरी दर्शनहरू अस्तित्वमा आए ।
दर्शन भनेपछि सबै सकारात्मक नै हुन्छन् भन्ने पनि हुँदैन । संसारमा राम्रा र नराम्रा, सही र गलत दुवै थरी दर्शनहरू छन् । सही दर्शन लिनेको दृष्टिकोण राम्रो हुन्छ भने गलत दर्शन अङ्गाल्नेको दृष्टिकोण सङ्कीर्ण र छुद्र हुन्छ । प्रत्येक विषयवस्तु सामान्यदेखि लिएर अति गहन एवम् विशिष्टसम्मका हुन्छन् । दर्शन पनि त्यस्तै हो । यस संसारमा सामान्य नागरिकका दर्शनदेखि लिएर उच्च कोटीका गहिरा दर्शनहरूको प्रादुर्भाव भएको छ । हामीमध्ये कतिपयले उच्च कोटीका दर्शनहरू निकै ठुला विद्वान्का दिमागका उपज हुन् भनी सोच्ने गर्दछौँ । निश्चय नै दर्शनको जन्म ठुला विद्वान् र विचारकहरूको कलमबाट नै हुन्छ । तर, तिनले लेखोटमा उतार्ने विचारको पृष्ठभूमि सामाजिक परिवेश हो । समाजमा विद्यमान परिघटना र सामाजिक सम्बन्ध नै दर्शनका आधारहरू हुन् । एकान्तमा बस्ने व्यक्तिले कुनै कुराको जानकारी पाएको हुँदैन । त्यस कारण दर्शनहरू दार्शनिकका खोपडीबाट बनिबनाउ अवस्थामा जन्मिँदैनन् [Conforth]।
दर्शन सम्पूर्ण विषयको आधारशिला हो । जहाँसम्म दर्शन र राजनीतिको सवाल छ, यी दुई विषय एक–आपसमा अन्तरसम्बन्धसित र अन्तर निर्भर छन् । दर्शनले राजनीतिलाई मार्ग निर्देशन गर्दछ भने राजनीतिले दर्शनलाई सहयोग र संरक्षण गर्दछ । प्राचीन पूर्वीय समाजमा राजा महाराजाहरूले राजकाज चलाउनका लागि दर्शनको जानकारी लिन थुप्रै विद्वान्हरूलाई राजदरबारमा आमन्त्रण गर्दथे । याज्ञवल्क्य, अष्टावक्र, मैत्रेयी, गार्गीजस्ता विद्वान् तथा दार्शनिकहरू राजा जनकको दरबारमा जम्मा भएर शास्त्रार्थ गरेका र विजेतालाई राजाले इनामको व्यवस्था गरेका अथवा विजेताले पराजितलाई दण्ड जरिवाना गरेका कैयौँ प्रसङ्गहरू भेटिएका छन् ।
आफूलाई दर्शनको ज्ञान दिने विद्वानहरूलाई राजाले पशुधन र भूमि उपलब्ध गराउँथे । एउटै व्यक्ति दार्शनिक र राजनीतिज्ञ दुवै भएका उदाहरणहरू पनि इतिहासमा थुप्रै पाइन्छन् । प्राचीन पाश्चात्य दार्शनिक प्लेटो राजनीतिज्ञ पनि थिए । त्यस्तै व्यास पनि दार्शनिक र राजनीतिज्ञ दुवै थिए । दार्शनिकको रूपमा उनले वेदान्त दर्शन लेखे भने राजनीतिज्ञको रूपमा महाभारतको रचना गरे । सर्वहारा वर्गका नेता कार्ल मार्क्सले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई जन्म दिए । राजनीतिज्ञको रूपमा उनले कम्युनिस्ट पार्टीको घोषणापत्र तयार गरी मजदुरहरूलाई पुँजीपति वर्गका विरुद्ध सङ्गठित गरे । समाजमा यस्ता उदाहरणहरू थुप्रै पाउन सकिन्छ ।
दर्शनको सम्बन्धमा अक्सर सामान्य मानिसहरू के सोच्ने गर्दछन् भने यो भनेको अति नै बौद्धिक मानिसको अध्ययनको विषय हो । दर्शनसम्बन्धी कुराहरू बुझ्न गाह्रो हुने हुनाले यस्तो सोचाइ विकसित भएको हुनुपर्दछ । दर्शनको विषयमा कलम चलाउनेहरूले निकै क्लिष्ट र कठिन भाषामा यसलाई व्यक्त गर्ने गरेका छन् । लेनिनले बर्कलेका विचारहरूलाई छिपाउनका लागि तरह तरहका पण्डित्याइँ छांटने दार्शनिकहरूको कट्टर आलोचना गरेका छन् (चट्टोपाध्याय, २००७ ः २) । तर विडम्बना, जनताको पक्षमा कलम चलाउनेहरूले पनि आज यही क्लिष्ट शैली अपनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

आगलागीको अफवाह पछि रेलबाट हाम फाल्दा मुम्बइमा मृत्युको हुनेकाे सङ्ख्या १३ पुग्यो

आगलागीको अफवाह पछि रेलबाट हाम फाल्दा मुम्बइमा मृत्युको हुनेकाे सङ्ख्या १३ पुग्यो

मुम्बई, १० माघ । महाराष्ट्रको जलगाउँमा एउटा अफवाहले १३ जनाको ज्यान लिएको छ ।   बुधवार साँझ उत्तर महाराष्ट्र...
रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

काठमाडौँ - स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढङ्गले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर...
इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

गाजा, ९ माघ । इजरायली जेलबाट मुक्त हुनेमा एक प्यालेस्टाइनी वामपन्थी नेता पनि रहेकी छिन् । उनको नाम खालिदा जरार हो, ...
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

वासिंगटन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसद्को ४७ औँ राष्ट्रपतिको रूपमा ...