Gyaan Ghar

Home

सुनारनी फुपूको स्तनपान गर्दै हुर्किएका चित्रबहादुर

गोठालो जीवन
वि.सं.१९९७ साल माघ २० गते बागलुङको मल्म गाविस, गल्याङमा जन्मिए, चित्रबहादुर के.सी. । बुवा नरेश्वर उपाध्याय र आमा पार्वती के.सी.को कोखबाट माइलो छोरोको रूपमा जन्मिएका चित्रबहादुरको बाल्यकाल, गोठालो भएरै बित्यो । घरभन्दा केही टाढा रहेको गोठमा १२÷१३ वटा गाई गोरु स्याहार सुसार गर्ने जिम्मेवारी थियो, उनलाई । उनी भन्छन्, ‘८ वर्षको उमेरमा गाई गोठाला भए । दिनभरि जङ्गलमा गाई चराउन जान्थे । अनि बेलुका सबैलाई गोठमा हुल्थे ।’ फुच्चे ८ वर्षको केटोलाई गाई गोरु बाँध्न निकै कठिनाइ हुन्थ्यो । अनि वरिपरि बाटोमा हिँड्ने मानिसलाई रोइ कराई गुहार्थे, उनी ।
एक दिन जङ्गलमा गाई गोरु चराउन गएको बेला पानीमा भिजेर कपडा सबै निथ्रुक्क भएछन् । भिजेको कपडा सुकाउन मुढामा आगो बालेर कपडा सुकाउन झुन्डाएछन् । केटाकेटीको कपडा मयल र पसिनाले नुनिलो हुँदा गाई गोरुलाई एकदम मन पर्ने । सबै गाई बाँधिए पनि कालु गाई बाँध्न बिर्सेको, त्यही गाईले चित्रबहादुरको दौरा खाइदिएछ । यो घटनाले उनलाई निकै चिन्तित बनायो । रातभरि नाङ्गै बसे अनि भोलीपल्ट घर रुँदै घर पुगे ।
 कपडा गाईले खाएपछि के लगाउने ? कपडा सिलाउन केही दिन लाग्थ्यो । अरूको मागेर भए पनि कहिदिनको समस्या टरेको, उनी बताउँछन् ।
दलित बस्तीमा घुलमिल
चित्रबहादुर बस्ने गोठको वरिपरि दलित बस्ती थियो । ती बस्तीहरूमा जे पाकेको हुन्थ्यो, त्यही खाएर उनको जीविका चल्थ्यो । त्यो बेला नुनको एकदमै अभाव हुन्थ्यो । ‘नुन नहालेको सिस्नो, सिम साग पकाएर छिमेकीहरूले दिन्थे, अनि त्यही खान्थे ।’ उनी भन्छन् –‘दलितको घरमा केही खानु अपराध मान्ने प्रचलन थियो । तर त्यति गरिब भएर पनि मलाई एकदमै माया गरेको देख्दा म उनीहरूसँग टाढा हुन सक्दैनथे ।’
गाई गोरुसँग उनको कति माया थियो, त्यसको एउटा घटना सुनाउँदै उनी भन्छन्, ‘बुवाले २५ रुपैयाँमा एउटा कालु गोरु किन्नु भयो । एक दिन गोरु खेतबाट खस्यो । त्यो बेला त गोरु घाइते मात्रै भयो । पछि त्यही गोरु भिरबाट लडेर मर्‍यो ।’ उनी भन्छन्, ‘गोरु बुढो भएर मरेको भन्ने मलाई चेतना भएन । त्यो कुराले मलाई निकै चिन्तित बनायो । म रुँदै घर गए । पछि बुवाले धेरै सम्झाउनु भयो ।’
विद्रोही स्वभाव
आफ्नो विद्रोही स्वभावको बारेमा चर्चा गर्दै उनी भन्छन्, ‘बाहुन गाउँमा कपाल पाल्ने प्रचलन थिएन । तर मैले कपाल पाले । त्यसको धेरै विरोध भयो । भाइ बैनीले पनि मसँग रिस उठ्यो भने मेरो कपाल तान्ने गर्दथे । कपाल पाल्यो भने मुसलमान भइन्छ भन्ने गरिन्थ्यो ।’ उनी भन्छन्, ‘त्यो बेलाको समय र परिस्थितिमा कपाल पाल्नु पनि ठुलो विद्रोह थियो ।’
‘बाहुन गाऊ भएकोले कुखुराको अण्डा खान पनि पाइदैन्थ्यो । कसैले अण्डा खायो भने छिमेकी तथा दाजुभाइले निकै विरोध गर्दथे ।’ चित्रबहादुर भन्छन्,– ‘गाउँको त्यस प्रकारको प्रचलन भए पनि म कुखुराको अण्डा खाने गर्दथे । त्यो पनि एक प्रकारको विद्रोह थियो ।’
सुनारनी फुपू
