Gyaan Ghar

Home

बालबालिका, मानव चेतना र समाज निर्माण

* भाेलानाथ ढकाल
उपक्रम
 बालबालिका मानव सभ्यताको निरन्तरता हुन् । प्रत्येक प्राणीको निश्चित जीवनकाल हुन्छ । मान्छेको पनि त्यस्तै हुन्छ । एउटाको जीवनकाल सिद्धिन्छ । अर्काको सुरु हुन्छ । यो निरन्तर प्रक्रिया हो चलिरहन्छ । विगतमा पनि थियो । वर्तमानमा चलिरहेको छ । भविष्यमा पनि चलिरहनेछ । मानव सभ्यता रहेसम्म यो क्रम यसरी नै चलिरहनेछ ।
विस्तार 
बालक जन्मँदा तटस्थ भएर जन्मेका हुन्छन् । चञ्चलपन उसको स्वभाव हो । जात, भाषा, धर्म, संस्कृति क्षेत्र, दर्शन सम्प्रदायसँग उसको कुनै सरोकार हुँदैन । आफ्नै मानवीय मौलिक गुण मात्र ऊसँग हुन्छ । यस्तो मौलिक गुण लिएर जन्मेको बालक पछि गएर कसरी विविध धर्म, जात, जाति, भाषा भाषी, क्षेत्र सम्प्रदाय आदिमा विभक्त हुन्छन् ? यो महत्त्वपूर्ण कुरा छ । बालकले जन्मेपछि जस्तो वातावरण पायो ऊ त्यस्तै बन्छ । मान्छे भाषा, धर्म, संस्कृति, रीतिरिवाज, जातजाति, आदिमा विभाजित हुने गर्छ । जस्तो कि हिन्दु बाबुआमाबाट जन्मेको बालकलाई मुस्लिम सम्प्रदाय वा मुस्लिम बाबुआमालाई हुर्काउन दियौँ भने बालक पनि मुस्लिम नै बन्छ । भाषाका सवालमा पनि त्यस्तै हुन्छ ।
नेपाली बोल्ने आमाबाबुबाट जन्मेको बालकलाई अंग्रेजी बोल्ने समाज वा आमाबाबुलाई हुर्काउन दियौँ भने उसको मातृभाषा नै अङ्ग्रेजी हुन्छ । यसले के देखिन्छ भने जन्मँदा तटस्थ मानवीय भूमिका मात्र लिएर जन्मेको बालक फरक फरक परिवेशअनुसार हुर्कने क्रममा विविध, भाषा, धर्म, रीतिरिवाज, जातजाति सम्प्रदाय आदिमा विभक्त भएर हुर्कन्छ । यसरी बालक हुर्कँदा जुन वातावरण पाउँछ ऊ त्यसैअनुसार उसको जीवन बदलिँदै जान्छ ।
संसारमा भएका कतिपय मान्छेहरू नराम्रा पनि छन् । कतिपय मान्छेको जीवन सुखमय, सफल छ त कतिपयको दुःखमय वा असफल छ । कतिपय मान्छेलाई हामी राम्रा, असल, इमानदार मान्छौँ त कतिपयलाई नराम्रा, खराब र बेइमान मान्छौँ । त्यस्तै हामी हाम्रै वरिपरि भएका मान्छेलाई र उसकै वरिपरि बस्न मन पराउँछौँ । कतिपय मान्छेलाई देख्दै रिस उठ्छ । ऊसँग बोल्न मन पराउँदैनौँ । ऊ आफ्नो नजिक नआइदिए पनि हुन्थ्यो भन्छौँ । त्यस्तै हामीले देश विदेशका इतिहास पढ्दा पनि पनि कतिपय मान्छेलाई सम्मान गर्छौँ । भित्रैदेखि श्रद्धा गर्छौ। गुणगान गाउँछौँ । त्यस्तै कतिपयलाई घृणा गछौँ । यी सब थोक किन हुन्छ । वास्तवमा मानिस सामाजिक प्राणी भएकाले यी सबैको सम्बन्ध सामाजिक वातावरणसँग हुन्छ । सामाजिक प्राणी भएका कारण ऊ समाजमा बस्दछ र समाजमा रमाउँछ । समाजलाई आफ्नो घर ठान्दछ ।
समाजमा भएका गतिविधिमा आफ्नो पनि स्वामित्व ठान्दछ । जसले समाजमा राम्रो काम गर्दछ । त्यो राम्रो ठहरिन्छ । जसले समाजमा आफ्नो दायित्व सम्झँदैन उसले समाजका अन्य व्यक्तिप्रति सकारात्मक धारणा बनाउँदैन । यस्तो अवस्था कसरी सिर्जना भयो त ? के मानिसलाई राम्रो र इमानदार हुन मा लाग्दैन त ? फेरि उसलाई बेइमान बन्न कसले अभिप्रेरित गर्‍यो ? यहाँ सोचनीय विषय यही हो र चर्चा गर्न खोजिएको विषय पनि यही हो । यसो हुनुको मुख्य कारण हाम्रो वरिपरिको वातावरणलाई मान्न सकिन्छ ।