चित्रबहादुर हुर्केको गाऊ, बाहुन गाऊ भएकोले छुवाछुत प्रथा एकदमै व्यापक थियो । दलितहरूले छोएको नखाने, पानी नचल्ने, सँगै हिँडडुल गर्न नहुने प्रचलन थियो । यती धेरै असमानता हुँदा पनि दलितहरूसँग कसरी यती धेरै हेलमेल भयो भन्दा उनले सुनारनी फुपूको कुरा सुनाए । भन्छन्, ‘एक जना सुनारनी फुपै हाम्रो घरमा काम गर्थिन् । एकदम सिधा र इमानदार । मेरो आमाबाट दूध आउँदो रहेनछ । अनि तीनै फुपैको दूध खाएर म हुर्के । उनले मलाई धेरै दिन आफ्नो दूध खुवाइन ।’ उनी अगाडि भन्छन्, ‘एउटी दलित फुपैको दूध खाएर पनि म दलित जातिसँग बढी घुलमिल भएको हो कि ?’
चित्रबहादुरको साथी भनेको तीनै फुपूको छोरा, जसलाई उनी कान्छा दाइ भन्थे सँग भयो । त्यो दाइ सँग खेलिरहने । फुपैको घर गएर पास, माछा झिक्दै खाने । यसरी नै उनको बाल्यकाल बित्दै गयो । बाहुन गाउँको छुवाछुत प्रचलनले उनलाई कत्ती पनि छोएन ।
१४ वर्षको उमेरमा चित्रबहादुरको पार्वती के.सी.सँग बिहे भयो । उनको आमाको पनि पार्वती अनि दुलहीको नाम पनि पार्वती । बिहेपछि त दलित बस्तीसँग घुलमिल हुनेमा झनै कडाइ हुन्थ्यो । जनै लगाएको, व्रतबन्ध गरेका मान्छे दलितसँग घुलमिल गर्नै हुन्न भनिन्थ्यो । बिहेपछि पनि चित्रबहादुरको दलित घरपरिवारसँग आत्मीयता झनै बढ्यो । उनीहरूको घरमा आउने, जाने, खाने गरिरहे । चित्रबहादुर भन्छन्,‘बुवा आमा रिसाउने गर्नुहुन्थ्यो । जात जान्छ, सँगै हिँड्न हुँदैन भन्नुहुन्थ्यो । तर मेरो मनले कहाँ मान्थ्यो र ।’
काठमाडौँ यात्रा 
वि.सं. २०१४ सालमा उनी भारतको पल्टनको लागि नापिए । एकदमै चौडा छाती भएका हृष्टपुष्ट शरीर भएका चित्रबहादुर छनौट नहुने कुरै थिएन ।  पल्टनमा छनोट भएपछि उनी इन्डिया जाने कुरा थियो । बागलुङ बजार गएर नुन साटेर ल्याउने अनि इन्डिया जाने निधो थियो ।
त्यही बेला केआईसिंह प्रधानमन्त्री भएपछि गलकोट राज्य उन्मुलन गरिदिए । राज्य उन्मुलन भए पनि देवानी अड्डा गलकोट नै हुनुपर्दछ भनेर बिन्ती पत्र चढाउन ६ जनाको प्रतिनिधि काठमाडौँ जाने कुरा भयो । चित्रबहादुरका बुवा गलकोटे राजाका भान्से बाहुन भएकाले उनी पनि प्रतिनिधिमा छानिए ।
चित्रबहादुर भन्छन्, ‘मेरा बा गलकोट राजाको बाहुन भान्से भएपछि आफूलाई ठुलो मान्छे ठान्नुहुन्थ्यो । भरिया नपाएपछि बागलुङ बजारमा नुन साट्न गएको मलाई पोखरासम्म भारी बोकेर जान भन्नुभयो । पोखरा देख्न पाउने भएपछि म पनि खुसी भए ।’ उनी भन्छन्,‘पोखरा पुगेपछि बा ले फेरि काठमाडौँसम्म जाने भन्नुभयो । पोखराबाट काठमाडौँको प्लेन भाडा ६० रुपैयाँ लाग्थ्यो । अनि प्लेन चढेर भाडा काठमाडौँ पुगियो ।’
गलकोटे राजाको घरमा बसाई
काठमाडौँ आएर नक्सालमा रहेको गलकोटे राजाको घरमा उनी बसे । त्यसरी केही दिन त्यहाँ बस्दा गलकोटे राजा, भरत बमको रानी चैतन्यले मेरो बालाई ‘तिम्रो छोरा म पढाई दिन्छु यही काठमाडौँ छोडेर जाऊ भनिन्’ । चित्रबहादुर भन्छन् ‘रानीले भनेपछि बा ले नाइँ भन्ने कुरै भएन । अनि म काठमाडौँ बस्न थाले ।’
‘काठमाडौँ बस्न थालेपछि मेरो दुःखको दिन सुरु भयो । बिहानै देखि राती १२÷१ बजेसम्म भाँडा माझेको माझै गरे । दिउँसो ३ बजे गन्हाउने चामलको भात दिने गर्दथे । काम दिनभरि गराउने तर पेटभरि खान नदिने । पढाउने त कुरै छैन ।’ चित्रबहादुर भन्छन् – ‘त्यो दरबारमा बस्दा मानिसले मानिसलाई कसरी शोषण गर्दछ ? भन्ने थाहा भयो । मान्छे कति रुखो हुन्छ ? कति अन्याय गर्दछ ? भन्ने मैले राम्ररी बुझे ।’