बालक जन्मिएको घर वरिपरिको वातावरणले पछि कस्तो मान्छे बन्दछ भन्ने कुरा भर पार्दछ । मुख्यतया बालकको आनीबानी  र जीवनशैलीमा मुख्य गरेर प्रभाव पर्दछ । कस्तो छ बालकको आनीबानी यसै अनुरूप हुने गर्दछ । परिवारको अलावा बालकको आनीबानीमा प्रभाव पार्ने तत्त्वहरूमा ऊ पढ्ने विद्यालय, वरिपरिको छिमेक, भाषा, धर्म, रीतिरिवाज, संस्कृति आर्थिक अवस्था आदि हुन् । योसँग अझ महत्त्वपूर्ण देश, कानुन, राजनीति, शिक्षा, स्वास्थ्य, प्राकृतिक अवस्था आदिले पनि बालबालिकाको  रुचि र बानीमा महत्त्वपूर्ण प्रभाव पार्दछन् । तसर्थ बालबालिकामा हुने विविधताको प्रमुख कारण वरिपरिको वातावरण हो ।
अहिले हामी जुन अवस्थामा छौँ, पहिले कहिल्यै थिएनौँ । समाज पनि अहिले जस्तो अवस्थामा छ । पहिले यस्तो अवस्थामा थिएन । जङ्गली युगबाट सुरु भएको मानव इतिहास अहिले विकसित औद्योगिक युगमा छ । मानिस आजको युगमा आइपुग्न कसरी सम्भव भयो त ? पुस्तान्तरण हो । जब नयाँ बालक धर्ती आउँछ तब उसले केही न केही नयाँ काम गर्दछ । उसले गर्ने काम केवल उसका लागि मात्र नभई सम्पूर्ण समाजका लागि हुन्छ । यस्तै हजारौँ हजार वर्ष पछि समाज जङ्गली युग, कृषि युग, पशुपालनको युग हुँदै औद्योगिक युगमा रूपान्तरण भएको छ । त्यो दास युगमा रहेमा बालबालिकाहरूको रूपान्तरणको खोजीमा सकारात्मक प्रयत्न र प्रयासहरूले गर्दा अहिलेको जस्तो रूपमा आइपुगेका छन् । हामीले अहिले त्यसको मिठो उपयोग गरिरहेको छौँ ।
मानिसमा भएको चेतनाको कारण मानव जीवनमा सकारात्मक परिवर्तन हुँदै गएको हो । मानवीय चेतनाकै कारण दास प्रथाको उन्मुलन भएको छ । सती प्रथा हटेको छ । जातजाति, भाषा भाषीप्रतिको विभेद क्रमशः कम हुँदै गएको छ । देशमा राणा शासन पञ्चायती व्यवस्था, राजतन्त्र आदिको अन्त भएर गणतन्त्र आएको छ । हामी त्यही गणतन्त्र भित्रको नागरिक भएर रहेका छौँ । धर्मको आधारमा कसैले कोहीमाथि विभेद गर्ने अवस्था छैन । यी सबै कुरा एकै चोटि भएको होइनन् । यसमा समयअनुसार विभिन्न व्यक्तिहरूका अमूल्य योगदान रहेको छ । देशमा एकतन्त्रीय राणा शासनको विरुद्ध धर्मभक्त, गङ्गालाल, दशरथचन्द्र र शुक्रराज शास्त्रीको अमूल्य योगदान रहेको छ । मुख्यतः सकारात्मक सोच, क्रान्तिकारी भावना भएका मानिसहरूबाट राणशासनको अन्त सम्भव भएको थियो । उनीहरूमा भएको अदम्य साहसको कारण हामीले उनीहरूलाई महान् मान्छौँ । उनीहरूको कामको सारा नेपालीले कदर गर्छन् । हो यसरी नै कतिपयले राजनीतिक क्षेत्रमा, कतिपयले साहित्यिक क्षेत्रमा योगदान पुर्‍याएका छन् भने कतिपयले धार्मिक, सांस्कृतिक क्षेत्रमा पनि योगदान पुर्‍याएका छन् । हामी सबैले लक्ष्मीप्रसाद देवकोटालाई महाकवि लक्ष्मीप्रसाद देवकोटा भन्छौँ । उनलाई श्रद्धा गछौँ । उनले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । हामी उनलाई सदैव स्मरण गर्दछौँ । उनी पनि कुनै समय बालक थिए । गौतम बुद्ध, पृथ्वी नारायण शाह, अब्राहम् लिङ्कन, महात्मा गान्धी आदि महान् व्यक्तिहरू पनि सबै कुनै समयका बालक थिएँ । तिनले आफ्नो बाल्यकालमा भिन्दाभिन्दै किसिमको वातावरण पाएका थिएँ । हो, यस्तै हजारौँ लाखौँ बालक कस्तो बन्ला भन्ने भन्दा पनि उसलाई हामीले कस्तो बनाउने भन्नेतिर ध्यान दिनु आजको आवश्यकता हो । यसर्थ बालक हुर्केको समय र वातावरण फरक हुन्छ तर असल संस्कार र राम्रो शिक्षा दिन सक्नुपर्दछ ।