गलकोटे राजाको घरमा बस्दा धेरै दुःख भएपछि चित्रबहादुरले आमालाई ‘म बितरा परे, बाटो खर्च पठाइदिनुस्’ भनेर चिठी लेखे । आमाले कानको सुन पठाइदिनुभयो । त्यो बेच्दा ३९८ रुपैयाँ आयो । चित्रबहादुर भन्छन्, ‘सुन बेचेपछि मलाई घर जान मन लागेन । मलाई काठमाडौँ  मै पढ्ने मन लाग्यो ।’ उनी भन्छन्, ‘स्कुल खोज्दै जाँदा मैलै नन्दी रात्रि स्कुल भेटाए र त्यही भर्ना भए ।
सुन बेचेर आएको पैसा मध्ये ६५ रुपैयाँ घर जाने भाडाको रूपमा चित्रबहादुरले लुकाएर राखे । बाँकी पैसा पढ्नको लागि छुट्टाए । पैसा नसकिँदासम्म काठमाडौँ  मै बसेर पढ्ने उनले निधो गरे । अनि पहिलो वर्षको पढाई सकेर घर गए । दोस्रो वर्ष सकेर फेरि घर गए । तीन वर्षमा उनले एसएलसी पुरा गरे ।
सिद्धिमान सँग सङ्गत र राजनीति 
नन्दी स्कुलमा पढ्दै गर्दा उनको प्युठानका सिद्धिमान जि.सी.सँग सङ्गत भयो । एकदमै माया गर्दथे, सिद्धिमानले चित्रबहादुरलाई । सिद्धिमान राजनीति बुझेको मान्छे थिए । प्युठानको किसान आन्दोलन तथा सदरमुकाम सार्ने आन्दोलनमा सहभागी भैसकेका थिए, सिद्धिमान । तर सिद्धिमानले कहिल्यै चित्रबहादुरसँग राजनीतिको कुरा गरेनन् । । चित्रबहादुर भन्छन्, ‘टुडीखेलमा घाम ताप्न जाने । सिद्धिमानले सुन्तला, बदाम मलाई फोकेर दिने गर्दथे । एकदमै माया गर्दथे । त्यस्तो माया गरेपछि हाम्रो घनिष्ठता एकदमै बढ्यो ।’ व्यक्तिगत घनिष्ठताकै आधारमा सिद्धिमानले चित्रबहादुरलाई राजनीतितर्फ जोड्दै गए ।
२०१४ सालमा पार्टी खुल्ला थियो । हनुमान ढोकामा कम्युनिस्ट पार्टीको कार्यालय थियो । त्यही वर्ष चित्रबहादुरले पार्टी सदस्यता पनि लिए ।  पार्टी सदस्य भएपछि विद्यार्थी सङ्गठनहरूमा पनि काम गर्न थाले । सिद्धिमान र चित्रबहादुर, विद्यार्थी सङ्गठनमा सक्रिय रूपमा लागे । नन्दी स्कुलमा विद्यार्थी आन्दोलन बढाउन उनीहरूको महत्त्वपूर्ण भूमिका रह्यो ।
२०१५ सालमा चित्रबहादुरको मोहनविक्रम सँग भेट भयो । कमलपोखरीमा एक रात मोहनविक्रमसँग सँगै बसेको चित्रबहादुर बताउँछन् । सिद्धिमान र मोहनविक्रमले एकान्तमा खुसुखुसु कुरा गरेको पनि चित्रबहादुरले सुनेछन् । सिद्धिमानले भनेछन्, ‘यो केटालाई राजनीतिमा जोड्यौ भने बागलुङमा सङ्गठन बनाउन सकिन्छ ।’
२०१७ सालमा एसएलसी दिने वेला चित्रबहादुर लगायत वामपन्थी विद्यार्थीहरूलाई वारेन्ट जारी भएका थियो । पुलिसहरू कोठामा आउने दुःख दिने गर्दथे । काँग्रेस विद्यार्थीसँग झगडा भएकाले त्यस प्रकारको वारेन्ट जारी भएको थियो । चित्रबहादुर भन्छन्, ‘राजा महेन्द्रले ०१७ सालको कु नगरेको भए मैले एसएलसी दिने स्थिति नै थिएन ।’
 एसएलसी सकिएपछि चित्रबहादुर बागलुङ फर्किए । स्कुलको मास्टरका साथै राजनीतिको बाँकी जीवन त्यहीबाट सुरु भएको बताउँछ, चित्रबहादुर के.सी.।
(चित्रबहादुर के.सी.सँग कुराकानीमा आधारित)
–समीर सिंह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
1
+1
4
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डस खेल्दै

टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डस खेल्दै

काठमाडौँ, २२ फागुन । जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डस बिच प्रतिस्पर्धा हुँदै छ। टियु मैदान...
मन्त्रालयको भागबन्डा आपसी सहमतिमा गर्ने, अन्य दलसँग संवाद अघि बढाउने

मन्त्रालयको भागबन्डा आपसी सहमतिमा गर्ने, अन्य दलसँग संवाद अघि बढाउने

काठमाडौँ, २१ फागुन । बालुवाटारमा बसेको नयाँ गठबन्धनका चार राजनीतिक दलबिच ८ बुँदे सहमति भएको छ। सोमबार साँझदेखि बस...
पूर्व गठबन्धनको विघटन गलत  : मसाल

पूर्व गठबन्धनको विघटन गलत  : मसाल

काठमाडौँ । नेकपा (मसाल)ले प्रतिगमन विरोधी गठबन्धन विघटन हुनुलाई गलत बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षर...
हैटीको जेलबाट ४ हजार कैदी फरार, १२ को मृत्यु, सरकारले लगायो सङ्कटकाल

हैटीको जेलबाट ४ हजार कैदी फरार, १२ को मृत्यु, सरकारले लगायो सङ्कटकाल

काठमाडौँ, २१ फागुन । क्यारेबियन देश हाइटीको सरकारले देशमा ७२ घण्टाको सङ्कटकाल घोषणा गरेको छ ।  एक सातादेखि जारी ह...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search