माथिका उरदाहरणहरु बाट आज हामीले के थाहा पाएका छौ भने अहिलेको जस्तो अवस्था आउनुमा लाखाै मानिसहरूको योगदान छ । यस बिचमा विद्यमान अवस्थालाई कायम राख्नका लागि धेरै प्रयत्नहरू भएका थिए । जस्तो कि नेपालमा राजतन्त्रको अन्तको लागि कैयौँ  मानिसहरूले आफ्नो ज्यानको आहुति दिएका थिए भने त्यसलाई नै कायम राख्नपर्छ भन्नेहरू पनि थिए । ती दुईको बिचमा द्वन्द्व चलेको थियो । ती दुष्टबिचको लडाइमा एउटा राजतन्त्रको अन्त चाहनेहरूले आम मानिसहरूको भलाई सोचेका थिए भने राजतन्त्र कायम राख्नु पर्छ भन्नेले केही सीमित मान्छेहरूको जित भएको थियो । हो यस किसिमको जित पनि सजिलै आएको होइन । दुई सय पचास वर्षसम्म कायम रहेको राजतन्त्र अन्तका लागि कैयौँ पुस्ताले ज्यानको आहुति पनि दिएका थिए । त्यसबाट के देखिन्छ भने विषय वा वस्तु विज्ञान समस्त छ वा यो समाजको अनिवार्य नियम हो । अधिकतम मान्छेको हितमा छ बिस्तारै त्यसको जित हुँदै जान्छ ।
त्यसो भए के माथिको उदाहरणहरूबाट समाज विकासक्रम पूर्ण भयो त ? होइन, समाज विकासक्रम पूर्ण भएको छैन । समय क्रमसँगै समाजमा परिवर्तन हुँदै जाने हुन् । हामीले मानव समाजका लागि गर्नुपर्ने धेरै कामहरू छन् । मान्छेको चाहना र आवश्यकताले समाजमा परिवर्तनको अपेक्षा राखेको हुन्छ । अहिले समाजका भएका विभेदहरूमा गरिब र धनी देशहरूबिचको विभेद, धर्म धर्मबिचको विभेद, जातजातिबिचको विभेद, महिला र पुरुषबिचको विभेद, सांस्कृतिक विभेद, राजनैतिक विभेद, वर्गीय विभेद, रङ्गभेद वर्णभेद यी बाहेक धेरै विभेदहरू मानव समाज भित्र अझै विद्यमान छन् । यी सबै विभेदहरू हटाउनका लागि अब पनि कैयौँ वर्ष लाग्नेछ । अबका मानिसहरूले जति जति सङ्गठित भएर विभेद हटाउन प्रयत्न गर्नेछन् त्यति छिटो यस खाले विभेदहरूको अन्त्य हुँदै जानेछ ।
मानव समाजमा भएको विभेदमध्ये विकसित राष्ट्रले उत्पीडित राष्ट्रमाथि गर्ने विभेद पनि मुख्य चुनौती हो । यस किसिमको विभेद अन्तका लागि कमजोर राष्ट्रहरूले एकजुट भएर शक्ति राष्ट्रका बिच सङ्घर्ष गर्नुपर्दछ । उत्पीडित राष्ट्रका जनताको एकताले उत्पीडित राष्ट्रले शक्ति राष्ट्रबाट मुक्ति पाउने छ । त्यसै गरी हाम्रा देशमा जातजातिहरू बिचको विभेद कायमै छ । अहिलेसम्म पनि हाम्रो समाजमा साना जात र ठुला जात भन्ने परम्परा चलिरहेको छ । कानुनी रूपमा नभए पनि व्यावहारिक रूपमा जातजातिबिचको विभेदले उन्मुक्ति पाएको छैन । ठुला जात भनिनेले साना जात भनिने माथि गरेको अन्यायको बारेमा हामीले मन्दिर प्रवेशको नाममा त कहिले धारामा पानी थाप्ने क्रममा देखिँदै आएको छन् ।
त्यसै गरी धर्म मान्ने छुट सबैमा हुनुपर्छ । धर्म मानेको वा नमानेको आधारमा मानिसलाई विभेद गर्न पाइँदैन । धर्मप्रति आस्था राख्नु नराख्नु उसको व्यक्तिगत स्वतन्त्रता हो यसो हुँदाहुँदै पनि बहुसङ्ख्यकले अल्पसङ्ख्यक धर्म मान्नेमाथि शासन गरेको पाइन्छ । हामीले माथि उल्लेख गरेका विभेदहरू मध्ये धनी र गरिब बिचको विभेद संसारका मानिसहरू बिचको महत्त्वपूर्ण र केन्द्रीय प्रश्न हो । यो विभेदको कारण नै विश्वका अरबौँ मानिसहरू आफ्नो सहज जीवन यापन गर्नबाट वञ्चित छन् । कोही मानिसहरू खान लाउनबाट वञ्चित छन् । शोषण व्याप्त छ । श्रमिकहरूले श्रमका उचित मूल्य पाउन सकेका छैनन् । विश्वका थोरै मानिसको हातमा धेरै सम्पत्ति धेरै र मानिसको हातमा थोरै सम्पत्ति रहेको छ । यसले गर्दा असङ्ख्य मानिसको जीवनस्तर कष्टकर रहेको छ । यो हटाउनु आजका मानिसहरूको मुख्य कर्तव्य हुन गएको छ । यस्तो किसिमको अवस्था हटाउन अहिले पनि लाखौँ करोडौँ मानिसहरू लागि परेका छन् जसमा बालबालिकाको पनि महत्त्वपूर्ण हात हुन्छ । यस्तो विभेद राष्ट्र राष्ट्रबिच, क्षेत्रगत आधारमा निश्चित क्षेत्रहरूमा बसोबास गर्नेहरूबिच देख्न सकिन्छ । यस्तो कार्यको अन्त हुनु जरुरी छ । यस्ता अमानवीय कार्यलाई रोक्नमा लागि हामीले हाम्रा बालबालिकामा समय र युगअनुसार चेतनाको बोध गराउन जरुरी
छ ।
संसारका सबै मुलुकमा दुई थरी मानिस छन् एक थरी गरिब तथा मजदुर अर्का थरी धनी तथा मालिक । धनी तथा मालिक वर्गले श्रमिक तथा गरिब वर्ग माथि शोषण गरिरहेका छन् यसमा पनि मानिसहरू दुई वटा भागमा  विभाजित भएका हुन्छन् । एक थरीले धनी तथा मालिकहरूप्रति समर्थन थरेका हुन्छन्  भने अर्को थरीले गरिब तथा श्रमिक वर्ग माथि आफ्नो अभिमत प्रकट गरिरहेका हुन्छन् यी दुई वर्ग बिचको अन्तर सङ्घर्ष विगतमा पनि चलेको थियो । अहिले पनि चलिरहेको छ । भविष्यमा पनि चलिरहनेछ । जब सम्म धनी तथा मालिक वर्गले गरिब तथा श्रमिक वर्ग माथि शोषण गरिरहनेछ त्यो बेलासम्म चलिरहनेछ । यसमा मुख्य न्याय वा मानवीय कार्य भनेको संसारका सबै मानिसहरूले समान असर पाउनु पर्छ भन्ने हो । जसले गर्दा संसारका सबै मानिसहरूको जीवनस्तर समान तथा उच्च  हुन सक्दछ ।
पुनः एक पटक स्मरण गरौँ बालबालिका मानव सभ्यताको निरन्तरता हो । बालक जन्मँदा एउटा तटस्थ भूमिका लिएर जन्मेको हुन्छ । पछि हुर्कने वा बढ्ने क्रममा नै उसको आफ्नो सम्प्रदाय अनुसार जात, भाषा, धर्म, रीतिरिवाज परम्परा राजनीति र अनुसरण गर्दै जान्छ । बालक राम्रो वा नराम्रो असल वा खराब हुन खाली उसको गुण वा दोष मात्र जिम्मेवार हुँदैन । बरु उसको नजिकको वातावरण त्यसको मुख्य कारण हुन्छ र समाज विकासको क्रम बालबालिकाको पुस्तान्तरण सँगै सुरुवात हुन्छ । बालकले आफ्नो जीवनकाल भरी केही न केही राम्रो वा नराम्रो काम गरेको हुन्छ । सबै बालबालिकाले आफ्नो जीवन अवधि पुरा गर्न पाउँदैनन् । कतिपयको बिचमै ज्यान जान्छ र तिनले आफ्ना योजनाहरू पूरा गर्न पाउँदैनन् भने कतिपयले आफ्ना पूरा जीवन अवधि जिउन पाउँछन् आफ्ना योजनाहरू पूरा गर्न सक्छन् । यस्तै जीवन अवधि जिउने क्रममा कसैले लाखौँ करोडौँ मानिसहरूको हितका लागि काम गरेका हुन्छन् भने कसैले उनीहरूको अहित हुने काम पनि गरेका हुन्छन् । तुलनात्मक रूपमा मानव समुदायको हितमा काम गर्ने मानिसहरू धेरै छन् । राम्रो काम गर्नतिर अभिमुखीकरण गर्नु राष्ट्रको प्रत्येक जिम्मेवार नागरिक अनि प्रत्येक अभिभावकको कर्तव्य हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

मन्त्रालयको भागबन्डा आपसी सहमतिमा गर्ने, अन्य दलसँग संवाद अघि बढाउने

मन्त्रालयको भागबन्डा आपसी सहमतिमा गर्ने, अन्य दलसँग संवाद अघि बढाउने

काठमाडौँ, २१ फागुन । बालुवाटारमा बसेको नयाँ गठबन्धनका चार राजनीतिक दलबिच ८ बुँदे सहमति भएको छ। सोमबार साँझदेखि बस...
पूर्व गठबन्धनको विघटन गलत  : मसाल

पूर्व गठबन्धनको विघटन गलत  : मसाल

काठमाडौँ । नेकपा (मसाल)ले प्रतिगमन विरोधी गठबन्धन विघटन हुनुलाई गलत बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षर...
हैटीको जेलबाट ४ हजार कैदी फरार, १२ को मृत्यु, सरकारले लगायो सङ्कटकाल

हैटीको जेलबाट ४ हजार कैदी फरार, १२ को मृत्यु, सरकारले लगायो सङ्कटकाल

काठमाडौँ, २१ फागुन । क्यारेबियन देश हाइटीको सरकारले देशमा ७२ घण्टाको सङ्कटकाल घोषणा गरेको छ ।  एक सातादेखि जारी ह...
प्रधानमन्त्री र माधव नेपालबिच भेटवार्ता

प्रधानमन्त्री र माधव नेपालबिच भेटवार्ता

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा ए सका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ। उनीह...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search